close

सामाजिक सञ्जालको कम्युनिटी गाइडलाइन्सले रोक्न सकेन रौतहट हत्याकाण्डका वीभत्स भाइरल फोटो-भिडिओ

टेकपाना टेकपाना

साउन ८, २०८३ २०:२७

सामाजिक सञ्जालको कम्युनिटी गाइडलाइन्सले रोक्न सकेन रौतहट हत्याकाण्डका वीभत्स भाइरल फोटो-भिडिओ

काठमाडौं । सामाजिक सञ्जालका ठुला कम्पनीहरूले 'कम्युनिटी गाइडलाइन्स' मार्फत हिंसात्मक सामग्री नियन्त्रण गर्ने दाबी गरे पनि शुक्रबार नेपालमा भएको एक नृशंस हत्याकाण्डका विवत्स दृश्यहरू रोक्न ती असफल देखिएका छन् । रौतहटमा भएको महिलाको हत्याका तस्बिर र भिडिओहरू विभिन्न प्लेटफर्ममा निर्बाध फैलिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे गुजरा नगरपालिका-५, हरिहरपुर टोलमा खुकुरी प्रहार गरी ४० वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हो । बाराको करैयामाई गाउँपालिका-८ घर भई हाल सोही टोलमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रेनुदेवी स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती हुन् ।

हत्यापछि आक्रोशित बनेका स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिई कुटपिट गरेका थिए । भीडको कुटाइबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिसकेको र घटनाको कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

घटनाका भिडिओहरूमा धारिलो हतियार प्रयोग गरी महिलामाथि आक्रमण गरिएको दृश्य देखिन्छ । रगतले लतपतिएको शव, आक्रमणकारीले खुकुरी बोकिरहेको र स्थानीयले उसलाई कुटपिट गरेका दृश्य फेसबुक, एक्स, टिकटक, युट्युबलगायतका प्लेटफर्ममा पोस्ट भइरहेका छन् ।

यी पोस्टमा हजारौँ लाइक्स, कमेन्ट र शेयर देखिन्छन् । केही प्रयोगकर्ताले उत्तेजक क्याप्सन राखेर सामग्री फैलाउँदा पनि प्लेटफर्मका अटोमेटेड फिल्टर र म्यानुअल रिभ्यु प्रक्रिया प्रभावकारी देखिएको छैन ।

मेटा (फेसबुक/इन्स्टाग्राम) को नीतिमा अत्यधिक रक्ताम्मे दृश्य, मृत शरीरको प्रदर्शन र हिंसात्मक भिडिओहरूमा पूर्ण प्रतिबन्ध लगाउने उल्लेख छ । तर, समाचार वा जनचेतनाको आडमा यस्ता सामग्री सिस्टमबाट उम्किरहेका छन् । तिनमा वार्निङ स्क्रिन (चेतावनी) राख्नुपर्ने माग उठ्दै आएपनि मेटाले नीति परिमार्जन गरेको छैन ।

अर्कोतर्फ, एक्सले हिंसात्मक सामग्रीलाई पूर्ण प्रतिबन्ध गर्नुको साटो 'प्रोपर लेबलिङ' (चेतावनी सन्देश) गरेर राख्न दिने खुकुलो नीति लिएको छ । चरम वीभत्स र हिंसालाई प्रोत्साहन गर्ने सामग्रीलाई अनुमति नदिने भनिए पनि रौतहट घटनाका प्रशस्तै सामग्री एक्समा देखिन्छन् ।

टिकटकले मानिसलाई मानसिक तनाव दिने खालका ग्राफिक र 'डिस्टर्बिङ' सामग्रीमा शून्य सहनशीलताको नीति राख्छ । हिंसा र आपराधिक क्रियाकलाप झल्किने भिडिओ तुरुन्तै हटाउने उसको दाबी छ ।​ तर मोडरेटरले फेला पार्नुअघि नै यस्ता भिडिओ भाइरल भइसकेका हुन्छन् ।

युट्युबमा पनि अपलोड र रिभ्युबिचको टाइम ल्यागका कारण यस्ता दृश्य तत्काल रोकिन सकेका छैनन् ।

नेपालजस्तो देशका स्थानीय घटना र भाषाका सामग्रीलाई ठुला कम्पनीका मोडरेटरहरूले प्राथमिकतामा कम राख्दा पनि यस्ता भिडिओ लामो समयसम्म रहिरहन्छन् ।

प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहँदा यस्ता सामग्रीले पीडित परिवारलाई थप मानसिक आघात पुर्‍याएका छन् । यसले व्यक्तिको गोपनीयता र मृत्युपछिको सम्मानको समेत उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल प्लेटफर्महरूको आलोचना हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ २३:३९