close

टिकटक चलाउने आधा वयस्कले कहिल्यै भिडिओ हाल्दैनन्: रिपाेर्ट

टेकपाना टेकपाना

फागुन १७, २०८० ९:२९

टिकटक चलाउने आधा वयस्कले कहिल्यै भिडिओ हाल्दैनन्: रिपाेर्ट

काठमाडौं । टिकटकका वयस्क प्रयोगकर्तामध्ये करिब आधाले कहिल्यै पनि भिडिओ पोस्ट नगर्ने पाइएको छ । अमेरिकी संस्था प्यू अनुसन्धान केन्द्रको एक अध्ययनले ‍यस्तो तथ्य बाहिर ल्याएको हो ।

१८-४९ उमेर समूहका २,७४५ वयस्कबीच उक्त अध्ययन गरिएको थियो । अध्ययन अनुसार तीमध्ये ४८ प्रतिशतले टिकटकमा कहिल्यै पनि भिडिओ पोस्ट नगरेको पाइयो । अझ कतिपयले त आफ्नो प्रोफाइलमा बायो (व्यक्तिगत जानकारी) समेत राखेका छैनन् ।

सामाजिक सञ्जालमा आफैं कन्टेन्ट बनाएर नहाल्नु सामान्य विषय हो । यस्तो अवस्थालाई सामाजिक सञ्जालमाथि अनुसन्धान गर्नेहरूले ‘एक प्रतिशतको नियम’ले व्याख्या गर्ने गर्छन् । 

यस नियम अनुसार सामाजिक सञ्जालको कूल प्रयोगकर्तामध्ये एक प्रतिशतले आफैं कन्टेन्ट बनाएर हाल्छन् । ती सामग्रीमा करिब १० प्रतिशत प्रयोगकर्ता संलग्न हुन्छन् । अनि बाँकी रहेकाले ती सामग्री हेरेर मात्र बस्छन् । २००६ मा आएको यो अवधारणा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्छ । त्यसताका टिकटक स्थापना भएकै थिएन । युट्युब भने भर्खर एक वर्ष पुग्दै थियो ।

यसकारण सामाजिक सञ्जालमा पोस्ट गर्नेभन्दा गुपचुप बस्ने संख्या धेरै हुनु सामान्य छ । यस अध्ययनका प्रमुख लेखक सामुयल बेस्टवाटरले अन्य प्लेटफर्मको तुलनामा टिकटकमा पोस्ट नगर्ने संख्या बढी हुनु आश्चार्य भएको बताएका छन् । उनीहरूले नै २०२१ मा गरेको अध्ययनले अमेरिकी वयस्कहरूले महिनामा कम्तीमामा पाँच वा त्योभन्दा कम पटक एक्स (त्यसबेला ट्वीटर) मा पोस्ट गर्ने देखाएको थियो ।

तर हालैको अध्ययनले टिकटकमा कुनै पनि पोस्ट नगर्ने प्रयोगकर्ताहरूको संख्या देखाएको हो ।

एक्सको तुलनामा टिकटकमा धेरै प्रयोगकर्ता पोस्ट नगरी बस्नु स्वाभाविक छ । किनकि टिकटकमा कन्टेन्ट पोस्ट गर्न भिडिओ बनाउनु पर्ने बाध्यता छ ।

त्यस्तै अध्ययनले टिकटकमा पोस्ट गर्ने बानीसँग उमेरको सम्बन्ध गहिरो नभएको समेत पत्ता लगाएको छ । ३५-४९ उमेर समूहको तुलनामा १८-३४ उमेर समूहले टिकटक प्रयोग गर्ने सम्भावना बढी हुन्छ । तर अध्ययनमा यी दुवै उमेर समूहका आधा प्रयोगकर्ताले कहिल्यै पनि पोस्ट नगरेको पाइयो ।

साथै अध्ययनमा सहभागी भएका ८५ प्रतिशत प्रयोगकर्ताले आफ्नो फिडमा आउने भिडिओ रोचक र फरक भएको बताएका थिए । त्यसको कारण टिकटकको एल्गोरिदम हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०८० १०:३४