close

निर्वाचन सम्बन्धी टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ १४:६

निर्वाचन सम्बन्धी टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता आयोजना गरेको छ । जसमा विजेताले ५० हजार नगद राशि पाउन सक्नेछन् । निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागू भन्दै निर्वाचन आयोगले यस्तो प्रतियोगिता आयोजना गरेको हो ।

इच्छुक टिकटक प्रयोगकर्ताले निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रही एक मिनेटको टिकटक भिडिओ बनाउनु पर्नेछ । विभिन्न प्रयोगकर्ता मार्फत प्राप्त टिकटक भिडिओबाट उत्कृष्ट पाँच भिडियोलाई आयोगको तर्फबाट जनही ५० हजारका दरले पुरस्कृत गरिने आयोगको भनाइ छ ।

विशेषगरी मतदाता शिक्षा, निर्वाचन प्रचार प्रसारलाई लक्षित गर्दै यस्तो प्रतियोगिता ल्याएको भएकाले  प्रयोगकर्ता टिकटक प्रयोगकर्ता नितान्त यही विषयमा केन्द्रित रही भिडिओ भिडियो बनाउनु पर्नेहुन्छ । भिडियो संवाद मूलक सन्देशमूलक हुनु पर्नेछ । प्रयोगकर्ताले टिकटक भिडिओ बनाउँदा संवाद मूलक तथा सन्देशमूलक र आफ्नै मौलिक अडियो र अभिनय भएको हुनुपर्नेछ । यस्ता मौलिक तथा सन्देशमूलक भिडिओलाई आयोगले थप प्राथमिकता दिने उल्लेख गरेको छ ।

 त्यस्तै उक्त टिकटक भिडिओ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरुमा आधारित हुनुपर्नेछ आयोगको भनाइ छ । निर्वाचन आयोगले प्रकाशन गरेको सूचनामा लेखिएको छ, ''निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।''

यस्ता विभिन्न विषयमा केन्द्रित रहेर प्रयोगकर्ताले पाँच ओटासम्म भिडिओ पठाउन सक्नेछन् । आयोग भन्छ, ''दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ ।'' त्यस्तै आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ ।

निर्वाचन आयोगलाई पठाएका भिडिओको सम्पूर्ण अधिकार आयोगमा निहित रहने उल्लेख गरिएको छ । जसलाई आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्ने बताएको छ । याद गर्नुहोस् आयोगले तोकेका सर्तहरूमा केन्द्रित रहेर भिडिओ बनाउनु पर्ने हुन्छ । अन्यथा भिडिओ अस्वीकार हुन सक्छ ।

आयोगलाई पठाउने भिडिओ २० सेकेन्डदेखि एक मिनेटसम्मको हुनुपर्नेछ । त्यसो गरिएको खण्डमा मात्र आयोगले उक्त भिडिओ मूल्याङ्कनका लागि छनोट गर्नेछ । विभिन्न व्यक्तिहरूबाट प्राप्त उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिने बताइएको छ । उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा पचास हजार रुपैयाँ पुरस्कार र प्रशंसापत्र प्रदान गरिने आयोगले जनाएको छ ।

आफूले विभिन्न विषयमा केन्द्रित रही तयार पारेको भिडिओ कार्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानमा [email protected] मा पठाउनुहोस् । कार्तिक १५ गतेपछि प्राप्त भिडिओलाई आयोगले मूल्याङ्कनका लागि छनौट नगर्ने जनाएको छ ।

निर्वाचन आयोगले उक्त प्रतियोगिताको नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने कुरा उल्लेख गरेको छैन । यद्यपि कार्तिक १५ गतेपछि भने प्राप्त भिडिओको मूल्याङ्कन हुने अपेक्षा गरिएको छ ।
 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ १४:६