काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिङ्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण गर्ने अनुमति पाएको दाबी गरेको छ । पहिलो पटक मानिसमा यो प्रविधि परीक्षण गर्नका लागि न्युरालिङ्कले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट चिप प्रत्यारोपण गर्ने स्वीकृति पाएको कम्पनीले जनाएको छ ।
कम्पनीले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट राख्दै पहिलो पटक मानिसमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति पाएको जानकारी दिएको छ ।
“पहिलो पटक इन-ह्युमन क्लिनिकल अध्ययन सुरु गर्न हामीले एफडीएबाट स्वीकृति प्राप्त गरेको कुरा शेयर गर्न पाउँदा उत्साहित छौं,” ट्वीटमा न्युरालिङ्कले लेखेको छ, “न्युरालिङ्कले गरेको मिहिनेतका कारण एफडीएसँगको यो सहकार्य सम्भव भएको हो ।”
कम्पनीले यसबारे विस्तृत जानकारी चाँडै बाहिर ल्याउने प्रतिवद्धता दिएको छ । यदि कम्पनीले गरेको ट्वीट सही हो भने, मानिसहरूले छिट्टै नै आफ्नो मस्तिष्कमा चिप प्रत्यारोपण गर्न पाउनेछन् ।