close

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, कुन केन्द्रमा कति रगत छ मोबाइलबाटै थाहा हुने

टेकपाना टेकपाना

असार २३, २०८३ १२:७

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, कुन केन्द्रमा कति रगत छ मोबाइलबाटै थाहा हुने

काठमाडौं । ‘नागरिक एप’ मा देशभर उपलब्ध रगतको विवरण हेर्न मिल्ने गरी ‘रक्त सूचना’ पोर्टल थपिएको छ । मङ्गलबार एपको नयाँ भर्सन २.०.११० सार्वजनिक गर्दै यो नयाँ सुविधा उपलब्ध गराइएको हो ।

नयाँ थपिएको ‘रक्त सूचना’ पोर्टल फिचरमार्फत प्रयोगकर्ताले देशभर कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् ।

हाल सीमित जिल्लाका लागि सुरु गरिएको यो सेवामा कुन रक्त सञ्चार केन्द्रमा कति रगत छ र आवश्यक परेको खण्डमा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत उपलब्ध गराइएको छ ।

रक्त सूचना पोर्टलका साथै एपमा अन्य नयाँ फिचर पनि थपिएका छन् । अब ‘मेरो शिक्षा’ फिचर अन्तर्गत नेपाली विश्वविद्यालय विद्यार्थीले शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) हरू लिङ्क गर्न सक्नेछन् । सुरुवाती समयमा  पोखरा विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय मात्र लिस्टिङ गरिएको छ ।

यसैगरी, एपमा अध्यागमन सम्बन्धी सेवा पनि समावेश गरिएको छ । यसमा प्रयोगकर्ताले आफ्नो भ्रमण विवरण, एयरलाइन्स, गन्तव्य देश, आगमन तथा प्रस्थान मिति, भिसा विवरण, विदेश बसाइको अवधि, होटलको विवरण, नेपालको ठेगाना र व्यक्तिगत सम्पर्क नम्बर इन्ट्री गराउन सक्नेछन् ।

नयाँ भर्सनमा निवृत्तभरण व्यवस्थापन कार्यालय (पेन्सन कार्यालय) को सेवा पनि थपिएको छ, जस अन्तर्गत सेवाग्राहीले आफ्नो युजरनेम वा पेन्सनपट्टा नम्बर राखेर सेवा लिन सक्नेछन् । यसबाहेक, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि कन्सुलर प्रमाणीकरण सेवा पनि एपमा जोडिएको छ । एपको सञ्चालनलाई अझ सहज र प्रभावकारी बनाउन युजर एक्सपिरियन्स (यूआई) मा सामान्य परिमार्जन र बगको समाधान गरिएको नागरिक एपले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८३ १३:२६