close

इमाडोल घटनाकी पीडित युवती भन्छिन्, ‘सामाजिक सञ्जालको शक्तिले मैले न्याय पाएँ’

टेकपाना टेकपाना

असार २३, २०८३ १६:२७

इमाडोल घटनाकी पीडित युवती भन्छिन्, ‘सामाजिक सञ्जालको शक्तिले मैले न्याय पाएँ’

काठमाडौं । ललितपुरको इमाडोलमा सडकमा आफूलाई अश्लील हर्कत गर्ने पुरुषलाई कानुनी कठघरामा उभ्याउन सामाजिक सञ्जालको शक्तिले मुख्य भूमिका खेलेको पीडित युवतीले बताएकी छिन् । आफूमाथि दुर्व्यवहार भएको भन्दै टिकटकमा भिडिओ सार्वजनिक गरेकी ऋतु खनालले न्याय प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

उनले भनेकी छिन्, “तपाईँहरूकै कारण मैले न्याय पाएँ । अहिले ती व्यक्ति पक्राउ परिसकेका छन् । सामाजिक सञ्जालको शक्तिले गर्दा नै मैले न्याय पाएको महसुस गरेकी छु ।”

आफ्नो भिडिओ धेरै महिलाहरूले कमेन्ट र मेसेज पठाउँदै आफूहरूले पनि उस्तै प्रकृतिको दुर्व्यवहार भोगेको अनुभव साटेको उनले जानकारी दिइन् ।

उनले विगतमा पनि पटक-पटक यौन दुर्व्यवहार भोगेको तर यसपटक हिम्मत गरेर प्रतिकार गरेको बताएकी छिन् ।

उनले भनिन्, “मलाई यस्तो भएको यो पहिलो पटक होइन । पहिले पनि कहिले छिमेकी त कहिले चिनेकै मान्छेबाट यस्ता घटना हुन्थे । तर, समाजले उल्टै महिलालाई नै दोष दिने डरले म बोल्न सक्दिनथेँ ।”

आइतबारको घटनामा भने आफूले हिम्मत जुटाएको र सामाजिक सञ्जालमार्फत ठुलो सहयोग मिलेको उनले बताइन् । घटना सम्झिँदै उनले भनिन्, “उसले अश्लील हर्कत गर्दा म के गर्ने के गर्ने भएँ र अत्तालिएर चिच्याएँ । ऊ मेरो नजिक आउन थालेपछि मैले उपाय नलागेर मोबाइल तेर्स्याएँ, त्यसपछि ऊ भाग्यो ।”

भाग्दै गरेका ती पुरुषलाई लखेट्दै जाँदा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर माफी माग्न लगाएको उनले बताइन् । स्थानीयकै सल्लाहअनुसार प्रहरीमा उजुरी दिने निर्णय गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेको उनले खुलाइन् । उनले अन्य पीडित महिलाहरूलाई पनि पीडा दबाएर नबस्न र आवाज उठाउन आग्रह गरेकी छिन् ।

युवतीमाथि दुर्व्यवहार गर्ने व्यक्ति रक्षा मन्त्रालयअन्तर्गतको ‘नेपाल डिफेन्स विश्वविद्यालय’ (एनडीयू) पूर्वाधार निर्माण विकास समितिमा कार्यरत शिक्षा अधिकृत सुरेन्द्र भट्ट हुन् । उनी विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार पक्राउ परेका भट्टलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने व्यवस्था छ । उक्त दफामा भनिएको छ, “कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।” यस्तो कसुर ‍गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था अपराध संहितामा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असार २३, २०८३ १७:१७