close

२७ लाख पुराना लाइसेन्सको छपाइ सकियो, म्याद कम भएका ३ लाख छापिएनन्, अब १ दिनमै कार्ड तयार हुने

टेकपाना टेकपाना

असार ३२, २०८३ २०:१२

२७ लाख पुराना लाइसेन्सको छपाइ सकियो, म्याद कम भएका ३ लाख छापिएनन्, अब १ दिनमै कार्ड तयार हुने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि राजस्व बुझाएर वर्षौँदेखि रसिदका भरमा सवारी चलाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले विगत लामो समयदेखि छपाइ हुन बाँकी रहेका २७ लाख थान पुराना लाइसेन्स (ब्याकलग) को छपाइ कार्य सम्पन्न भएको जानकारी दिएको छ ।

केन्द्र र यातायात व्यवस्था विभागबिच भएको सम्झौता बमोजिम यो ठुलो परिमाणको छपाइ कार्य सकिएको मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको हो ।

यसअघि यातायात व्यवस्था विभाग आफैँले चिपसहितको ‘स्मार्ट लाइसेन्स’ छाप्ने गरे पनि प्रविधि र मसिनको सीमितताका कारण छपाइ प्रक्रिया निकै सुस्त थियो । जसले गर्दा सर्वसाधारणले लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने समस्या थियो ।

गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा विभागको छपाइ मसिनमा क्षति पुगेपछि सरकारले चिपको सट्टा ‘क्यूआर कोड’ राखेर लाइसेन्स छाप्ने र त्यसको जिम्मेवारी सुरक्षण मुद्रण केन्द्रलाई दिने निर्णय गरेको थियो ।

सोही अनुरूप केन्द्र र विभागबिच पहिलो चरणमा २०८२ साल कात्तिक १२ मा १२ लाख थान र दोस्रो चरणमा २०८३ साल वैशाख ४ मा थप १७ लाख गरी कुल २९ लाख लाइसेन्स असार मसान्तभित्र छाप्ने सम्झौता भएको थियो ।

सम्झौता गरिएकामध्ये नवीकरणको म्याद एक वर्षभन्दा कम बाँकी रहेका करिब तीन लाख लाइसेन्स नछाप्ने विभागको निर्णयसँगै कुल २७ लाख थान कार्डको छपाइ सम्पन्न भएको हो ।

केन्द्रले विभागबाट दैनिक रूपमा प्राप्त हुने नयाँ ट्रायल उत्तीर्ण गरेका र नवीकरण गरेका आवेदकहरूको तथ्याङ्कका आधारमा २४ घण्टाभित्रै लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गर्दै आएको छ । यससँगै अब नयाँ लाइसेन्स लिने वा नवीकरण गर्ने सेवाग्राहीले पहिले जस्तो वर्षौँ कुर्नु नपर्ने भएको छ ।

हाल सुरक्षण मुद्रण केन्द्रले दैनिक रूपमा तीनदेखि पाँच हजार थान लाइसेन्स छपाइ गरिरहेको छ । यातायात व्यवस्था विभागबाट दैनिक रूपमा प्राप्त हुने ट्रायल उत्तीर्ण गरेका र नवीकरण गरेका आवेदकहरूको तथ्याङ्कका आधारमा २४ घण्टाभित्रै लाइसेन्स छपाइ सम्पन्न गरी विभागलाई हस्तान्तरण गर्ने गरिएको केन्द्रले जानकारी दिएको छ । केन्द्रले छापेका कार्डहरू विभाग पुगेपछि विभागले ती कार्डहरूलाई सम्बन्धित यातायात कार्यालयहरूमा पठाउने प्रक्रिया सुरु गरिसकेको छ ।

लाइसेन्स छापिएको जानकारी सेवाग्राहीले ‘नागरिक एप’ मार्फत तुरुन्तै पाउने व्यवस्था मिलाइएको छ । नागरिक एपको ‘ड्राइभिङ लाइसेन्स’ फिचरमा लाइसेन्स नम्बर राखेपछि कार्ड छापिएको सन्देश देखिने भए पनि भौतिक कार्ड हात पार्न भने केही समय लाग्न सक्ने विभागले जनाएको छ ।

केन्द्रले छापेपछि एपीआईमार्फत नागरिक एपमा छपाइको सूचना तत्काल पुग्ने भए तापनि कार्ड भौतिक रूपमा विभागबाट जिल्लाका कार्यालयहरूमा पुग्न र त्यहाँका कर्मचारीले वर्गीकरण गरी वितरणको सूचना निकाल्न केही समय लाग्ने भएकाले सम्बन्धित कार्यालयको सूचनाका आधारमा मात्र कार्ड लिन जान विभागले आग्रह गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ३२, २०८३ २०:१८