नियामक निकाय दूरसञ्चार प्राधिकरणकै वेबसाइटमा सुरक्षा त्रुटि, डेटा चोरी हुने खतरा
असार २३, २०८३ १४:४५
काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइट असुरक्षित देखिएको छ । प्राधिकरणको वेबसाइट खोल्दा ब्राउजरको एड्रेस बारमा ‘Not Secure’ को चेतावनी देखिन थालेपछि यसको सुरक्षा संवेदनशीलतालाई लिएर चासो व्यक्त हुन थालेको हो ।
देशको डिजिटल पूर्वाधार र साइबर सुरक्षाको मापदण्ड तोक्ने जिम्मेवारी पाएको प्रमुख निकायको आफ्नै वेबसाइटमा यस्तो समस्या देखिनुलाई सूचना प्रविधि क्षेत्रका विज्ञहरूले गम्भीरतापूर्वक लिएका छन् ।
साइबर सुरक्षा जानकारहरूका अनुसार सामान्यतया वेबसाइटमा ‘एसएसएल/टीएलएस’ (SSL/TLS - Secure Sockets Layer/Transport Layer Security) सर्टिफिकेटको म्याद नाघेमा वा यसलाई सही तरिकाले कन्फिगर नगरेमा ब्राउजरले यस्तो चेतावनी देखाउने गर्दछ ।
एसएसएल सर्टिफिकेटले प्रयोगकर्ताको ब्राउजर र वेबसाइटको सर्भरबीच आदानप्रदान हुने डेटालाई ‘इन्क्रिप्ट’ अर्थात् सुरक्षित बनाउने काम गर्छ । प्राधिकरणको वेबसाइटमा देखिएको यो प्राविधिक त्रुटिले गर्दा प्रयोगकर्ता र सर्भरबिचको सम्पर्क असुरक्षित बन्न पुगेको छ ।
यस त्रुटिका कारण प्रयोगकर्ताले उक्त वेबसाइटमा आफ्नो व्यक्तिगत विवरण वा पासवर्ड राखेमा ‘म्यान-इन-द-मिडल’ (Man-in-the-Middle) आक्रमणमार्फत ह्याकरले सो विवरण बीचैमा चोरी गर्न सक्ने जोखिम रहन्छ ।
प्राधिकरणले आफ्नो वेबसाइटमा मोबाइलको आईएमईआई दर्ता, गुनासो व्यवस्थापन प्रणाली, फोन हराएको रिपोर्ट गर्ने जस्ता सर्वसाधारणको व्यक्तिगत विवरण संकलन गर्ने र लगइन गर्नुपर्ने सुविधा समेत राखेको छ । देशभरका दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको नियमन गर्ने निकायको वेबसाइट नै असुरक्षित अवस्थामा रहँदा यसले देशको प्राविधिक स्तर र डिजिटल नेपालको सरकारी लक्ष्यमा समेत नकारात्मक सन्देश प्रवाह गरेको छ ।
यसैबिच वेबसाइटको एसएसएल सर्टिफिकेटको प्राविधिक विवरण हेर्दा यो २७ अप्रिल २०२६ मा जारी भएको र यसको म्याद १२ नोभेम्बर २०२६ सम्म रहेको देखिन्छ ।
यस विषयमा प्राधिकरणको प्रविधि अनुसन्धान तथा विकास शाखाकी उपनिर्देशक रोजा किरण बासुकलाले एसएसएल सर्टिफिकेटको म्याद बाँकी नै रहेको जानकारी दिइन् । उनले वेबसाइटमा कुनै प्राविधिक समस्या भए त्यसलाई तत्काल समाधान गरिने बताइन् ।
“एसएसएल एक्सपायर हुने बेला त भएको छैन । यदि त्यस्तो कुनै प्राविधिक समस्या रहेछ भने हेरिहाल्छौँ । वेबसाइट त खुलिनै रहेको छ, समस्या देखिँदैन । तर, त्यस्तो कुनै त्रुटि पाइएमा हामी समाधान गर्छौं,” उपनिर्देशक बासुकलाले टेकपानासँग भनिन् ।
पछिल्लो अध्यावधिक: असार २३, २०८३ १४:४६
