close

अब लाइसेन्सका लागि मेडिकल गर्न यातायात कार्यालय जानु नपर्ने, अनलाइन ‘डाक्टर पोर्टल’ सञ्चालनको तयारी

टेकपाना टेकपाना

साउन ४, २०८३ १२:२०

अब लाइसेन्सका लागि मेडिकल गर्न यातायात कार्यालय जानु नपर्ने, अनलाइन ‘डाक्टर पोर्टल’ सञ्चालनको तयारी

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण गराउन सेवाग्राहीहरूले यातायात कार्यालयमै धाइरहनुपर्ने वाध्यता पनि अन्त्य हुने भएको छ । सरकारले कार्यान्वयनमा ल्याएको नयाँ लाइसेन्स प्रणाली अन्तर्गत नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता भएका इजाजतप्राप्त चिकित्सकले अनलाइन पोर्टलबाटै सेवाग्राहीको स्वास्थ्य अवस्था प्रमाणित गर्न सक्ने व्यवस्था मिलाइने भएको हो ।

यातायात व्यवस्था विभागले यसअघि बायोमेट्रिक्स भेरिफिकेसन र भुक्तानीका सबै प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था मिलाइसकेको छ । तर, स्वास्थ्य परीक्षणसम्बन्धी पोर्टल पूर्ण रूपमा सञ्चालन हुन बाँकी रहेकाले केही समयका लागि सम्बन्धित यातायात कार्यालयमै जानुपर्ने अवस्था छ । 

यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको नयाँ लाइसेन्स प्रणालीको कोड विश्लेषण गर्दा सातै प्रदेशका लागि छुट्टाछुट्टै अनलाइन ‘डाक्टर पोर्टल’ तयार गरिएको फेला परेको छ । उदाहरणका लागि गण्डकी र बागमती प्रदेशका लागि क्रमशः edl-doctor.gandaki.gov.np र edl-doctor.bagmati.gov.np जस्ता वेबसाइट तयार पारिएका छन् । 

यस व्यवस्था अन्तर्गत चिकित्सकले आफ्नो विवरणमार्फत पोर्टलमा लगइन गरी सेवाग्राहीको स्वास्थ्य परीक्षण सम्बन्धी प्रतिवेदन सिधै अनलाइन प्रणालीमा अद्यावधिक (अपडेट) गर्न सक्नेछन् ।

यसबारे जानकारी दिँदै यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले नेपाल मेडिकल काउन्सिल (एनएमसी) सँगको प्रणालीगत आबद्धता (API Integration) को काम भइरहेको बताए । उनका अनुसार एनएमसीको सर्भरमा रहेका दर्तावाल चिकित्सकको विवरणलाई विभागको प्रणालीसँग जोड्नका लागि आवश्यक एपीआई प्राप्त भइसकेको छ ।

यो प्रणाली पूर्ण रूपमा जोडिएपछि सूचीकृत चिकित्सकले पोर्टलमा लगइन गरी सेवाग्राहीको स्वास्थ्य अवस्था प्रमाणित गर्न सक्नेछन् । यो व्यवस्था आगामी केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी प्राविधिक तयारी भइरहेको विभागले जनाएको छ ।

यसै सन्दर्भमा यातायात व्यवस्था विभागले सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई परिपत्र गर्दै नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेको छ । विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा जारी परिपत्र अनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह गरिएको हो ।

३२ असारमा पठाइएको उक्त परिपत्रमा मन्त्रिस्तरीय मिति २०८३/०२/१३ गतेको निर्णयानुसार पत्राचार गरिएको उल्लेख छ । परिपत्रमा हालको व्यवस्थाका कारण सेवाग्राहीले व्यहोर्नुपरेको अनावश्यक भिडभाड, अतिरिक्त आर्थिक भार र सीमित समूहको संलग्नताका कारण सिर्जना भएको सिन्डिकेट जस्ता समस्यालाई निराकरण गर्न यो कदम चालिएको स्पष्ट पारिएको छ । 

यस प्रक्रियालाई थप व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले १ साउनमा नेपाल मेडिकल काउन्सिललाई पत्राचार गर्दै मान्यता प्राप्त चिकित्सकको आधिकारिक विवरण उपलब्ध गराइदिन अनुरोध समेत गरेको थियो ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ १२:२३