close

भाइबरको मुख्य कम्पनी राकुटेन पनि आफ्नै एआई मोडेल ल्याउने तयारीमा

टेकपाना टेकपाना

मंसिर २६, २०८० १०:७

भाइबरको मुख्य कम्पनी राकुटेन पनि आफ्नै एआई मोडेल ल्याउने तयारीमा

काठमाडौं । मेसेजिङ एप भाइबरको मुख्य कम्पनी राकुटेनले चाँडै नै आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स मोडेल (एलएलएम) तयार पार्ने भएको छ । प्रमुख प्रविधि कम्पनीहरूले आफ्नै एलएलएम बनाइरहेको समयमा राकुटेन पनि याे अभियानमा मिसिएको हो । 

समाचार संस्था सीएनबीसीका अनुसार कार्य सम्पादन सुधार गर्न तथा मार्केटिङलाई २० प्रतिशतले बढाउन एआई मोडेलले सहयोग गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिरोशी मिकितानीले बताएका छन् ।

सामान्यत: कुनै पनि एआई एप्लिकेसन तयार पार्दा ठूलो डेटाबेसमा एल्गोरिदमलाई तालिम दिइने गरिन्छ । हाल राकुटेनले बैंकिङदेखि दूरसञ्चार क्षेत्रसम्बन्धी व्यवसाय सञ्चालन गरिरहेको छ । यसकारण आफ्नो एलएलएमका लागि भिन्न डेटामा तालिम दिने सीईओ मिकितानीले जनाएका छन् । 

अहिले अमेरिकी तथा चिनियाँ कम्पनीहरूले आफ्नै एलएलएम ल्याइरहेका छन् । अमेरिकामा ओपनएआई, अमेजन, गुगल तथा चीनमा बाइडु, अलिबाबा, टेन्सेन्ट आदि एआई मोडेलका लागि चर्चित छन् ।

एआई मोडेल ल्याउन जापानी प्रविधि कम्पनीहरू तुलनात्मक रूपमा पछाडि रहेको अवस्थामा राकुटेनको यो कदम महत्त्वपूर्ण हुने बताइएको छ । यद्यपि राकुटेनले बनाउने एआई मोडेलबारे थप खुलेको छैन । तर यो एआई मोडेल जापानिज भाषामा नै बन्नसक्ने आँकलन भने गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १०:११