नयाँ ऐन आउँदै: अफलाइन राइड शेयरिङ गरे २ हजार र ड्राइभिङका क्रममा मोबाइल चलाए १० हजार जरिबाना !
असार १२, २०८३ १०:३०
काठमाडौं । सरकारले अफलाइन राइड शेयरिङ गर्ने र ड्राइभिङका क्रममा मोबाइल चलाएर दुर्घटनाको जोखिम बढाउनेहरूलाई कडा जरिबानाको प्रस्ताव गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को मस्यौदामा सडक सुरक्षा र यातायात क्षेत्रलाई व्यवस्थित बनाउन जरिबानासम्बन्धी निकै कडा र नयाँ व्यवस्थाहरू प्रस्ताव गरिएको हो ।
अहिले उक्त विधेयकको मस्यौदा राय सुझावका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । मस्यौदामा व्यवस्था गरिए अनुसार अब प्रविधिको दुरुपयोग गर्ने र सडक नियम मिच्ने चालकहरूले ठुलो रकम जरिबाना तिर्नुपर्नेछ ।
अफलाइन राइड शेयरिङ गरे २ हजार जरिबाना
पछिल्लो समय इनड्राइभ, पठाओ जस्ता राइड शेयरिङ एपमा आवद्ध चालकहरूले कम्पनीको प्रणाली बाहिर गइ अफलाइन यात्रु बोक्ने गरेको गुनासो बढिरहेको छ । सरकारले यसलाई गैरकानुनी घोषणा गर्दै कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ । प्रस्तावित विधेयक अनुसार दुई पाङ्ग्रे सवारीसाधनले राइड शेयरिङ प्लेटफर्मको प्रणाली बाहिर गइ (अफलाइन) यात्रु ओसारपसार गरेमा २ हजार रुपैयाँ जरिबाना गरिनेछ । यसले यात्रुको सुरक्षा सुनिश्चित गर्न र करको दायरामा ल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
ड्राइभिङका क्रममा मोबाइल चलाए १० हजार जरिबाना
नेपालमा मोबाइल फोनको प्रयोगमा हेलचेक्र्याइँले पनि सडक दुर्घटना निम्त्याउने गरेको छ । प्रस्तावित विधेयकमा ड्राइभिङका क्रममा मोबाइल फोनको प्रयोगलाई निरुत्साहित गर्न सरकारले अत्यधिक कडा जरिबाना प्रस्ताव गरेको छ । नयाँ मस्यौदा अनुसार सवारीसाधन चलाइरहेको अवस्थामा मोबाइल फोन वा त्यस्तै अन्य सञ्चार साधन प्रयोग गरेमा चालकलाई १० हजार रुपैयाँ जरिबाना हुनेछ ।
सरकारले प्रस्तावित विधेयकमा विभिन्न ३९ वटा कसुरमा तत्काल कारबाही गर्न सकिने व्यवस्था गरेको छ । जसमा मादक/नसालु पदार्थ सेवन (मापासे) गरेर र निर्धारित गति सीमा भन्दा बढीमा सवारी चलाएमा झनै बढी जरिबानाको व्यवस्था गरिएको छ । यद्यपि, विधेयकको मस्यौदा अहिले कानुन मन्त्रालयमा छलफलको क्रममा छ । त्यसपछि प्रधानमन्त्री कार्यालयमा पनि छलफल भएपछि संसदमा झनै विस्तृत रूपमा छलफल हुन्छ । संसदबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८३ १२:९

