close

कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री, तपाईंले फेला पार्नु भयो ?

टेकपाना टेकपाना

बैशाख २८, २०७७ ८:६

कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री, तपाईंले फेला पार्नु भयो ?

काठमाडौं । तीन महिनाभन्दा लामो पहिलो चरणको लकडाउन सकिएर अहिले मुलुकमा दोस्रो चरणको लकडाउनको रुपमा निषेधाज्ञा जारी छ । कोभिड १९ को संक्रमण दर चुलिँदै गएपछि पाँच महिना लामो समयदेखि बन्द रहेका विद्यालयहरु कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने कुनै टुंगो छैन ।

यस किसिमको अन्यौलताले सिंगो शैक्षिक शत्र नै पछाडि धकेलिने चिन्ता बढ्दै गएको छ । सरकारले शैक्षिक शत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाईका माध्मयबाट नै पढाई सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यसको अर्थ अब अनलाइन कक्षा तथा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गरिने कक्षालाई नै क्रेडिट आवरमा गणना गरिनेछ । त्यसो त यस अघि नै सरकारले अनलाइन मार्फत पढ्न सकिने व्यवस्था गरिसकेको छ ।

जसमा कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भइरहेको बेला अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।

सिकाई चौतारीमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको छ । त्यस अलावा तीन तहका कथासँगै अभ्यास पुस्तिका समेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।

कसरी प्रयोग गर्ने ?

यहाँ क्लिक गरेर सरकारले सञ्चालनमा ल्याएको अनलाइन सिकाई चौतारीमा प्रवेश गर्नुहोस् । अब त्यहाँ तपाईंले कथा संग्रह सहित कक्षा १ देखि १० सम्मका कक्षाहरु फेला पार्नुहुनेछ ।

अब त्यसबाट तपाईंले पढ्न चाहेको कक्षा रोज्नुहोस् । यदि तपाईं अंग्रेजीमा यो प्लेटफर्म प्रयोग गर्न चाहनुहुन्छ भने दायाँ तर्फ माथी कुनामा तल तर्फ फर्केको एरोमा क्लिक गर्नुहोस् ।

अब कक्षा छनौट गरिसकेपछि कक्षा लेखिएको पछाडिको बटनमा जानु भयो भने त्यहाँ तपाईंले उपलब्ध विषय फेला पार्न सक्नुहुन्छ । जसबाट आफूले अध्ययन गर्न चाहेको विषयसँग सम्बन्धित अध्ययन तथा सिकाई सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।

कक्षा र विषयको मूनि रहेको आकासे रंगको लाइनमा तपाईंले छनौट गरेका विषयका पाठहरु क्रमशः देखिनेछ । त्यसको दायाँ छेउमा हेर्नु भयो भने त्यहाँ सम्बन्धित विषयको पुस्तक समेत फेला पार्न सक्नुहुन्छ ।

नेपाली र अंग्रेजी दुवै भाषामा निर्देशनहरु दिइएको तथा अन्तरक्रियात्मक अनलाइन प्रणाली भएकाले विद्यार्थीहरुले सहजै यसको प्रयोग गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१