close

अन्ततः नोटप्याडमा पनि स्पेलचेक र अटोकरेक्ट फिचर

टेकपाना टेकपाना

चैत १०, २०८० १४:५४

अन्ततः नोटप्याडमा पनि स्पेलचेक र अटोकरेक्ट फिचर

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ मा भएको नोटप्याड एपमा स्पेलचेक फिचर ल्याउने भएको छ । २०२४ को अन्त्यसम्ममा सबै प्रयोगकर्तालाई उपलब्ध गराउने गरी कम्पनीले नोटप्याडमा स्पेलचेक फिचर ल्याउन लागेको हो ।

हाल टेस्टरहरूले यस फिचरमा पहुँच पाएका छन् । यस फिचरले माइक्रोसफ्टको वर्ड र एज ब्राउजरमा भएको स्पेल चेकर जसरी काम गर्ने बताइएको छ ।

नोटप्याडमा यो फिचर उपलब्ध भएपछि गल्ती भएका शब्दमा स्वत: रातो रङ्गको अन्डरलाइन देखिने र उक्त शब्दमा क्लिक गरेर सच्याउन सकिने छ ।

त्यस्तै माइक्रोसफ्टले यसमा अटोकरेक्ट फिचर पनि उपलब्ध गराउने भएको छ । यसपछि गल्ती भएका शब्दमा बारम्बार क्लिक गरिरहनु पर्दैन । साथै नोटप्याडमा आउने स्पेल चेकरले अङ्ग्रेजी बाहेकका अन्य विभिन्न भाषालाई समेत सपोर्ट गर्ने बताइएको छ । 

यो फिचर केही प्रकारका फाइलमा डिफल्टका रुपमै लागू हुने पनि बताइएको छ । तर यसले कोडिङसँग सम्बन्धित फाइलहरूमा भने काम गर्ने छैन ।  नोटप्याडको सेटिङबाट कस्ता प्रकारका फाइलमा यो फिचर लागू गर्ने भनेर मिलाउन सकिने पनि बताइएको छ । 

विन्डोज ११ को इनबिल्ट एपका रुपमा रहेको नोटप्याडमा थपिएको यो पछिल्लो फिचर हुनेछ ।

यसअघि गत डिसेम्बरमा माइक्रोसफ्टले यस एपमा क्यारेक्टर काउन्ट (शब्द गिन्ती) गर्ने फिचरको घोषणा गरेको थियो । त्यसको केही समयपछि नै कम्पनीले अटोसेभ फिचर पनि उपलब्ध गराएको थियो । हाल नोटप्याडमा डार्क थिम, ट्याब, कोपाइलट एआई इन्टिग्रेसन, भर्चुअल फिडजेट स्निपर लगायतका फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८० १५:७