close

“मेयरलाई सरुवा गर्नुपर्छ” भन्दै रास्वपा सांसद गेलालले बोलेको भिडिओ भाइरल, कानुनी चेतमाथि उठ्यो प्रश्न

टेकपाना टेकपाना

असार २१, २०८३ १३:५३

“मेयरलाई सरुवा गर्नुपर्छ” भन्दै रास्वपा सांसद गेलालले बोलेको भिडिओ भाइरल, कानुनी चेतमाथि उठ्यो प्रश्न

काठमाडौं । उदयपुर क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणि गेलालले ‘मेयरलाई नै सरुवा गर्नुपर्छ’ भनेर फोनमा कुराकानी गरेको भिडिओ भाइरल भएको छ ।  उक्त भिडिओ शेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सांसदको कानुनी चेतनाको स्तरमा प्रश्न उठाइरहेका छन् ।   

सामाजिक सञ्जालमा भाइरल भिडिओ क्लिपमा सांसद गेलाल मोबाइलमा कसैसँग कुराकानी गरिरहेको देखिएका छन् । जहाँ उनले आफ्नो निर्वाचन क्षेत्रको कुनै विद्यालयको प्रतिनिधिको समस्या सुनिरहेको जस्तो बुझिन्छ । त्यसै क्रममा उनले कर्मचारी सुध्रन सकेपनि मेयर सुध्रन नसक्ने भन्दै मेयरलाई नै सरुवा गर्नुपर्ने बताएका छन् । 

“अब चैँ नि अधिकृत भनेको चाहिँ कर्मचारी हुन्, कर्मचारी सुध्रिन सक्छन् । अब मेयर नै सरुवा गर्नुपर्छ,” मेयरको सरुवाका लागि आफूले कुराकानी गरेको बताउँदै उनले थपेका छन्, “है अब मेयर सरुवा गर्नुपर्छ भन्या छु । मैले तपाईँको कुरा बुझेँ । अब म त्यहाँ आकै बेलामा यो स्कुललाई चैँ नि, तपाईँले निवेदन हाल्नु…” कुराकानीको बिचमा नै यो क्लिप टुङ्गिएको छ । 

‘नेपालको संविधान २०७२’ ले गाउँपालिका अध्यक्ष वा नगरप्रमुख पाँच वर्ष लामो कार्यकालका लागि निर्वाचित हुने व्यवस्था छ । स्थानीय तहको निर्वाचनमा भाग लिन सोही स्थानीय तहको मतदाता नामावलीमा नाम भएको हुनुपर्छ । यस्तै, स्थानीय तहको जनप्रतिनिधिको कार्यक्षेत्रका विषयमा ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ ले व्यवस्था गरेको छ । 

यसरी जनताले पाँच वर्षका लागि आफ्नो स्थानीय तहको कार्यकारी भूमिकामा निर्वाचित गरेको जनप्रतिनिधिलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्ने भन्दै कानुनी चेत नराखि कानुन निर्माण गर्ने जिम्मेवारीमा बसेका सांसदले बोलेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको हो । 

सांसद गेलालको यो भनाइलाई लिएर एक्स प्रयोगकर्ता प्रकाश रिमालले व्यङ्ग्य गर्दै लेखेका छन्, “मेयर मात्रै होइन, उपमेयर, वडाध्यक्ष, सदस्य सबैको तत्काल सरुवा गर्नुपर्छ ! लु गरिहाल त नीलो सरकार ।” 

अर्का प्रयोगकर्ता निर्मल प्रसाईंले सांसदको कानुनी चेतनामाथि प्रश्न उठाउँदै लेखेका छन्, “मेयर सरुवा गर्नुपर्छ भन्नुहुन्छ सांसदज्यू । ट्रेनिङ मात्रै होइन, जिरो क्लासदेखि पढाउनुपर्ने रहेछ, ज्ञानगुन शून्य देखियो ।”

त्यस्तै, फेसबुकमा ‘युवा वि.बि. बानेश्वर क्याम्पस शाखा कमिटी’ ले जनताको मतलाई कर्मचारीको नियुक्तिपत्रसँग तुलना गरिएको भन्दै आपत्ति जनाएको छ । उक्त पेजले लेखेको छ, “काम गर्न नसक्ने जनप्रतिनिधिको उपचार सरुवा होइन, अर्को चुनावमा जनताको फैसला हो । आज मेयर सरुवा गर्ने कुरा आयो, भोलि सांसद सरुवा गर्ने कुरा आउला, पर्सि मतदातालाई नै सरुवा गरौँ भन्ने प्रस्ताव आउन सक्छ !”

फेसबुकमा केशव बरालले राजनीतिमा तर्क सकिएपछि हास्यास्पद अभिव्यक्ति सुरु हुने टिप्पणी गरेका छन् । उनले लेखेका छन, “राजनीतिमा तर्क सकिएपछि हास्यास्पद अभिव्यक्ति सुरु हुन्छ। मेयर सरुवाको कुरा पनि  त्यसै  उदाहरणको  सुरु हुन सक्छ । घरमै बसि बसि मेयर सरुवा गर्ने नया विधेयक पास गराए जस्तो छ माननीय ज्यु ले  ,कानुनी चेतनाको स्तर  !। !”

कतिपय प्रयोगकर्ताले भने यसलाई रमाइलोको विषय बनाउँदै आफ्नो पालिकामा राम्रो काम गर्ने मेयरलाई “सरुवा” गरेर ल्याइदिन आग्रह गरेका छन् । फेसबुकमा सुजन रमणले लेखेका छन्, “हाम्रो ज्वालामुखी गाउँपालिकामा धनगढीका मेयर गोपी हमाललाई सरुवा गरेर ल्याउनु पर्यो, बरु करारमै भए पनि हुन्छ । प्रक्रिया के हो माननीयज्यूले पहल गरिदिनु पर्यो । #जान्नेलाइ_छान्ने”

यता सांसद गेलालले भने आफूलाई संविधानमा भएका प्रावधानको ज्ञान भएको र मेयरलाई सरुवा गर्ने भनेर राजनीतिक भाषा बोलेको स्पष्टीकरण दिएका छन् । उनले निर्वाचनबाट मेयरको सरुवा गर्ने तयारी गर्नुपर्छ भनेर फोनमा बोलेको भन्ने स्पष्टीकरण दिएको उल्लेख गर्दै अनलाइन न्युज पोर्टल ‘सेतोपाटी’ ले समाचार लेखेको छ । 

पछिल्लो अध्यावधिक: असार २१, २०८३ १४:४०