पारिवारिक कलह उछाल्न झापा-सुनसरीबाट आएको युट्युबर जत्थाले लियो काभ्रेकी दलित महिलाको हुर्मत
असार ३१, २०८३ १५:५०
काठमाडौं । सञ्चार प्रविधिको विकास र इन्टरनेटको पहुँचसँगै अनलाइन मिडिया र सामाजिक सञ्जाल नागरिकलाई सुसूचित गर्ने सशक्त माध्यम बनेका छन् । तर, यसको अर्को कालो पक्ष पनि उत्तिकै डरलाग्दो छ ।
विशेषगरी फेसबुक, युट्युब र टिकटक जस्ता प्लेटफर्महरूमा 'सामाजिक सेवा' र 'पारिवारिक पुनर्मिलन' को आवरणमा ग्रामीण भेगका महिला र विपन्न नागरिकहरूलाई निशाना बनाउँदै क्यामेरा ट्रायल र चरित्रहत्याको शृङ्खला चलिरहेको छ । जसले पत्रकारिताको न्यूनतम मर्यादा र देशको कानुनलाई नै खुला चुनौती दिइरहेको छ ।
विगत करिब एक सातादेखि Itahari News, Udayapur Online लगायतका युट्युब च्यानल र Shyam Bahadur Bhujel, Kopila Magar, Saptakosi Online, Badal Limbu, Tinjure Online Tv Debindra Limbu जस्ता फेसबुक पेज तथा अकाउन्टबाट लगातार सम्प्रेषण भइरहेका भाइरल भिडिओ यसका ज्वलन्त उदाहरण हुन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर-४ चैनपुर बस्ने ६५ वर्षीय वृद्ध चन्द्रबहादुर दर्जी र उनकी ३४ वर्षीया श्रीमती जुनु परियारको पारिवारिक विवादलाई लिएर युट्युबरहरूले चलाएको भ्रामक र अनैतिक 'अन्तर्वार्ता अभियान' ले गम्भीर कानुनी र नैतिक प्रश्न खडा गरेको हो ।
जुनु परियार प्रकरण र युट्युबरको अतिचार
सम्बन्धित युट्युब च्यानलका सञ्चालकहरूले पूर्व (दमक, धरान, इटहरी) बाट झन्डै १३ घण्टाको मोटर यात्रा तय गरी काभ्रेको मण्डनदेउपुर पुगेर यस प्रकरणको भिडिओ बनाउन सुरु गरेको देखिन्छ । पहिलो चरणका भिडिओमा ६५ वर्षीय चन्द्रबहादुर दर्जीलाई मकैबारीमा दौडाउँदै, रुवाउँदै र आफ्नी श्रीमती भगाउने 'जार' लाई भेटेमा 'काटी दिने' वा 'छप्काइदिने' जस्ता हिंस्रक अभिव्यक्तिहरूलाई उत्तेजक ढङ्गले प्रस्तुत गरिएको छ ।
अन्य भिडिओमा, युट्युबरले ती महिला र उनका नयाँ साथीलाई मकवानपुरको मनहरी-३ सिद्धकालीमा फेला पार्छ । त्यहाँ खिचिएका दृश्यहरू झनै लज्जास्पद छन् । जुनु परियार आफूमाथि श्रीमान्ले विगतमा कुटपिट गर्ने गरेको, मोबाइल फुटाइदिएको र बरु मर्न तयार रहेको तर पूर्व श्रीमान्को घरमा नफर्कने भन्दै धरधरी रोइरहँदा युट्युबरहरूले क्यामेरा उनको अनुहारमै झोसेर जबरजस्ती बोल्न बाध्य पार्छन् । महिलाले आफ्नो आत्मसम्मान र बाँच्न पाउने स्वतन्त्रताको याचना गर्दागर्दै पनि युट्युबर र स्थानीय केही व्यक्तिहरू मिलेर उनलाई गाडीमा हाल्छन् र स्थानीय जनप्रतिनिधि (वडा सदस्य हिराबहादुर प्रजा) को रोहबरमा जबरजस्ती प्रहरीको जिम्मा लगाउँछन् ।
यस प्रकरणमा युट्युबरहरूले सीमा नाघेर आफैं खोजतलास गर्ने, बयान लिने, दोषी र निर्दोषको फैसला गर्ने तथा भौतिक बल प्रयोग गरी प्रहरी कहाँ पुर्याउने 'मसिहा' को रूपमा आफूलाई प्रस्तुत गरेका छन् । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती महिलामाथि सार्वजनिक रूपमा गरिएको अमानवीय व्यवहार र 'युट्युबे पत्रकार' को जबरजस्तीपूर्ण शैली प्रति आपत्ति जनाएका छन् ।
धेरैले कडा चेतावनी दिँदै लेखेका छन्-यदि यस प्रकारको सामाजिक प्रतिष्ठाको हुर्मत लिने र मानसिक दबाब दिने कार्यका कारण ती पीडित महिलाले भोलि कुनै अप्रिय निर्णय (जस्तै आत्महत्या) लिइन् भने, त्यसको सम्पूर्ण जिम्मेवारी भ्युज र डलरको खेती गर्ने युट्युबर र उनीहरूलाई उचाल्ने रमिते समाजले लिनुपर्नेछ । प्रयोगकर्ताहरूले ती महिला कुनै किनबेच गरिने वस्तु वा पशु नभएको र उनको पनि स्वतन्त्र रूपमा बाँच्न तथा चाहेमा सम्बन्ध विच्छेद गर्न पाउने नैसर्गिक अधिकार सुरक्षित रहेको कुरा उठाएका छन्।
यस्तो निजी तथा संवेदनशील पारिवारिक विषयलाई सडकमा ल्याएर क्यामेरा ट्रायल गर्ने युट्युबरहरूमाथि नेपाल प्रहरी र सम्बन्धित निकायले तत्काल हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग चौतर्फी रूपमा उठेको छ । यद्यपि, केही प्रयोगकर्ताहरूले नाबालक छोराछोरी छोडेर हिँडेको भन्दै महिलाको आलोचना गरेका छन् । तर, समाजको एउटा ठुलो हिस्सा भने युट्युब च्यानलबाट केवल पैसा कमाउने लोभमा एउटा विपन्न परिवारको गोपनीयता र प्रतिष्ठाको निर्लज्ज धज्जी उडाएको कुरामा आक्रोशित देखिएको छ ।
टेकपानासँगको सम्पर्कमा आएका मनहरी-३ का वडा सदस्य प्रजाले भने-
“टिकटकमा सम्पर्क भएर ती महिला हाम्रै गाउँको पुरुषसँग आउनु भएको रहेछ । हामीले पनि भिडिओबाटै थाहा भएको हो । मिडियाकर्मी आउँदा म पनि पुगेको थिएँ । उहाँलाई सकेसम्म आफ्नै श्रीमान्सँग जानुस् भन्ने थियो । जान नमानेपछि हामीलाई पनि अप्ठेरो नहोस् भनेर नजिकैको नेवारपानी प्रहरीमा पुर्याएका थियौं । प्रहरीले सोधपुछ गरेपछि मेरै रोहोबरमा छोडेको थियो र सबै आआफ्नो घरमा जानु भयो । हिजो (मङ्गलबार) जिल्ला प्रहरीको महिला सेलमा दाखिला गराइएको थियो । ४ गते काभ्रे प्रहरीमा गएर दुवै पक्षबिच छलफल गर्ने कुरा भएको छ । मिडियाकर्मीहरू त्यहाँबाट कता गए थाहा भएन । उहाँहरू दुई-तीन जना २ बाइकमा आउनु भएको थियो ।”
वैयक्तिक गोपनीयता र साइबर सुरक्षाको गम्भीर उल्लङ्घन
यस घटनाले डिजिटल प्लेटफर्ममार्फत वैयक्तिक गोपनीयताको कसरी हुर्मत लिइन्छ छर्लङ्ग पारेको छ । वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को को दफा ३ मा प्रत्येक व्यक्तिको निजी जीवन, यौन जीवन वा शारीरिक रोग सम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुने व्यवस्था छ । तर युट्युबरहरूले जुनु परियारको दाम्पत्य जीवन, ओछ्यानको दूरी र व्यक्तिगत सम्बन्धका अति नै गोप्य कुराहरू सोधेर सार्वजनिक गरेका छन् ।
त्यस्तै सोही ऐनको दफा १६ मा अनुमति बिना तस्वीर खिच्न र सार्वजनिक गर्न नहुने प्रावधान छ । जसअनुसार कसैलाई सताउने वा हैरान पार्ने नियतले अनुमति बिना तस्विर वा भिडिओ खिच्न वा व्यापारिक प्रयोजन (युट्युब भ्युज र विज्ञापनको कमाइ) का लागि सार्वजनिक गर्न पाइँदैन । यहाँ महिलाको लगातार रुवावासी र बेइज्जतीलाई युट्युबको थम्बनेल बनाएर डलर कमाउने माध्यम बनाइएको छ ।
यसैगरी ऐनको दफा २१ ले निगरानी वा जासुसी गर्न रोक लगाएको छ । यसअनुसार व्यक्तिको आवास वा निजी जीवनको गोपनीयता भङ्ग गर्ने उद्देश्यले निगरानी वा फोटोग्राफी गर्न निषेध गरिएको छ ।
यस प्रकरणमा जुनु परियारका १० र १५ वर्षका नाबालक छोरालाई क्यामेराको अगाडि उभ्याएर रोइरहेको अवस्थामा अन्तर्वार्ता लिइएको छ । यसले उनीहरूको मानसपटलमा गम्भीर चोट पुर्याउनुका साथै विद्यालय र समाजमा उनीहरूले ठुलो सामाजिक लाञ्छना भोग्नुपर्ने स्थिति सिर्जना गरेको छ । यो आफैमा बालबालिकाको गोपनीयता हनन् सम्बन्धी विषय हो ।
आकर्षित हुन सक्छ साइबर अपराधको मुद्दा
सामाजिक सञ्जाल र इन्टरनेटको दुरुपयोग गरी महिलालाई जिस्क्याउने, हैरान पार्ने, अपमान गर्ने वा सामाजिक सद्भावमा खलल पार्ने सामग्री प्रकाशन गर्नु विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत दण्डनीय अपराध हो । यस ऐन अनुसार यस्ता सामग्री प्रकाशन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ का विभिन्न प्रावधान समेत यहाँ उल्लङ्घन भएको देखिन्छ । दफा ११८ अनुसार सार्वजनिक स्थानमा महिला वा बालबालिकालाई हैरान पार्नु वा अभद्र व्यवहार गर्नु कानुन विपरीत हो ।
दफा ३०६ र ३०७ ले गाली बेइज्जती सम्बन्धी कसुरलाई परिभाषित गरेको छ । विद्युतीय माध्यम वा आमसञ्चारका माध्यमबाट कसैको व्यक्तिगत चरित्र र प्रतिष्ठामा धक्का पुग्ने गरी बेइज्जत गरेमा थप सजायको व्यवस्था यो दफामा छ । पीडित महिलालाई सामाजिक रूपमा 'भागेकी', 'चरित्रहीन' र 'मु* बोसो लागेकी' जस्ता अमानवीय र अपमानजनक शब्दहरू प्रयोग गरेर सार्वजनिक अपमान गरिएको छ ।
मिडिया एथिक्स र पत्रकार आचारसंहिताको धज्जी
नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिताले पत्रकारितालाई मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन स्पष्ट मार्गनिर्देशन गरेको छ । आचारसंहिताको दफा ४ र ५ ले पत्रकारले पालना गर्नुपर्ने कर्तव्य र गर्न नहुने कार्यहरू स्पष्ट तोकेको छ ।
जसअनुसार पत्रकारले सूचना सङ्कलन गर्दा सभ्य र शिष्ट शैली अपनाउनुपर्छ र पाठक वा दर्शकको मर्यादाको सम्मान गर्नुपर्छ । पीडित वा शोकमा परेका व्यक्तिहरूलाई थप पीडा पुग्ने गरी विवरण वा दृश्यहरू प्रसारण गर्नु हुँदैन ।
यसैगरी कुनै पनि व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नुपर्छ र व्यक्तिगत मामिलालाई विना कारण सार्वजनिक चासोको विषय बनाउनु हुँदैन ।
तर युट्युबरहरूले आचारसंहिताको पूर्ण रूपमा धज्जी उडाएका छन् । उनीहरूले व्यावसायिक पत्रकारिताको कुनै पनि मूल्यमान्यता अवलम्बन गरेका छैनन् ।
सर्वोच्च अदालतको ऐतिहासिक नजिरको उपेक्षा
नेपालको न्यायिक इतिहासमा गोपनीयताको हकको व्याख्या गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासले विशेष प्रकृतिका मुद्दाहरू जस्तै बलात्कार, हाडनाता करणी, गर्भपतन र महिलाविरुद्ध हुने हिंसाका घटनामा पीडितको परिचयात्मक गोपनीयता अपराध अनुसन्धानको चरणदेखि नै सुरक्षित राख्नुपर्ने निर्देशिका जारी गरेको थियो ।
उक्त फैसलामा भनिएको छ, "पीडितको सूचनाहरू गोपनीय राख्न नसकेको हुनाले नै समाजमा घटित आपराधिक घटनाहरू उजुरीको रूपमा दर्ता हुन सक्दैनन्... यसले पीडितको जोखिमयुक्त अवस्थालाई अझ बढाइदिन्छ ।"
पारिवारिक कलह वा दाम्पत्य जीवनको असमझदारी नितान्त व्यक्तिगत र देवानी प्रकृतिको मामिला हो । यदि कसैलाई डिभोर्स (सम्बन्ध विच्छेद) चाहिएको छ भने त्यसका लागि अदालत जाने कानुनी बाटो खुला छ । तर, युट्युबको क्यामेराले महिलालाई घेरेर, मानसिक यातना दिएर जबरजस्ती कबुल गराउन खोज्नु र त्यसलाई लाखौं दर्शक माझ पस्कनु फौजदारी अपराधको विषय हो ।
प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा हुने यस्ता अराजक र अमानवीय गतिविधिहरूलाई बेलैमा नियन्त्रण नगरिए यसले नेपाली समाजलाई थप कुरूप र हिंस्रक बनाउने निश्चित छ । फेसबुक, युट्युब र टिकटक जस्ता डिजिटल माध्यमहरू कानुनभन्दा माथि हुन सक्दैनन् । प्रेस काउन्सिल नेपाल, नेपाल प्रहरीको साइबर ब्युरो र स्थानीय प्रशासनले यस्ता गैरकानुनी 'सञ्चार उद्यमी' हरूमाथि तत्काल निगरानी र कडा कानुनी कारबाही अगाडि बढाउनु आवश्यक छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले यो घटना अहिलेसम्म जानकारीमा नआएको बताए । "पीडितले निवेदन दिए युट्युबरमाथि आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अगाडि बढाउँछौं," उनले भने, "तर अहिलेसम्म प्रहरी आफैँ यस्ता विषयमा सक्रिय हुने गरेको भने छैन ।"
प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले यस्ता युट्युबर तथा कन्टेन्ट क्रियटरहरूमाथि कारबाही हुने दाबी गरे । "काउन्सिलमा दर्ता भएका मिडियाहरूलाई त्यस्ता भिडिओ हटाउने, सचेत गराउने र आवश्यक कारबाही गर्ने काम हुँदै आएको छ," उनले भने, "दर्ता नभएकाहरूको हकमा नेपाल भित्र हेर्न नमिल्ने गरी रोक लगाउने र आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पठाउने कार्य गर्दै आएका छौं । यस्ता विषयहरूमा काउन्सिलमा उजुरी दिन अनुरोध पनि गर्छौं ।"
पछिल्लो अध्यावधिक: असार ३१, २०८३ १७:२
