close

इन्टरनेट बजारः वर्ल्डलिंकको वर्चस्व कायमै, भायनेट र क्लासिक टेक आक्रामक, सुबिसुलाई धक्का

टेकपाना टेकपाना

जेठ ३१, २०८३ ९:३४

इन्टरनेट बजारः वर्ल्डलिंकको वर्चस्व कायमै, भायनेट र क्लासिक टेक आक्रामक, सुबिसुलाई धक्का

काठमाडौं । नेपालको इन्टरनेट बजारमा सेवा प्रदायकहरूबिचको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो एमआईएस प्रतिवेदनहरूले बजारमा महत्त्वपूर्ण परिवर्तन र तीव्र वृद्धि देखाएको हो ।

पछिल्लो एक वर्षको तथ्याङ्कलाई तुलना गर्दा समग्र बजार विस्तार भएको छ भने केही सेवा प्रदायकहरूले उल्लेख्य रूपमा आफ्नो बजार हिस्सा बढाउन सफल देखिएका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा फिक्स्ड ब्रोडब्यान्ड (एफटीटीएच, एडीएसएल, केबल तथा वायरलेस इन्टरनेट) प्रयोगकर्ताको सङ्ख्यामा साढे ३ लाख भन्दा बढीले वृद्धि भएको छ ।

वैशाख २०८२ मा कूल फिक्स्ड ब्रोडब्यान्ड ग्राहक सङ्ख्या ३१ लाख ३२ हजार ३ सय ५० रहेकोमा २०८३ वैशाखसम्म आइपुग्दा यो सङ्ख्या बढेर ३४ लाख ८७ हजार ९ सय ७२ पुगेको छ । यसरी हेर्दा जनसङ्ख्यामा फिक्स्ड ब्रोडब्यान्डको पहुँच ४६.४९ प्रतिशतबाट बढेर ५१.७९ प्रतिशत पुगेको छ ।

नेपालको दूरसञ्चार बजारमा फिक्स्ड ब्रोडब्यान्ड (विशेषगरी फाइबर इन्टरनेट) को माग दिनानुदिन बढ्दो छ । शीर्ष स्थानमा रहेका कम्पनीहरूको आधार बलियो भए तापनि भायानेट र क्लासिक टेक जस्ता मध्य-स्तरका कम्पनीहरूको आक्रामक बजार विस्तारले आउँदा दिनहरूमा इन्टरनेट सेवा प्रदायकहरू बीचको प्रतिस्पर्धा अझै कडा र रोचक हुने देखाउँछ ।

वर्ल्डलिंक, नेपाल टेलिकम र डिशहोम शीर्ष तीनमा कायमै

बजारको लिडर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड अझै पनि स्पष्ट रूपमा शीर्ष स्थानमा निकै अगाडि छ । २०८२ मा १० लाख ३ हजार ९ सय ४९ ग्राहक भएको यो कम्पनीको ग्राहक सङ्ख्या २०८३ मा आइपुग्दा १० लाख ७८ हजार ७ सय ९ पुगेको छ । यद्यपि, बजारमा अन्य कम्पनीहरूको आक्रामक वृद्धिका कारण वर्ल्डलिंकको समग्र बजार हिस्सा भने ३२.०५ प्रतिशतबाट घटेर ३०.९३ प्रतिशतमा झरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको ग्राहक सङ्ख्या ३ लाख ५१ हजार ९१२ बाट बढेर ३ लाख ८३ हजार १०१ पुगेको छ भने यसको बजार हिस्सा ११.२३ प्रतिशतबाट १०.९८ प्रतिशतमा खुम्चिएको छ । त्यसैगरी, तेस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले आफ्नो ग्राहक सङ्ख्या ३ लाख ५० हजार ४०६ बाट बढाएर ३ लाख ६९ हजार २१८ पुर्‍याएको छ ।

भायानेट र क्लासिक टेकको छलाङ

पछिल्लो एक वर्षको अवधिमा सबैभन्दा प्रभावशाली वृद्धि भायानेट कम्युनिकेसन लिमिटेड र क्लासिक टेक प्रालिले गरेका छन् । २०८२ सालमा ७.८५ प्रतिशत बजार हिस्सासहित पाँचौँ स्थानमा रहेको भायानेटले २०८३ मा सुबिसुलाई उछिन्दै चौथो स्थान ओगट्न सफल भएको छ ।

एक वर्षमै भायानेटको ग्राहक सङ्ख्या २ लाख ४५ हजार ९ सय ४५ बाट बढेर ३ लाख ६३ हजार ३७ पुगेको छ । यसको बजार हिस्सा उल्लेख्य रूपमा बढेर १०.४१ प्रतिशत पुगेको छ ।

त्यसैगरी, क्लासिक टेक छैटौँ स्थानबाट पाँचौं स्थानमा उक्लिएको छ । यसको ग्राहक सङ्ख्या १ लाख ८२ हजार ९ सय ८६ बाट तीव्र वृद्धि भई २ लाख ८६ हजार ९ सय ५३ पुगेको छ । जसले आफ्नो बजार हिस्सा ५.८४ प्रतिशतबाट ८.२३ प्रतिशतमा पुर्‍याएको छ ।

सुबिसुलाई धक्का

इन्टरनेट बजार समग्रमा विस्तार भइरहँदा सुबिसु केबलनेट लिमिटेडले भने ठुलो धक्का ब्यहोरेको छ । अधिकांश ठुला कम्पनीहरूको ग्राहक बढ्दा सुबिसुको ग्राहक सङ्ख्या भने घटेको छ ।

वैशाख २०८२ मा ३ लाख १० हजार २ सय ९४ ग्राहकसहित चौथो स्थानमा रहेको सुबिसु वैशाख २०८३ सम्म आइपुग्दा २ लाख ६४ हजार ८ सय ४९ ग्राहकमा झरेको छ । यससँगै सुबिसुको र्‍याङ्किङ चौथोबाट छैटौं स्थानमा खस्किएको छ भने बजार हिस्सा ९.९१ प्रतिशतबाट भारी गिरावट भई ७.५९ प्रतिशतमा खुम्चिएको छ ।

यो एक वर्षको अवधिमा सुबिसु केबलनेट लिमिटेडले ४५ हजार ४४५ ग्राहक गुमाएको छ । यसका अतिरिक्त, साना कम्पनीहरूमा वाईफाई नेपाल प्रालिले पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ७४ हजार ग्राहकसहित दशौं स्थानमा रहेको वईफाई नेपाल यस वर्ष १ लाख ११ हजार भन्दा बढी ग्राहक बनाएर नवौं स्थानमा उक्लिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ १९:२१