close

च्याटजीपीटी, जेमिनाई जस्ता एआई टुलले बनाएका फोटो कसरी चिन्ने ? यस्तो छ सजिलो तरिका

टेकपाना टेकपाना

जेठ १२, २०८३ १९:५६

च्याटजीपीटी, जेमिनाई जस्ता एआई टुलले बनाएका फोटो कसरी चिन्ने ? यस्तो छ सजिलो तरिका

काठमाडौँ । गत साता प्रहरीले सडकमा काफल बेचिरहेकी महिलाको डालो फ्याँकेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । उक्त भिडिओ पछाडिपट्टिको कोणबाट खिचिएकाले डालो खोसाखोस हुँदाको अवस्था त्यति स्पष्ट थिएन ।

भिडिओको सुरुवाती दृश्यमा नगर प्रहरीले डालो नै घोप्ट्याएको जस्तो प्रस्ट नदेखिएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले एआई टुल प्रयोग गरी भिडिओबाट ‘की-फ्रेम’ लिएर फोटो तयार पारे ।

ती प्रयोगकर्ताले एआईमार्फत प्रहरीले नै डालो घोप्ट्याएको जस्तो देखिने फोटो बनाएर भाइरल गराए । यस्तै प्रवृत्तिको अर्को उदाहरणका रूपमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले आफ्नो फेसबुकमा पोस्ट गरेका तस्बिरलाई लिन सकिन्छ ।

राईले आफ्नो पार्टीमा युवाहरूको आकर्षण बढेको देखाउन केही युवतीले पार्टीको टी-सर्ट लगाएर समर्थन गरिरहेको जस्तो देखिने तस्बिर पोस्ट गरेका छन् । तर ती तस्बिरहरू वास्तवमा एआईबाटै मोडिफाई/सिर्जित हुन् । 

यसरी विभिन्न तवरबाट एआई सिर्जित फोटोको प्रयोग बढ्दो छ । त्यसो भए कसरी पत्ता लगाउने कुनै पनि फोटो एआईले बनाएको हो वा होइन भन्ने ?

त्यसका लागि गुगलओपनएआईले फोटो डिटेक्ट गर्ने सिस्टम उपलब्ध गराएका छन् । सुरुवाती समयमा गुगलले मात्र दिइरहेको सेवा अहिले ओपनएआईले पनि दिइरहेको छ । अर्थात् अब गुगलको एआई टुल जेमिनाई वा ओपनएआईको एआई टुल च्याटजीपीटीबाट बनाएका फोटो सजिलै पहिचान गर्न सक्नुहुन्छ । 

सबैभन्दा पहिले त तपाईंले कुनै फोटो एआईबाट बनाइएको हो वा होइन भन्ने पहिचान गर्नुपर्ने हुन्छ । त्यसका लागि तपाईंले फोटोलाई नियालेर हेर्नुपर्ने हुन्छ । सामान्यतः नेपाली टेक्स्टका सन्दर्भमा फोटोमा टेक्स्ट बिग्रिएको छ भने त्यो एआई हो भन्ने अनुमान लगाउन सकिन्छ । धेरै मानिसहरू छन् भने पछाडिपट्टि हुनेहरूको अनुहार अस्वाभविक देखिन्छ । अनुहारको आकृति नै नछुट्टिने किसिमको हुन्छ । अब झण्डा वा कसैको लोगो छ भने त्यो पनि एआई सिर्जित फोटोमा बिग्रिएको हुन्छ । त्यसलाई पनि आधार बनाएर तपाईंले फोटो एआई सिर्जित (मोडिफाइड) हो वा होइन भन्न सकिन्छ । 

यसरी कुनै पनि फोटो एआई सिर्जित हो भन्ने आशंका गर्नुभयो र त्यसलाई प्रमाणित गर्नुपर्‍यो भने हाइभ मोडरेसन टुल प्रयोग गर्न सक्नुहुन्छ । यहाँ क्लिक गरेर ‘See AI-generated content detection in action’ लेखिएको सेक्सन देखिन्छ । 

त्यसमा रहेको ‘Upload’ को बटनमा ट्याप गरी आफूले जाँच्न चाहेको फोटो अपलोड गर्नुहोस् । त्यसको केही समयमै यो टुलले एआई सिर्जित वा डिपफेक फोटो भिडिओ पहिचान गर्छ । र, नतिजा देखाउँछ । 

अब फोटो एआई सिर्जित हो, तर कुन टुलले बनाएको हो भन्ने पत्ता लगाउनु छ भने गुगल र ओपनएआईले सिन्थ-आईडी डिटेक्सन सिस्टम उपलब्ध गराएका छन् । सिन्थ आईडी गुगलले तयार पारेको यस्तो प्रविधि हो, जसले एआईको प्रयोग गरी बनाइएको वा मोडिफाई गरिएका तस्बिर, अडियो, भिडिओ वा टेक्स्टमा मानवीय आँखा वा कानले देख्न वा सुन्न नसकिने अदृश्य ‘डिजिटल वाटरमार्क’ राखेर ती सामग्री एआईबाट बनेका हुन् भनी पहिचान गर्न सहयोग पुर्‍याउँछ । यो प्रविधि विशेषगरी बढ्दो डीपफेक र भ्रामक सूचनालाई न्युनिकरण गर्नका लागि ल्याइएको हो । गुगलले नै ओपनएआईलाई यो प्रविधि उपलब्ध गराएको हो । 

कुनै पनि फोटो जेमिनाई एआई प्रयोग गरी बनाइएको हो वा होइन भन्ने पहिचान गर्न सबैभन्दा पहिले ‘gemini.google.com’ वा जेमिनाईको एपमा जानुहोस् । अनि फोटो अपलोड गर्नुहोस् । त्यसपछि च्याटमा ‘@Verify AI’ लाई मेन्सन गर्नुहोस् । त्यसपछि जेमिनाईले सो फोटो जेमिनाईले बनाएको हो वा होइन भन्ने जानकारी दिन्छ । 

त्यस्तै च्याटजीपीटी वा ओपनएआईको अन्य टुल जस्तै ड्याल्लीले बनाएको फोटो पहिचान गर्नका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर ओपनएआईको प्लेटफर्ममा जानुहोस् । 

र, फोटो अपलोड गर्नुहोस् । त्यसपछि यदि फोटो ओपनएआईको टुलले बनाएको वा त्यसको प्रयोग गरी मोडिफाई गरिएको हो भने स्पष्ट रूपमा ‘Generated with OpenAI Tools’ लेखिएको देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ २०:१०