close

सम्पदाहरुको भर्चुअल यात्रा, सहभागी हुने यस्तो छ तरिका

टेकपाना टेकपाना

जेठ १२, २०७७ १६:४२

सम्पदाहरुको भर्चुअल यात्रा, सहभागी हुने यस्तो छ तरिका

काठमाडौं । आउँदो शुक्रबार सगरमाथको शिखरमा एकै पटक धेरै नेपाली पुग्नेछन् । त्यो पनि भर्चुअल रुपमा ।

सुन्दा अचम्म लाग्छ । सगरमाथाको यात्रा, त्यो पनि भर्चुअल । अनी यात्राका सारथी सबैभन्दा बढी सगरमाथा चढेर विश्व रेकर्ड राख्न सफल कामि रीता शेर्पा ।

मे २९ अर्थात सगरमाथा दिवसको दिन उनले तपाईंलाई तपाईंको मोबाइल तथा ल्यापटपमार्फत नै सगरमाथा भ्रमण गराउने छन् । साथै तपाईंले शेर्पा संस्कृति र उनको जन्मथलो थाँमे गाउँको बारेमा पनि जानकारी हाँसिल गर्न सक्नुहुनेछ ।

याे सबै उनले कपनबाटै गर्नेछन् । याे उनका लागि पनि नयाँ अनुभव हाे यो । ‘मैले ईमेल प्रयाेग गर्थें । भाइरबर, ह्वाटसएप, स्काइपमा विदेशिसँग कुरा गर्थें । तर, यस्तो खालकाे परिवेश मेरालागि नयाँ हाे,’ शेर्पा भन्छन्, ‘२४ पटक सगरमाथाकाे शिखरमा पाइला टेकेकाे म २५ अैां पटकमा भर्चुअल रुपमा पुग्दैछु । अर्को वर्ष सगरमाथाकाे आरोहण हुँदैन । यस्तोमा विदेशीलाई सगरमाथा यात्राबारे जानकारी गराउन यो कार्यक्रम राखिएको हो ।’

यसको प्रबन्ध ‘स्टोरी साइकल’ ले मिलाएको हो । सगरमाथाको भर्चुअल यात्रा स्टोरिसाइकलको चौथो सिरिज हो । ‘हामीले यसअघि लुम्बिनी, बारपाक र बागमतीको भर्चुअल भ्रमण गराइसकेका छौं,’ स्टोरिसाइकलका सहसञ्चालक सौरभ ढकाल भन्छन्, ‘हामीले लकडाउन सुरु भएसँगै ‘भर्चुअल सम्पदा यात्रा’ गरेका हौं ।’

यसअघि उनीहरुहको टोली ‘सम्पदा यात्रा’ गरिरहेको थियो । लकडाउनसँगै सम्पदा यात्राको अगाडि ‘भर्चुअल’ थपिएको हो । सौरभ भन्छन्, ‘लकडाउनका कारण घरमै बसिरहँदा मानसिक स्वास्थ्यमा विभिन्न समस्या देखा परिरहेको हुन्छन् । त्यसैलाई मध्यनजर गरेर हामीले यो यात्राको सुरुवात गरेका हौं ।’

जसमा भिडियो, अडियो, फोटा लगायतका मल्टिमिडिया सामग्री प्रयोग गरेर सम्पदाबारे विस्तृत जानकारी दिइन्छ । यसअघिका हरेक यात्राहरुमा सय जनाभन्दा बढीले सहभागीता जनाएको सौरभले बताए ।

उनले भने, ‘यसले अहिलेको अवस्थामा पनि नेपालको पर्यटकीय क्षेत्रको महत्वलाई उजागर गरोस् भन्ने हो । हराएका कथाहरुलाई मल्टिमिडियामार्फत धेरै संख्याका दर्शकमाझ पुर्‍याउने हाम्रो उद्देश्य हो । हामी चाहन्छौं नेपालको पर्यटकिय क्षेत्र सधैं चलायमान रहोस् । र यस्ता जानकारी इन्टरनेटमा दस्तावेजको रुपमा बसिरहुन् ।’

यसअघिका भर्चुअल यात्रामा भिडियो कन्फ्रन्सिङ एप जूमको प्रयोग गरिएको थियो । तर यसपटक गूगल मिटको प्रयोग हुनेछ । जूम र गूगल मीट भन्ने बित्तिकै लकडाउनसँगै सुरु भएका वेबनार जस्तो भने होइन ।

ढकाल भन्छन्, ‘हामी त्यसमार्फत यात्रामा सहभागी हुन्छौं । विभिन्न मल्टिमिडिया मार्फत हाम्रा सम्पदाहरुको बारेमा जानकारी गराइन्छ । त्यसका लागि स्थानीय जानकारको सहयोग लिइन्छ ।’

मल्टिमिडियाका लागि स्टोरिसाइकलले गर्दै आएको ‘स्टोरी क्याप’ बाट संकलित जानकारीहरु प्रयोग भइरहेको ढकालले बताए । उनका अनुसार हालसम्म नेपालका ३५ स्थानमा ‘टोरी क्याम्प’ आयोजना भइसकेको छ । जसमा स्टोरिसाइलका सदस्यहरु विभिन्न ठाउँमा गएर त्यहाँका कथा संकलन गर्छन् ।

यसै क्रममा सन् २०१४ मा गूगलसँगको सहकार्यमा उनीहरुले सगरमाथा क्षेत्र, लुक्ला र अन्य पाँच ठाउँमा स्टोरी क्याम्प गरेका थिए । सोही कार्यक्रमबाट संकलित फोटो तथा भिडियोमार्फत सगरमाथाको भ्रमण गराइने छ ।

यसअघिका सम्पदा भ्रमणमा पनि यस्तै सामग्रीको प्रयोग भएको थियो । आगामी जुन १९ मा मुस्ताङ र जुलाई १० मा साइपालमा समेत यस्तै भर्चुअल भ्रमण हुनेछ ।

यात्रामा सहभागी हुने तरिका

ढकालका अनुसार जूम तथा गूगलमिटको प्रयोगमार्फत हुने यो यात्रामा धेरैमा दुई सय जना सहभागी हुन सक्छन् । त्यसका लागि स्टोरिसाइकलको वेबसाइटमा अथवा यहाँ क्लिक गरी दर्ता गर्नुपर्ने हुन्छ ।

त्यसका आधारमा स्टोरिसाइकलले तपाईंलाई ईमेलमार्फत यात्रामा सहभागी हुनका लागि अनुरोध पठाउँछ । उक्त ईमेलमा आएको रिक्वेस्टमार्फत तपाईंले यात्रामा सहभागी भएर नेपालका विभिन्न सम्पदाहरुको यात्रा गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३