सुकुना मावि: कन्फेसन पेजमा एकपछि अर्को एक्सपोज भए यौन दुर्व्यवहारका आरोपी शिक्षक, तीन पक्राउ
साउन ४, २०८३ १५:५२
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले सामाजिक सञ्जालमा आफूहरूमाथि दुर्व्यवहार गर्ने शिक्षकहरूलाई एक्स्पोज गर्ने ‘ट्रेन्ड’ चलाएका छन् । आइतबारदेखि विद्यालयमा पढेका छात्रामाथि भएको दुर्व्यवहारको बारेमा ‘S/K/N Confession & Meme’ नामको पेजबाट ‘हिडन भोइस’ नामको सिरिज चलाएसँगै लगातार शिक्षकहरू एक्स्पोज भइरहेका हुन् ।
सन् २०२१ मा खुलेको यो पेजले करिब पाँच वर्षदेखि नै विद्यार्थीहरूको कन्फेसन र मिम सार्वजनिक गर्दै आएको छ । आठ हजार २०० फलोअर रहेको यो पेजले शिक्षकहरूलाई एक्स्पोज गर्न थालेपछि केही आरोपी शिक्षकहरू पक्राउ पर्नुका साथै विद्यालयबाट निलम्बनमा पनि परेका छन् ।
यसरी गरियो एक्सपोज
आइतबार (१९ जुलाई) बिहान ८ बजे उक्त पेजले विद्यालयको कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत छात्राहरूले दुर्व्यहार भोगिरहेको जानकारी प्राप्त गरेको भन्दै एक पोस्ट सार्वजनिक गर्यो । शिक्षकले आफूलाई यौनजन्य मेसेज पठाउने गरेको, प्राक्टिकल नम्बर बढाउने भन्दै अश्लील तस्बिर माग्ने, रात बिताउन प्रस्ताव गरेको भन्दै च्याट र स्क्रिनशट प्राप्त गरेको भन्दै सो पेजले अन्य विद्यार्थीहरू पनि शिक्षकबाट पीडित भएको भए प्रमाण पठाउन आग्रह गरेको थियो ।
आफूहरूसँग भएका प्रमाण सङ्कलन गरेर शिक्षकलाई एक्स्पोज गर्ने र पीडितको गोपनीयता कायम गर्ने पेजले जनाएको थियो । त्यसपछि अन्य पोस्टहरू समेत राखेर आफूहरूलाई साथ दिन सरोकारवाला निकायसामु आग्रह गरेको थियो ।
त्यसपछि भने यो पेजले विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेत, शिक्षकहरू अविरल मास्के, किशोरलाल गच्छदार, लेखराज श्रेष्ठ, भीम नेपाल, युवराज खुलाल, महेश बस्नेत, महेश रेग्मी, विद्यालयका बस चालक प्रदीप भट्टराई, सहचालक लगायतले दुर्व्यवहार गरेको भन्दै कयौँ विद्यार्थीले अनुभव सुनाएका स्क्रिनशटहरू लगातार सार्वजनिक गरिरहेको छ ।
संवेदनशील अङ्गको तस्बिर माग्ने देखि परीक्षामा पास गराउने लोभ देखाउँदै दुर्व्यवहार
विद्यालयका एक शिक्षकले आफूसँग नजिक भएमा कक्षा १२ पास गराइदिने भन्दै विद्यार्थीलाई मेसेज पठाएको स्क्रिनशट सार्वजनिक भएको छ । अर्को स्क्रिनशटमा तिनै शिक्षकले विद्यार्थीलाई मेसेजमा ‘भोक लाग्यो’ भन्दै ‘मैले बु’बु हेर्ने त भन्या हो अरू के भनेको छु र’ भन्दै पठाएको स्क्रिनशटसमेत सार्वजनिक भएको छ । करिब दुई वर्ष पुरानो एक स्क्रिनशटमा उनले विद्यार्थीलाई सेक्सी भनेको समेत देख्न सकिन्छ ।
मास्केले आफूलाई बाटोमा हिँडिरहेको बेलामा दुर्व्यवहार गरेको भन्दै अर्को छात्राले ती शिक्षकलाई जेलमा नै हाल्नुपर्ने भन्दै आफ्नो भोगाइ सार्वजनिक गरेको अडिओ समेत सोही पेजमा सार्वजनिक भएको छ । जहाँ उनले ती शिक्षकले आफूलाई ‘उमेर भन्दा निकै ठुलो देखिएको’, ‘छाती पनि ठुलो देखिएको’ भन्दै अश्लील टिप्पणी गरेको बताएकी छिन् । त्यो भन्दा धेरै दुर्व्यवहार भएको बताएकी उनले आफ्नो थप भोगाइ भने पीडाका कारण सुनाउन नसकेको सो अडिओमा सुन्न सकिन्छ ।
अर्की छात्राले पनि आफ्नो साथीलाई तिनै शिक्षकले ‘डार्लिङ’, ‘बेबी’ भन्दै कक्षा ११ मा पढ्दा बाटो छेक्ने गरेको बताएकी छिन् । ती किशोरीले आफ्नो कन्फेसनमा अर्का शिक्षकले पनि आफ्नो हात अठ्याउने, मेकअप गरेको भन्दै गाला सुम्सुम्याएर अप्ठेरो महसुस गराएको उल्लेख गरेकी छिन् ।
उक्त पेजबाट सार्वजनिक भएको अर्को अडिओ कन्फेसनमा एक छात्राले आफूलाई सोही विद्यालयकै शिक्षकबाट भएको यौन दुर्व्यहार खुलाएकी छिन् । कक्षा ९ मा अध्ययन गरिरहेको समयमा नै ‘उसको गाला कति सफ्ट’ भन्दै शिक्षकले नराम्रो गरी छुन थालेको उनले बताएकी छिन् ।
कक्षा ११ को अन्तिम परीक्षामा अकाउन्ट विषयको परीक्षा दिएको बेलामा पनि ती शिक्षकले नराम्ररी छोएको र सोही राति फोन निरन्तर आएको उनले बताएकी छिन् । राति साँढे १० बजे तिर त्यसरी आफूलाई कल आएपछि किन कल गरेको भनेर सोध्दा शिक्षकले निकै भद्दा मेसेज गरेको उनले खुलाएकी हुन् ।
सार्वजनिक अडिओमा उनले भनेकी छिन्, “तिम्रो कपि मसँग छ । तिमीले भनेजति नम्बर दिन्छु । ५० ओटा जति फोटो पठाऊ, भिडिओ कल गर भन्यो । म एकछिन फ्रिज भएँ । पछि के भनेको मलाई त्यस्तो ? तपाईँको श्रीमतीलाई भन्दिन्छु भनेँ । ‘जे सुकै गर उसलाई थाहा छ’ भन्यो ।” आफूसँग भएको पुराना फोन हराएकाले सोसँगै प्रमाण हराएको र समयमा बोल्न नसकेको उनले बताएकी छिन् ।
तर साथीलाई पनि त्यस्तै दुर्व्यवहार परेपछि विद्यालयमा ‘कम्प्लेन’ गर्न गएको तर अबदेखि त्यस्तो भए झापड हान्नु भनेर सुझाव दिएको तर शिक्षक विरुद्ध उजुरी नलिइएको उनले बताएकी छिन् । विद्यालयले वास्ता नगरेपछि आफूहरूले फेरि आवाज उठाउन नसकेको उनको भनाइ छ ।
विद्यालयको ईमेल आफूसँग भएको भन्दै परीक्षा सुरु हुनुअघि प्रश्नपत्र आउट गरिदिने प्रलोभन
ती शिक्षकले अन्य छात्रालाई समेत अरू विद्यालयमा केन्द्र परेपनि त्यहाँ आफ्नो साथी रहेको भन्दै विद्यार्थीलाई पास गर्न सघाउने भन्दै पठाएको मेसेजको स्क्रिनशट समेत सार्वजनिक भएको छ । त्यसको बदलामा आफ्नो लागि विद्यार्थीले फाइदा हुने के काम गर्ने भन्दै मेसेज पठाएको छन् । उनले विद्यालयको ईमेल आईडी आफूसँग हुने र परीक्षा सुरु हुनुभन्दा एक घण्टा पहिले नै प्रश्नपत्र पाउने भन्दै विद्यार्थीलाई लोभ्याउन समेत खोजेका छन् ।
अन्य विद्यालयका विद्यार्थीहरूले समेत सुकुनामा परीक्षा केन्द्र परेर परीक्षा दिन जाँदा ती शिक्षकले असहज हुनेगरी छोएको बताएका छन् ।
राति कोठामा विद्यार्थीलाई बोलाउने शिक्षक !
सोही विद्यालयका ‘म्युजिक टिचर’ ले समेत ‘राति कोठामा आऊ’ भनेर भन्दै स्क्रिनशटको प्रमाण समेत सार्वजनिक भएको छ ।
त्यस्तै अर्का शिक्षकले छात्राहरूलाई हेर्दा नै अप्ठेरो हुने गरी संवेदनशील भागमा पिट्ने गरेको विद्यार्थीहरूले दाबी गरेका छन् ।
अर्का शिक्षकले विद्यार्थीले रिप्लाई नगर्दा पनि पटक पटक ‘बिग फ्यान’, ‘ह्वाट अ ब्युटी’ भन्दै स्टोरीमा रिप्लाई गरेको स्क्रिनशट सार्वजनिक भएको छ ।
विद्यार्थीहरूले विद्यालयको बस नम्बर ३ का चालकले समेत ‘फ्लर्ट’ गर्दै मेसेज गरेको र दुर्व्यहारमा परेको भन्दै आफ्ना अनुभवहरू सुनाएका छन् ।
ती चालकले विद्यार्थीलाई ‘प्यारी’, ‘बादर्नी’ भनेर ‘फ्लर्टी मेसेज’ पठाएको प्रमाणहरू सार्वजनिक भएको छ ।
उनले कयौँ छात्राहरूलाई जिस्क्याउँदै मेसेज पठाएको स्क्रिनशट सार्वजनिक भएको छ । यस्तै बस नम्बर ३ कै सहचालकबाट पनि दुर्व्यवहारमा परेको विद्यार्थीहरूले बताएका छन् ।
प्रधानाध्यापक भूमिका नै शङ्कास्पद
विद्यालयको प्रधानाध्यापक हिक्मत बस्नेतले राति अबेरमा विद्यार्थीलाई मेसेज पठाएको स्क्रिनशट सार्वजनिक भएको छ । राति १० बजेभन्दा पछाडि ‘सुत्नु भयो ?’ भन्दै मेसेज पठाएका छन् ।
एक शिक्षकले नराम्रो तरिकाले छोएको र एचओडी (हेड अफ डिपार्टमेन्ट) मार्फत प्रधानाध्यापकलाई शिक्षकको दुर्व्यवहारका बारेमा जानकारी दिँदा ‘छोरी जस्तै गरेर छोएको हो’ भन्दै घटनालाई पन्छ्याएको आरोप पनि लगाइएको छ ।
विद्यालयकै अर्का शिक्षकले दुर्व्यवहार गरेर यसको बारेमा गुनासो गर्न जाँदा प्रिन्सिपलले सीसीटीभी फुटेज पहिले नै आफूले हेरिसकेको र शिक्षकबाट त्यस्तो दुर्व्यवहार नभएको भन्दै घटनाको ढाकछोप गरेको पनि विद्यार्थीहरूले दाबी गरेका छन् ।
पटक पटक शिक्षकहरूको बारेमा गुनासो गर्दा प्रधानाध्यापकबाट सँधै बेवास्ता भएको र आफैँ बचेर हिँड्नु भन्दै सुझाव दिइएको उीहरूको आरोप छ ।
घटनामा गृहमन्त्रीको चासो
सो पेजले शिक्षकहरूलाई लगातार एक्सपोज गरिरहँदा गहमन्त्री सुधन गुरुङले घटनाका बारेमा चासो राखेको स्क्रिनशट सार्वजनिक भएको छ । जहाँ गुरुङले छात्राहरू पीडित भएको प्रमाण मागेको र कारबाहीको लागि उजुरी दर्ता गर्न सुझाव दिएको देख्न सकिन्छ ।
तीन जना शिक्षक विद्यालयबाट निलम्बन
घटना सार्वजनिक भएपछि सुकुना मावीले आफ्ना तीन जना कर्मचारीविरुद्ध कारबाही अघि बढाएको छ । सोमबार विद्यालयले सामाजिक सञ्जालमा एक विज्ञप्ति सार्वजनिक गर्दै लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक भीमप्रसाद नेपाल र बस चालक प्रदीप भट्टराईलाई निलम्बन गरिएको जानकारी दिएको हो । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले उनीहरूलाई निलम्बन गर्दै सत्य तथ्य छानबिन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको विद्यालयले जनाएको छ ।
को को परे पक्राउ ?
घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले चालक प्रदीप भट्टराई, शिक्षकहरू अबिरल मास्के र किशोरलाल गच्छादारलाई पक्राउ गरेको छ । उनीहरूलाई सोमबार बिहान पक्राउ गरिएको हो । दुर्व्यवहारमा संलग्न अन्य शिक्षकहरूमाथि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ १६:२८
