close

आईफोन १५ प्रो र प्रो म्याक्समा ब्याट्री तात्तिने समस्या

टेकपाना टेकपाना

असोज १०, २०८० १४:४१

आईफोन १५ प्रो र प्रो म्याक्समा ब्याट्री तात्तिने समस्या

काठमाडौं । आईफोन १५ प्रो र १५ प्रो म्याक्सकाे ब्याट्रीमा तात्तिने समस्या देखिएकाे भन्दै विभिन्न रिपोर्ट बाहिरिएका छन् । एप्पलले फोनको थर्मल सिस्टम डिजाइनमा ‍गरेको त्रुटिले त्यस्तो समस्या आएको हुनसक्ने विश्लेषण गरिएकाे छ ।

एन्ड्रोइड अथोरिटीले उक्त समस्या वास्तविक हो वा होइन भन्ने पुष्टि गर्न आईफोन १५ प्राेमा परीक्षण गरेको थियो । फोनमा एकैपटक विभिन्न कामहरू गर्न थालियाे भने त्यसको तापक्रम ४७.४ डिग्री सेल्सियस पुगेको एन्ड्रोइड अथोरिटीको निष्कर्ष छ ।

सो परीक्षणको रिपोर्ट यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

एप्पलका विश्लेषक मिङ चि कुओका अनुसार ब्याट्री तात्तिने समस्या र आईफोनमा भएको ए१७ चिपबीच कुनै सम्बन्ध छैन । कम्पनीले प्राे माेडेलकाे तौल कम बनाउन त्यसको थर्मल सिस्टममा कम्प्राेमाइज (सम्झाैता) गर्दा फोन तात्तिने समस्या आएको हुनसक्ने उनको तर्क छ ।

त्यस्तै एप्पलले फोन बलियो र हलुका बनाउन प्रयोग गरेको टाइटानियमको फ्रेमले गर्दा पनि फोन तात्तिएको अड्कल गरिएकाे छ । किनभने टाइटानियमले थर्मल इफिसियन्सीलाई नकारात्मक रूपमा प्रभाव पार्छ ।

“एप्पलले नयाँ सफ्टवेयर अपडेटमार्फत यो समस्यालाई सम्बोधन गर्छ भन्ने अपेक्षा गरिएको छ,” मिङ चि कुओ लेख्छन्, “तर सुधार गर्न सफ्टवेयर अपडेट तबसम्म पर्याप्त हुँदैन, जबसम्म एप्पलले प्रोसेसरको पर्फर्मेन्स घटाउँदैन ।”

आईफोन १५ प्रो र प्रो म्याक्स सधैं हातमा राख्नै नसकिने गरी तातो हुने भन्ने हाेइन । गेम खेल्दा, भिडिओ रेकर्ड गर्दा वा त्यस्तै 'हेभी' काम गर्दा फाेन तात्तिने समस्या देखिएकाे विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८० १५:१३