close

नेपाल टेलिकमको फाइबर ल्यान्ड लाइनमा अचानक देखिए ३ लाख बढी ग्राहक

टेकपाना टेकपाना

कात्तिक १३, २०८० १९:५१

नेपाल टेलिकमको फाइबर ल्यान्ड लाइनमा अचानक देखिए ३ लाख बढी ग्राहक

काठमाडौं । फाइबरमा नेपाल टेलिकमको ल्यान्ड लाइन टेलिफोन चलाउने प्रयोगकर्ताको सङ्ख्या तीन लाख सात हजार रहेको तथ्य सार्वजनिक भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रकाशित गरेको टेलिकम्युनिकेसन इन्साइटमा पहिलो पटक टेलिकमका एफटीटीएच भ्वाइस अर्थात् फाइबर केबुलमा ल्यान्ड लाइन सेवा प्रयोग गर्ने ग्राहकको तथ्याङ्क समेटिएको हो । 

सन् २०१४ मा टेलिकमले उच्च गतिको इन्टरनेटसँगै ल्यान्ड लाइन सेवा समेत दिन सकिने गरी एफटीटीएच प्रविधि सुरु गरेको थियो । त्यसपछि सोही फाइबरमा आईपीटिभी सेवा समेत थप गरिएको छ । 

तर टेलिकमको एफटीटीएच भ्वाइस अर्थात् फाइबरमा आधारित ल्यान्ड लाइन ग्राहकको सङ्ख्या भने नियामकको तथ्याङ्कमा समेटिएको थिएन । प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले टेलिकमका फाइबर इन्टरनेट ग्राहक यसअघिका एमआईएसमा समावेश गरिएको भए पनि तिनै फाइबरमा रहेका भ्वाइस तर्फका ग्राहक भने अलग्गै रूपमा उल्लेख नभएको बताए । 

"अहिले हामीले फिक्स भ्वाइस टेलिफोनी सेवा अन्तर्गत एफटीटीएच भ्वाइस ग्राहकलाई समेत तथ्याङ्कमा समेट्न थालेका हौं," उनले भने । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने एफटीटीएच भ्वाइस सेवा तर्फका ग्राहकको तथ्याङ्क समेत प्राधिकरणलाई नियमित रूपमा उपलब्ध गराइएको बताए ।

प्राधिकरणको तथ्याङ्कमा एफटीटीएच प्रविधिमा आधारित भ्वाइस सेवाका ग्राहक समेटिएसँगै नेपाल टेलिकमको फिक्स लाइन भ्वाइस टेलिफोनी अन्तर्गतका ग्राहक अहिलेसम्मकै उच्च देखिन पुगेका छन् । 

प्राधिकरणको पछिल्लो टेलिकम्युनिकेसन इन्साइट अनुसार गत असारसम्म टेलिकमको फिक्स लाइन भ्वाइस टेलिफोनका ग्राहक आठ लाख ३१ हजार ५६६ रहेको देखिन्छ । जब कि त्यसको एक महिना अघिको तथ्याङ्कमा सो कम्पनीको फिक्स लाइन भ्वाइस टेलिफोन सेवा तर्फ पाँच लाख ४७ हजार १८५ ग्राहक मात्र रहेको देखिन्थ्यो । 

टेलिकमले यस अघिको कपर नेटवर्कमा आधारित पीएसटीएन ल्यान्ड लाइन सेवालाई फाइबरमा आधारित ल्यान्ड लाइन सेवाले प्रतिस्थापन गरिरहेको छ । परिणाम स्वरूप कम्पनीको एफटीटीएच भ्वाइस टेलिफोनीमा फाइबर इन्टरनेटको तुलनामा बढी ग्राहक पुगिसकेको देखिन्छ । 

तथ्याङ्क अनुसार असार मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेटमा दुई लाख ४८ हजार ३८५ ग्राहक रहेका छन् । कम्पनीको फिक्स भ्वाइस टेलिफोन अन्तर्गत एफटीटीएच बाहेक पीएसटीएन, भीस्याट र डब्लूएलएल प्रविधिमा क्रमशः चार लाख सात हजार ३४६, ८६ र एक लाख १६ हजार ८६३ ग्राहक रहेका छन् । 

एफटीटीएच भ्वाइस सेवाका ग्राहक समेटिएसँगै प्राधिकरणको तथ्याङ्कमै अस्वाभाविक परिवर्तन देखिएको छ । जेठ महिनामा नेपालको १.८८ प्रतिशत जनसङ्ख्यामा रहेको फिक्स भ्वाइस टेलिफोनको पहुँच एक महिनामै विस्तार भएर २.३९ पुगेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १९:५१