close

मेटाले व्यापारिक गोपनीयता 'चोरे' पछि समस्यामा ट्वीटर

टेकपाना टेकपाना

असार २४, २०८० १२:२०

मेटाले व्यापारिक गोपनीयता 'चोरे' पछि समस्यामा ट्वीटर

काठमाडौं । मेटाले माइक्रोब्लगिङ प्लेटफर्म थ्रेड बनाउन आफ्नो व्यापारिक गोपनीयता (trade secret) चोरी गरेको दाबी गरेपछि ट्वीटर समस्यामा परेको छ । 

बुधबार मेटालाई पठाइएको पत्रमा सो कम्पनीले आफ्नो माइक्रोब्लगिङ एप निर्माण गर्न ट्वीटरको  व्यापारिक गोपनीयता प्रयोग गरेको ट्वीटरको आरोप थियो । पत्र पठाउँदै ट्वीटरले मेटालाई आफ्नो व्यापारिक गोपनीयताको प्रयोग गर्न बन्द गर्नुपर्ने माग राखेको थियो ।

ट्वीटरका अनुसार मेटाले आफ्ना पूर्व कर्मचारीलाई काममा राखेर थ्रेड्स एप बनाएको हो । ट्वीटरका ती तिनै कर्मचारी हुन जसले कम्पनीको डिभाइस र डकुमेन्ट अनुचित रूपमा राखेका थिए । 

उनीहरूसँग यस्ता कुराहरू भएको थाहा पाएपछि मेटाले जानीबुझी ती कर्मचारीलाई नियुक्त गरेको ट्वीटरको आरोप थियो । यता मेटाका प्रवक्ता एन्डी स्टोनले भने थ्रेड्सको इन्जिनियर टिममा ट्वीटरका कुनै पनि पूर्वकर्मचारी नभएको बताएका छन् । 

ट्वीटरले यसअघि मेटाविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको थियो । तर अहिलेसम्म पनि मुद्दा हाल्ने वा नहाल्ने स्पष्ट छैन । 

कानूनी विज्ञहरूका अनुसार आफ्ना प्रतिद्वन्द्वी कम्पनीले पूर्व कर्मचारीलाई काममा राखेर त्यस्तै प्रडक्ट बनाउन ट्रेड सेक्रेट (व्यापारिक गोपनीयता) चोरी गरेको आरोप लगाउने घटना नौलो होइन । यस्ता घटनामा ट्रेड सेक्रेट चोरी गरेको पुष्टि गर्न गाह्रो भने हुन्छ ।

रोयटर्ससँग कुरा गर्दै युनिभर्सिटी अफ पेन्सिलभेनियाका कानून प्राध्यापक पल्क वाग्नर भन्छन्, “मुद्दा जित्नका लागि ट्वीटरले आफ्नो प्रतिद्वन्दी मेटाले लगेको सूचना आर्थिक रूपमा मूल्यवान भएको देखाउन सक्नुपर्छ । र, कम्पनीले व्यापारिक गोपनीयता गोप्य राख्नका लागि केकस्ता उपयुक्त उपाय (रिजनेबल इफोर्ट) अपनाएको छ भन्ने पनि देखाउनुपर्छ ।”

तर, रिजनेबल ईफोर्ट कसलाई मान्ने भन्ने कुरा प्रमुख चुनौती हुने वाग्नर बताउँछन् । यसरी ट्रेड सेक्रेट पुस्टि गर्न नसक्दा ट्वीटर आफै कानूनी झमेलामा पर्ने विज्ञहरू बताउँछन् ।  

पछिल्लो अध्यावधिक: असार २४, २०८० १२:२०