close

समाचारलाई पत्याउनेको सङ्ख्या घटेर हालसम्मकै न्यून, युवाहरू च्याटबटतर्फ आकर्षित

टेकपाना टेकपाना

असार १४, २०८३ २०:५८

समाचारलाई पत्याउनेको सङ्ख्या घटेर हालसम्मकै न्यून, युवाहरू च्याटबटतर्फ आकर्षित

काठमाडौं । विश्वभर समाचारप्रतिको जनविश्वास इतिहासकै सबैभन्दा न्यून स्तरमा झरेको छ । सन् २०१५ देखि वार्षिक रूपमा प्रकाशित हुँदै आएको ‘रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट २०२६’ का अनुसार यस वर्ष समाचारप्रतिको विश्वास घटेर हालसम्मकै सबैभन्दा न्यून स्तरमा पुगेको हो । 

रोयटर्सले हालै सार्वजनिक गरेको उक्त अनुसन्धानले विश्वभर समाचारप्रतिको जनविश्वास स्तर ३७ प्रतिशतमा सीमित भएको देखाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३ प्रतिशत विन्दुले कम हो । रोयटर्सले विश्वका ४८ वटा देशहरूमा अनुसन्धान गरेर उक्त निष्कर्ष निकालेको हो । विश्वभर समाचारप्रतिको विश्वासमा आएको यो गिरावटले आंशिक रूपमा समाचार उद्योगभन्दा बाहिरको व्यापक नैराश्यतालाई समेत झल्काउँछ । 

विभिन्न संघसंस्था र राजनीतिक नेतृत्वप्रतिको जनविश्वास चौतर्फी रूपमा खस्कँदै गएको छ । पत्रकारिता आफैँ पनि प्रायः उच्च ओहोदाका राजनीतिज्ञहरूको प्रत्यक्ष प्रहारको निसानामा पर्ने गरेको छ । यसकाे असर समाचारको विश्वसनीयतामा पनि परेकाे छ । समाचार उपभोगको शैलीमा आएको परिवर्तनले पनि विश्वासको संकट निम्त्याएको देखिएको छ । साथै, आगामी दिनमा समाचारप्रतिको विश्वास थप घट्न सक्ने अनुसन्धानले उजागर गरेको छ । 

तर समग्र समाचारप्रतिको विश्वासको तुलनामा सबैभन्दा बढी प्रयोगमा आउने व्यक्तिगत समाचार ब्रान्डहरू (सञ्चार माध्यमहरू) प्रतिको जनविश्वास भने बलियो अवस्थामा टिकिरहेको अनुसन्धानले देखाएको छ ।

समाचारप्रतिको रुचि घट्दो

सन् २०२१ यता अध्ययनमा समेटिएका विभिन्न बजारमा समाचारप्रति 'अत्यधिक' वा 'धेरै' चासो रहेको बताउने मानिसहरूको अनुपात औसतमा १३ प्रतिशत विन्दुले घटेको छ ।

हालको सर्वेक्षणमा सहभागीमध्ये २५ प्रतिशत उत्तरदाता अनौपचारिक (क्याजुअल) वा निष्क्रिय (प्यासिभ) समाचार उपभोक्ता बनेका छन् । उनीहरूले सामान्यतया सातामा एकपटक मात्र समाचार हेर्ने वा पढ्ने गर्छन् र समाचारप्रति आफ्नो चासो निकै कम वा नभएको बताएका छन् । यस्तो समूह सन् २०२१ मा १६ प्रतिशत मात्रै थियो ।

यद्यपि, अधिकांश देशमा समाचारप्रति अत्यधिक रुचि राख्ने 'समाचारप्रेमी' (News Lovers) को संख्या घटे पनि उनीहरूको समाचार उपभोग गर्ने बानी, समाचारसँगको संलग्नता तथा समाचारका लागि शुल्क तिर्ने प्रवृत्तिमा खासै कमी आएको छैन । अर्थात्, यो समूह आकारमा सानो बन्दै गए पनि समाचार संस्थाका लागि अझै स्थायी र भरपर्दो लक्षित पाठकवर्गका रूपमा रहेको रिपोर्टले देखाएको छ।

युवाहरूका लागि समाचार प्राप्तिको नयाँ माध्यम बन्दै एआई च्याटबट

समाचार प्राप्त गर्न एआई च्याटबट प्रयोग गर्नेहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । यद्यपि अन्य प्रयोजनका लागि एआईको प्रयोग बढेको गतिभन्दा यो वृद्धि केही सुस्त हो । प्रतिवेदनअनुसार अहिले १० प्रतिशत मानिसले समाचारका लागि एआई च्याटबट प्रयोग गर्ने गरेका छन्, जबकि गत वर्ष यो संख्या ७ प्रतिशत थियो ।

समाचारका लागि एआई च्याटबटको प्रयोग विशेषगरी समाचारमा बढी रुचि राख्ने र युवा पुस्तामाझ केन्द्रित देखिएको छ । ३५ वर्षभन्दा कम उमेरका १६ प्रतिशत उत्तरदाताले समाचार प्राप्त गर्न एआई च्याटबट प्रयोग गर्ने गरेको बताएका छन् । च्याटबट प्रयोग गर्ने प्रयोगकर्ताले यसबाट प्राप्त हुने थप जानकारी र व्याख्यालाई विशेष रूपमा रुचाएको देखिएको छ । प्रतिवेदनअनुसार ४२ प्रतिशत उत्तरदाताले एआई च्याटबटको सबैभन्दा उपयोगी विशेषताका रूपमा समाचारबारे थप जिज्ञासा राख्दै फलो अप प्रश्न सोध्न सक्ने सुविधालाई उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल र भिडियो नेटवर्कहरूले समाचार वेबसाइट र एपहरूलाई पछि पारे

रोयटर्सको प्रतिवेदनले समाचार उपभोगको शैलीमा पनि ठुलो परिवर्तन देखाएको छ । पहिलो पटक सामाजिक सञ्जाल र भिडियो प्लेटफर्महरू समाचार प्राप्त गर्ने माध्यमका रूपमा टेलिभिजन तथा समाचार संस्थाका वेबसाइट र एपभन्दा बढी लोकप्रिय बनेका छन् । विशेषगरी युवा पुस्ता समाचारका लागि टिकटक, युट्युब, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा बढ्दो रूपमा भर पर्न थालेको छ । रोयटर्सको अनुसन्धानमा करिब ५४ प्रतिशत उत्तरदाताले सामाजिक सञ्जाल र भिडियो प्लेटफर्मबाट समाचार प्राप्त गर्ने गरेको पाइएको छ ।

अनलाइन भिडियोको लोकप्रियता निरन्तर बढ्दो

पहिलोपटक, डिजिटल न्युज रिपोर्टमा समेटिएका सबै ४८ बजारमा अधिकांश मानिसले अनलाइन समाचार भिडियो हेर्न थालेका छन् । विश्वभर ७७ प्रतिशत मानिसले हरेक साता अनलाइन समाचार भिडियो उपभोग गर्ने गरेको पाइएकाे छ ।

त्यस्तै, ४५ वटा बजारमा टेलिभिजनमा प्रसारण हुने समाचारभन्दा अनलाइन समाचार भिडियो हेर्ने मानिसको संख्या बढी रहेको देखिएको छ । अनलाइन समाचार भिडियोको बढ्दो उपभोग मुख्यतः थर्ड-पार्टी (अन्य डिजिटल) प्लेटफर्महरूमा केन्द्रित छ । यसको विपरीत, मुलधारका समाचार संस्थाहरूले आफ्नै वेबसाइट र एपमा हुने भिडियो उपभोगमा औसत ५ प्रतिशत विन्दुले गिरावट आएको बताएका छन् ।

यता, टेलिभिजन समाचारको लोकप्रियता निरन्तर घट्दै गए पनि टेलिभिजनमै समाचार हेर्ने तरिका भने बदलिएको छ। सर्वेक्षणमा सहभागीमध्ये २७ प्रतिशतले अहिले स्मार्ट टिभीमा युट्युब जस्ता एपमार्फत मागअनुसार (अन-डिमान्ड) समाचार हेर्ने गरेको बताएका छन् ।

टिकटक र इन्स्टाग्राम समाचारका लागि प्रयोग हुने सबैभन्दा तीव्र गतिमा बढिरहेका भिडियो-केन्द्रित सामाजिक सञ्जाल बनेका छन् । विश्वभर २० प्रतिशत मानिसले टिकटकबाट समाचार लिने गरेका छन् भने इन्स्टाग्रामको प्रयोग २६ प्रतिशत पुगेको छ । यद्यपि टिकटकको वृद्धि दर उच्च भए पनि यसको आधार (यूजर बेस) अझै सानो छ, जबकि इन्स्टाग्रामको समाचार क्षेत्रमा उपस्थिति तुलनात्मक रूपमा बलियो छ ।

यता, विश्वभर ३४ प्रतिशत मानिसले समाचारका लागि युट्युबको प्रयोग गर्ने गरेका छन् । यद्यपि, समग्र समाचार उपभोगका हिसाबले फेसबुक अझै पनि सबैभन्दा ठुलो प्लेटफर्म बनेको छ । यस वर्ष ४३ प्रतिशत मानिसले फेसबुकबाट समाचार लिएको रिपोर्टले देखाएको छ ।

भिडियोको तीव्र वृद्धिको नेतृत्व गर्दै कन्टेन्ट क्रियटरहरू

विश्वभरका करिब २७ प्रतिशत उत्तरदाताले समाचारमा केन्द्रित व्यक्तिगत कन्टेन्ट क्रियटर वा इन्फ्लुएन्सरबाट केही न केही समाचार प्राप्त गर्ने गरेको देखिएको छ । त्यस्तै, ४६ प्रतिशत उत्तरदाताले जुनसुकै विधाका कन्टेन्ट क्रियटरबाट समाचार लिने गरेको बताएका छन् ।

उत्तरदाताहरूका अनुसार, परम्परागत समाचार संस्थाको तुलनामा कन्टेन्ट क्रियटरहरूले प्रस्तुत गर्ने समाचार थप मनोरञ्जनात्मक, बुझ्न सजिलो र आफूजस्तै लाग्ने (रिलेटेबल) हुन्छ । यद्यपि, विश्वसनीयता र निष्पक्षताका हिसाबले भने अधिकांशले कन्टेन्ट क्रियटरलाई परम्परागत समाचार संस्थाभन्दा कमजोर ठानेका छन् । 

बरु, उनीहरूलाई प्रामाणिक (अथेन्टिक) र आफ्नोपन महसुस गराउने (रिलेटेबल) गुणका आधारमा बढी मूल्याङ्कन गरिएको अध्ययनले देखाएको छ । समाचारका लागि कन्टेन्ट क्रियटरलाई पछ्याउने अधिकांश मानिसले परम्परागत सञ्चारमाध्यमलाई छोडेका भने छैनन् । बरु, उनीहरूले परम्परागत सञ्चारमाध्यमसँगै कन्टेन्ट क्रियटरबाट पनि समाचार लिने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असार १४, २०८३ २२:४