close

१ वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्स नछाप्नेबारे छलफल गर्दै यातायात विभाग

टेकपाना टेकपाना

जेठ २७, २०८३ १३:५९

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । यातायात व्यवस्था विभागले वैधता अवधि (म्याद) एक वर्षभन्दा कम बाँकी रहेका सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) तत्काल नछाप्ने विषयमा छलफल सुरु गरेको छ । यसअघि पाँच वर्षको म्याद हुने गरेकोमा अब नवीकरण गर्दा १० वर्षको अवधि कायम हुने भएपछि विभागले थोरै समय मात्र बाँकी रहेका कार्डहरू नछाप्ने विकल्पबारे छलफल थालेको हो ।

विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार, हाल छाप्न बाँकी रहेका करिब तीन लाख लाइसेन्समध्ये ठुलो सङ्ख्यामा सेवाग्राहीहरू मुलुक बाहिर छन् । विदेशमा रहेका व्यक्तिको लाइसेन्स छापेर पठाउँदा उनीहरू नेपाल फर्किउन्जेल कार्डको म्याद नै समाप्त भइसक्ने देखिएकाले यस्तो अवधारणा ल्याइएको उनले जानकारी दिए ।

“हामीले यसलाई निर्णय गरिसकेका छैनौँ, केवल छलफल मात्र गरेका हौँ,” खतिवडाले भने, “करिब तीन लाख लाइसेन्स छाप्न बाँकी छ । हाल ५०-६० लाख नेपाली वैदेशिक रोजगारी वा अन्य सिलसिलामा बाहिर हुनुहुन्छ । तीमध्ये करिब दुई लाख जति विदेशमै रहेका मानिसको लाइसेन्स परेमा, उनीहरूले तत्काल कार्ड प्रयोग गर्न पाउने अवस्था हुँदैन । नेपाल फर्कँदासम्म कार्डको म्याद सकिइसकेको हुन्छ । यसले राज्यलाई आर्थिक भार मात्र पर्छ र सेवाग्राहीलाई पनि कुनै फाइदा हुँदैन ।”

एक वर्षभन्दा कम अवधि बाँकी भएका लाइसेन्स प्रिन्ट गर्नुको साटो, सेवाग्राहीले नवीकरण गर्दा सोझै १० वर्ष अवधिको नयाँ कार्ड दिन सकिने खतिवडाले बताए । यसो गर्दा राज्यको खर्च जोगिने र सेवाग्राहीलाई पनि सहज हुने विभागको बुझाइ छ ।

खतिवडाले थपे, “नवीकरण गर्दा एकैपटक १० वर्षको म्याद दिन पाए दुवै पक्षका लागि उपयुक्त हुन्छ भन्ने हाम्रो सोच हो । तर, यदि कोही सेवाग्राही कार्यालयमै आएर ‘मेरो बाँकी अवधिकै लाइसेन्स प्रिन्ट हुनुपर्छ’ भन्छन् भने हामीले त्यसलाई रोक्न मिल्दैन, प्रिन्ट गरेर दिनुपर्छ ।”

हाल नागरिक एपमा समेत ड्राइभिङ लाइसेन्स उपलब्ध हुने र त्यसले कानुनी वैधता पाउने व्यवस्था भइसकेकाले भौतिक कार्ड तत्काल आवश्यक नपर्नेहरूका हकमा यो छलफल प्रभावकारी हुने विभागको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ १३:५९