काठमाडौं । टिकटकको फर यु पेजमा प्रायः हामीले हेरिरहने एकै प्रकारका भिडिओहरू आउने गर्छन् । जस्तो कि यदि हामीले कुनै खाना पकाएको भिडिओ हेरेका छौँ भने फर यु पेजमा अर्को पटकदेखि खानासँग सम्बन्धित भिडिओहरु नै धेरै आउने गर्छन् । यो टिकटकको अल्गोरिदमको काम हो । यसले तपाईँको रुची अनुसारको भिडिओ फर यु पेजमा दिने गर्छ ।
तर कहिलेकाही आफूले हेर्न नचाहेका भिडिओहरू पनि आइरहेको छ अथवा तपाईँ एकै प्रकारको भिडिओ हेरेर दिक्क हुनु भएको छ भने कम्पनीले तपाईँको लागि नयाँ फिचर सार्वजनिक गरेको छ ।
अब तपाईँले आफ्नो फर यु पेजलाई रिसेट गर्न सक्नुहुन्छ । अब आफ्नो फर यु पेज रिसेट गरेर नयाँ भिडिओहरू हेर्न सकिने भएको छ ।
कम्पनीले ‘फोर यू’ भिडिओ फिड रिसेट गर्न ‘रिफ्रेस’ नामक नयाँ फिचर ल्याएको हो । यस फिचरले प्रयोगकर्तालाई रूची अनुसारका भिडियो हेर्न सुझाव दिने कम्पनीले जनाएको छ ।
रूची अनुसारका भिडिओ नआएको गुनासाे गर्ने प्रयोगकर्ताहरुका लागि यो फिचर उपयुक्त हुने बताइएको छ । त्यस्तै भिडिओमा कन्टेन्ट कन्ट्रोल गर्नका लागि पनि यो फिचर ल्याएको कम्पनीको भनाइ छ ।
यो फिचर इनेबल गरेपछि प्रयोगकर्ताले हेर्ने भिडिओका आधारमा फिडमा भिडिओहरु आउन थाल्ने छन् । तर यस फिचरले प्रोफाइल र इनबक्समा कुनै असर नगर्ने कम्पनीले बताएको छ ।
कुनै भिडिओ हेरेपछि त्यसमा थप रूची भएन भने प्रयोगकर्ताले रिफ्रेस फिचरबाट आफ्नो फिड रिसेट गर्न सक्नेछन् ।
कसरी रिसेट गर्ने फर यु पेज ?
आफ्नो प्रोफाइलमा गएर स्क्रिनको माथिपट्टि दाहिनेतिर भएको तीन ओटा धर्कामा क्लिक गर्नुहोस्
स्क्रिनको तल देखिने अप्सनमा सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस्
स्क्रिनलाई थोरै स्क्रोल गरेर तल भएको ‘कन्टेन्ट प्रिफरेन्सेस’ अप्सनमा क्लिक गर्नुहोस्
‘रिफ्रेस योर फर यु फिड’ मा क्लिक गरेर ‘रिफ्रेस’ बटनमा क्लिक गर्नुहोस् ।
यसपछि तपाईँको फर यु पेज रिसेट हुनेछ । यो फिचर सार्वजनिक भएपनि एकैपटक सबै प्रयोगकर्तालाई उपलब्ध गराइएको छैन । यसको अर्थ यदि तपाईँको टिकटकमा यो फिचर आइसकेको छैन भने विस्तारै केही दिनमा यो फिचर देख्न सकिनेछ । कम्पनीले भने अर्को हप्तासम्ममा यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध गराउने जानकारी दिएको छ ।