close

मायामा ब्रेकअप भयो ? अनफ्रेन्ड वा ब्लक गर्नुभन्दा प्रयोग गर्नुहोस् फेसबुकको ‘टेक अ ब्रेक’ फिचर

टेकपाना टेकपाना

असार २, २०८३ १३:५५

मायामा ब्रेकअप भयो ? अनफ्रेन्ड वा ब्लक गर्नुभन्दा प्रयोग गर्नुहोस् फेसबुकको ‘टेक अ ब्रेक’ फिचर

काठमाडौँ । सामान्यतः फेसबुक अकाउन्ट नितान्त व्यक्तिगत हुन्छ । यो व्यावसायिक प्रयोजनका लागि भन्दा पनि प्रायः आफन्त, साथीभाइ र नजिकका व्यक्तिसँग जोडिने माध्यमका रूपमा चिनिन्छ । त्यसैले हामी आफ्ना नजिकका मानिसहरूलाई फेसबुकमा जोड्छौँ । तर कहिलेकाहीँ यस्ता अकाउन्ट पनि जोडिन पुग्छन्, जसका पोस्ट हामीलाई मन पर्दैनन् र हामी तिनलाई अनफलो गर्छौँ । 

त्यसो गर्दा पनि यदि ती व्यक्तिले कुनै पोस्टमा रियाक्ट वा कमेन्ट गरेमा, त्यो पोस्ट सजेसनका रूपमा हाम्रो फिडसम्म आइपुग्छ, जसले गर्दा समस्या जस्ताको तस्तै रहन्छ ।

विशेषगरी, प्रेमी-प्रेमिकासँग ब्रेकअप भएको अवस्थामा वा कसैसँग सम्बन्ध चिसिएको बेला उनीहरूका पोस्टहरू निरन्तर देखिँदा मानसिक तनाव हुन सक्छ । यस्तो अवस्थामा कसैलाई अनफ्रेन्ड वा ब्लक गर्न अप्ठ्यारो लाग्ने र अनफलो गर्दा पनि समस्याको पूर्ण समाधान नहुने हुँदा फेसबुकको ‘टेक अ ब्रेक’ फिचर उपयोगी हुन सक्छ । ब्रेकअप हुँदा, साथीभाइसँग ठाकठुक पर्दा वा सामाजिक सञ्जालमा कसैबाट केही समय दुरी बनाउन मन लाग्दा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

मेटाका अनुसार फेसबुकमा यो फिचर प्रयोगकर्ताको गोपनीयता र मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर तयार पारिएको एउटा सहयोगी डिजिटल टुल हो । यसको मद्दतले कसैलाई अनफ्रेन्ड वा ब्लक गर्ने जस्ता कदम नचालीकन नै उनीहरूसँग फेसबुकमा गरिने अन्तरक्रियालाई आफ्नो सहजता अनुसार नियन्त्रण गर्न सकिन्छ ।

तपाईंले यो फिचर प्रयोग गर्दा फेसबुकले मुख्य तीनवटा विकल्प दिन्छ । पहिलो- सम्बन्धित व्यक्तिका गतिविधि आफ्नो फिडमा कम देख्ने सुविधा पाइन्छ । यो विकल्प रोज्दा ती व्यक्तिका पोस्ट र उनीहरू ट्याग गरिएका कुनै पनि सामग्री प्रयोगकर्ताको न्युज फिडमा देखिंदैनन् । यसका साथै फेसबुकले उनीहरूलाई मेसेज पठाउन वा फोटोमा ट्याग गर्न पनि प्रोत्साहन नगर्ने हुँदा साथी रहिरहेर पनि उनीहरूका अपडेटबाट टाढा बस्न सकिन्छ ।

दोस्रो- प्रयोगकर्ताले आफ्ना गतिविधि सम्बन्धित व्यक्तिबाट लुकाउने सीमा तय गर्न सक्छन् । यो अप्सन छानेपछि ती व्यक्ति स्वतः प्रयोगकर्ताको ‘रेस्ट्रिक्टेड लिस्ट’मा पर्नेछन् । त्यसपछि उनीहरूले प्रयोगकर्ताका पोस्ट तब मात्र देख्न पाउनेछन्, जब ती पोस्ट पब्लिक गरिन्छन् वा उनीहरूलाई सिधै ट्याग गरिन्छ जसले गर्दा साथीका लागि मात्रै शेयर गरिएका दैनिक पोस्ट उनीहरूले देख्न पाउँदैनन् ।

तेस्रो-तपाईंलाई उक्त व्यक्तिले ट्याग गरेको छ, टाइमलाइनमा लेखेको छ वा केही शेयर गरेको छ भने ती सबै एकै पटकमा डिलिट हुन्छन् । 

यस फिचरको सबैभन्दा उपयुक्त पक्ष के हो भने फेसबुकले यस प्रक्रियालाई पूर्ण रूपमा गोप्य राख्छ । प्रयोगकर्ताले ‘टेक अ ब्रेक’ फिचर प्रयोग गरेको जानकारी अर्को व्यक्तिले पाउँदैन र फेसबुकले उनीहरूलाई कुनै पनि नोटिफिकेसन पठाउँदैन । यो केवल आफ्नै मानसिक शान्तिका लागि चालिने कदम हो ।

  • यो फिचर प्रयोग गर्नका लागि आफूले ब्रेक लिन चाहेको अकाउन्ट फेसबुकमा खोज्नुहोस् । अनि फ्रेन्ड्सको अप्सनमा जानुहोस् । 

  • र, दोस्रोमा रहेको ‘Take a Break’ अप्सन छान्नुहोस् । 

  • अनि पहिलो अप्सनमा ट्याप गरेर ‘Limit where you see … profile’ को अप्सन छान्नुहोस् । 

  • दोस्रो अप्सनमा रहेको ‘Limit what … profile will see’ को दोस्रो अप्सन ‘Hide your posts from … profile’ छान्नुहोस् । 

  • र, तेस्रो अप्सन ‘Edit who can see pasts post’ छानेर त्यहाँ रहेको ‘Remove yourself from all of their posts’ को अप्सन छान्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार २, २०८३ १४:५७