विश्वकपयता मात्रै सवा २ लाख बेटिङ साइट बन्द गरेको सरकारको दाबी, अपडेट गर्ने लिंक गिटहबमा
साउन ८, २०८३ १९:४
काठमाडौँ । सरकारले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एपहरू बन्द गरेको दाबी गरेको छ । फिफा विश्वकप आयोजना भएयता मात्रै फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइटहरू बन्द गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको हो ।
१३ चैतमा जारी सकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो । कार्यसूचीको ४२ औँ बुँदामा 'सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने' उल्लेख गरिएको थियो । सोही निर्णयअनुसार त्यतिखेर नेपालमा सञ्चालित सबै सट्टेबाजी वेबसाइटहरू बन्द गरिएको दाबी छ ।
यस्ता वेबसाइटहरू बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहने र नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको पहिचान गरी ब्लक गर्ने कार्य गर्दै आएको छ ।
विश्वकपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएको थियो । सोही अनुरूप प्राधिकरणले तदारुकताका साथ कारबाही अगाडि बढाएको हो । प्राधिकरणले यसका लागि छुट्टै 'टास्क फोर्स' पनि गठन गरेको छ ।
टास्क फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइटलाई बन्द गर्ने काम गरिएको थियो । आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताए ।
उनका अनुसार यति धेरै वेबसाइट एक-एक गरेर खोज्न कठिन हुने गर्छ । यस्तोमा अधिकार प्राप्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरूलाई आईएसपीसँगको सहकार्यमा बन्द गर्ने गरिन्छ ।
यसमा पनि एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने मुख्य चुनौती रहने गर्दछ । यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन्, त्यति नै बन्द गर्दै जानुपर्ने हुन्छ । यसका लागि थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेर हन्टिङ गर्ने गरिएको र यसका लागि छुट्टै जनशक्तिको व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ ।
यदि कसैलाई यस्ता अवैधानिक वेबसाइटहरूका बारेमा थाहा भएमा github.com/NTA-OPM लिंकमा गएर अपडेट गराउन सकिने समेत प्राधिकरणले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८३ २०:१३
