१० वर्षपछि फेरियो नेपालको आधिकारिक वेब पोर्टलको मुहार, एआई फिचर पनि समावेश
असार २३, २०८३ १९:४
काठमाडौं । नेपाल सरकारको आधिकारिक वेब पोर्टल (nepal.gov.np) को स्वरूप झन्डै १० वर्षपछि पूर्ण रूपमा परिवर्तन गरिएको छ । यसअघि सन् २०१७ को अगस्टमा यसको डिजाइन परिवर्तन गरिएको थियो ।
त्यतिबेला परिमार्जन गरिएको वेबसाइटको होमपेजमा निकै सीमित जानकारी मात्र उपलब्ध थिए । विशेष गरी उक्त वेबसाइटमा गृहपृष्ठ, सरकार, व्यवसाय र नागरिक जस्ता विकल्पहरू राखिएका थिए । ‘गृह’ सेक्सनमा नेपालको परिचय, राजनीति र स्थानीय निकायका विवरण थिए भने ‘सरकार’ सेक्सनमा संविधान, कार्यपालिका, न्यायपालिका र विभिन्न मन्त्रालयका लिङ्कहरू समावेश थिए ।
त्यस्तै, नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने रोजगारी, स्वास्थ्य, कर र शिक्षाजस्ता विषयलाई छुट्टै खण्डमा राखिएको थियो । सन् २०१८ मा नेपालको नयाँ राजनीतिक नक्सा समावेश गर्न केही प्राविधिक परिमार्जन गरिए पनि वेबसाइटको मूल संरचना र डिजाइनमा भने हालसम्म कुनै परिवर्तन गरिएको थिएन ।

जुन २०२६ मा भने यो स्वरूप पूर्ण रूपमा परिवर्तन भएको छ । यो नयाँ रूप नेपालका अन्य परम्परागत सरकारी वेबसाइटको तुलनामा निकै भिन्न र आधुनिक देखिन्छ । यद्यपि, हालका लागि यसलाई परीक्षण चरणको रूपमा मात्र सञ्चालनमा ल्याइएको छ ।
यो नयाँ पोर्टलको सबैभन्दा माथिल्लो भागमा नेपालको निसान छाप राखिएको छ र त्यसको मुनि ‘सम्पूर्ण नेपाल, एउटै पोर्टल’ भन्ने नारा लेखिएको छ । त्यसको ठीक तल यो पोर्टल हाल परीक्षणको चरणमा रहेको जानकारी दिइएको छ ।
यसपछि एउटा खोज्ने ठाउँ अर्थात् सर्च बार राखिएको छ, जसमा ‘जे पनि सोध्नुहोस्, हाम्रो बुद्धिमताले सही सेवा खोजी तपाईंलाई पुर्याउँछ’ भनी लेखिएको छ । अङ्ग्रेजी वाक्यलाई नेपालीमा अनुवाद गर्दा यो भाषा केही भ्रामक सुनिए पनि आगामी दिनमा यसलाई परिमार्जन गरी शुद्ध नेपालीमा लेखिन सक्ने देखिन्छ ।
सर्च बारको मुनि नेपाल सीसीएलएमद्वारा सञ्चालित लेखिएको छ, यद्यपि सीसीएलएमको अर्थ के हो भन्ने कुरा पोर्टलमा कतै खुलाइएको छैन ।

सर्च बारको तलपट्टि राहदानी, राष्ट्रिय परिचयपत्र, प्यान अथवा कर, जग्गाको अभिलेख, भिसा र लोक सेवा आयोग जस्ता महत्त्वपूर्ण विकल्प राखिएका छन् ।
यी विकल्पमा थिच्दा एआईले तयार पारेको संक्षिप्त विवरण र सम्बन्धित वेबसाइटको लिङ्क खुल्ने व्यवस्था गरिएको छ । त्यसको ठीक तल सबैभन्दा बढी प्रयोग हुने सेवा अन्तर्गत मेरो कित्ता, भिसा तथा अध्यागमन, सवारी तथा अनुमतिपत्र, कम्पनी दर्ता र नागरिक एप जस्ता सेवा समेटिएका छन् ।
त्यसभन्दा तल नेपालका प्रधानमन्त्रीको सन्देश नेपालीमा अनुवाद गरेर राखिएको छ, जसमा भनिएको छ, “आदरणीय नागरिक, यो पोर्टल तपाईंको हो । हाम्रो संकल्प स्पष्ट छ- पारदर्शी, छिटो र भ्रष्टाचारमुक्त सेवा प्रवाह । सरकार तपाईंको ढोकासम्म मात्र होइन, तपाईंको हत्केलासम्म पुग्नुपर्छ । एउटै खोजले सिङ्गो सिंहदरबार खोल्छ ।”
पोर्टलको तल्लो भागमा विभिन्न मन्त्रालयको सूची र कुन क्षेत्रमा कुन मन्त्रालय पर्छन् भन्ने विवरण दिइएको छ । यसबाहेक सरकारका विभिन्न क्षेत्र जस्तै शासन तथा प्रशासन, सुरक्षा तथा परराष्ट्र, अर्थ तथा वाणिज्य, सामाजिक विकास, पूर्वाधार तथा वातावरण र संवैधानिक तथा स्वतन्त्र निकायसँग सम्बन्धित लिङ्क पनि यहाँ राखिएका छन् । हाल यस पोर्टलमा खोजिएका कुराको सही नतिजा निकाल्न र विभिन्न क्षेत्रका बारेमा संक्षिप्त जानकारी प्रदान गर्नका लागि एआईको प्रयोग गरिएको देखिन्छ ।
युजर एक्सपिरियन्सको कुरा गर्नुपर्दा यो वेबसाइट परम्परागत नेपालका सरकारी वेबसाइटभन्दा पृतक र आधुनिक देखिन्छ । तर, वेबसाइट खोल्नासाथ फ्लिकर जस्तो एनिमेसन देखिन्छ । यसले गर्दा वेबसाइटलाई केही भद्दा बनाउनुका साथै आँखामा चाप पर्ने किसिमको छ । त्यस्तै होमपेजको शीर्ष स्थानमा सूर्यको इमजी राखेर अहिलेको तापक्रम देखाइएको छ । यो पनि केही भद्दा नै देखिएको छ । त्यस्तै सूचनाको बारमा टेक्स्टहरू ओभरले भएका छन् । वेबसाइटमा नेपाली भाषामा सन्दर्भमा फरक फरक फन्ट प्रयोग गरेको देखिन्छ ।
पछिल्लो अध्यावधिक: असार २३, २०८३ १९:३९
