close

एकै दिन नेपाल टेलिकमका ७० कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा, मन्त्रालयमा पनि समस्या उस्तै

टेकपाना टेकपाना

जेठ २७, २०८३ ९:५०

एकै दिन नेपाल टेलिकमका ७० कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा, मन्त्रालयमा पनि समस्या उस्तै

काठमाडौं । सरकारी कार्यालयहरूमा सेवा प्रवाह, कर्मचारीको समय पालना र पोसाक व्यवस्थापनमा चरम लापर्बाही रहेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार गरेको छड्के अनुगमनका क्रममा एकै दिन नेपाल टेलिकमका ७० जना कर्मचारी कारबाहीमा परेका हुन् ।

टेलिकममा मात्र नभएर सिंहदरबारस्थित विभिन्न मन्त्रालय र विभागहरूको अवस्था पनि उस्तै निराशाजनक देखिएको छ । सतर्कता केन्द्रले कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय, पोसाक र आचरण पालनाको सन्दर्भमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा टेलिकम (काठमाडौं) मा मात्रै ६३ जना कर्मचारी समय पालना नगरेको वा ढिला उपस्थित भएको पाइएको छ । त्यस्तै तोकिएको कार्यालय पोसाक नलगाउने थप ७ जना भेटिएका छन् । यसरी एकै दिन टेलिकमका ७० कर्मचारीलाई कारबाहीको दायरामा ल्याइएको हो ।

उनीहरूलाई निजामती सेवा ऐन, २०४९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन समेत दिइएको छ ।

प्रविधि र सञ्चारको क्षेत्रमा चुस्त सेवा प्रवाह गर्नुपर्ने निकायमा देखिएको यो बेथिति नीति निर्माण गर्ने मन्त्रालयहरूमा पनि उस्तै छ । केन्द्रका अनुसार सिंहदरबारभित्रै रहेका उच्च सरकारी निकायहरूमा अनुशासनको समस्या देखिएको छ ।

प्रविधि क्षेत्रकै नेतृत्व गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका १० जना कर्मचारी छड्के अनुगमनमा अनुपस्थित वा ढिला उपस्थित भएको पाइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ ९:५०