close

अनलाइन गेम धेरै खेल्नुहुन्छ ? थाहा पाइरख्नुहोस्, यतिसम्म हुनसक्छ त्यसको जोखिम

टेकपाना टेकपाना

फागुन २२, २०७८ १४:३४

अनलाइन गेम धेरै खेल्नुहुन्छ ? थाहा पाइरख्नुहोस्, यतिसम्म हुनसक्छ त्यसको जोखिम

काठमाडौं । इन्टरनेट सहज र सर्वसुलभ रुपमा उपलब्ध भएसँगै नेपालमा अनलाइन तथा भिडिओ गेमको क्रेज ह्वात्तै बढेको छ ।विशेषगरी युवा तथा बालबालिकाहरू अनलाइन तथा भिडिओ गेममा धेरै समय बिताइरहेका हुन्छन् । थोरै समय गेम खेल्ने हो भने त्यसका फाइदा थुप्रै फाइदा पनि छन् ।

यस्ता गेमले एकाग्रता बढाउनुका साथै आँखाको हेर्ने क्षमता पनि बढाउँछ । कुनै पनि कुरा उचित समयसम्म गरियो भने राम्रो हुन्छ । तर अति भयो भने उल्टै हानी पुर्‍याउँछ ।

गेमको हकमा पनि यही नियम लागू हुन्छ । मोबाइल वा कम्प्युटरमा अफलाइन तथा अनलाइन गेम धेरै खेल्दा यसले मस्तिष्क, स्मरणशक्ति र दृष्टिमा नकारात्मक असर पार्न सक्छ ।

यदि कोही गेम नखेली बस्न सक्दैन वा उसको दिमागमा गेम मात्रै घुमिरहन्छ भने त्यस्तो व्यक्तिलाई गेमको लत लागेको मानिन्छ । आज हामी यहाँ अनलाइन तथा भिडिओ गेमका यस्तै केही बेफाइदा वा नकारात्मक पक्षहरूको विषयमा बताउँदै छौँ । 

१. मानसिक तनावबाट ग्रसितः

अहिले सार्वजनिक भएका केही अनलाइन तथा भिडिओ गेम हिंसात्मक प्रकृतिका पनि छन् । जसले गर्दा गेम खेल्नेहरू गेममा आफू मर्दा अथवा हार्दा रिसाउने, कराउने आदि जस्ता व्यवहार देखाउँछन् ।

जसको कारण परिवारमा झगडा हुने ,अरुको कुरा नसुन्ने, एकोहोरो हुने जस्ता समस्या आउने गर्दछन् । जसले मानसिक तनाव समेत निम्त्याउने गर्दछ ।

२. एकाग्रतामा कमी:

अनलाइन तथा भिडिओ गेम धेरै खेल्नेहरूमा एकाग्रताको कमी देखिन्छ । उदाहरणका लागि अनलाइन तथा भिडिओ गेम खेल्न धेरै समय बिताउने बच्चाहरू किताब पढ्नमा कम रुचि राख्न सक्छन् ।

३. आँखा कम देख्नेः

कम्प्युटर तथा मोबाइलबाट ब्लु लाइट निस्किन्छ । जुन हाम्रो आँखाको लागि हानिकारक हुन्छ । कम्प्युटर तथा मोबाइलको अगाडि घण्टौँ  बिताउँदा आँखा राम्रोसँग नदेख्ने समस्या निम्तिन सक्छ ।

४. छोटो अवधिको स्मरण शक्तिमा कमीः

एउटा अध्ययनले गेम खेल्नेहरूमा छोटो अवधिको स्मरण शक्तिमा (Short Term Memory) ह्रास आउने अथवा भर्खरै सुनेको, देखेको वा गरेको कुरा बिर्सिने समस्या आउने गरेको देखाएको छ ।

५. अस्तव्यस्त जीवनशैलीः

कम्प्युटर तथा मोबाइल अगाडि बसेर घन्टौँ समय बिताउँदा बच्चा तथा युवाहरूमा तौल बढ्ने समस्या देखिन सक्छ । साथै व्यायामको कमीले गर्दा सानो उमेरमै मधुमेह जस्ता समस्या पनि देखिन सक्छन् ।

६. समाजमा घुलमिल हुने कुरामा समस्याः

भिडिओ तथा अनलाइन गेमहरूमा कम्प्युटराइज वातावरण हुने भएकाले गेम खेल्नेहरूले त्यसैमार्फत साथी बनाउँछन् । तर उनीहरू रहेको समाजमा वास्तविक साथीको भने अभाव हुन्छ । धेरै समय गेममा बिताउँदा सामाजिक क्रियाकलापमा सहभागिता पनि कम हुँदै जान्छ ।

७. रचनात्मक कार्यबाट वञ्चितः

किशोर अवस्था भनेको खोज तथा व्यक्तिगत विकासको समय हो । यस्तो समयमा गेमलाई धेरै समय दिने हो भने सामाजिक तथा बौद्धिक क्षेत्रमा धेरै पछाडि पर्ने सम्भावना रहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२