काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याकरको नियन्त्रणमा पुगेको छ । सामुदायिक विद्यालयका शिक्षकहरूको तथ्याङ्क रहने यस कार्यालयको वेबसाइट अनधिकृत पक्षको पहुँचमा पुगेको हो ।
यसअघि वेबसाइट ह्याक गरी अनलाइन जुवा ‘पास्कल फोडी’ को प्रचारप्रसार भइरहेकोमा अहिले पूर्ण रूपमा वेबसाइट डाउन छ । वेबसाइट खोल्दा ‘दिस साइट कान्ट बी रिच्ड’ भन्ने सन्देश देखिन्छ ।
साइबर सुरक्षा क्षेत्रमा काम गर्दै आएका एक अनुसन्धानकर्मीले ‘फिड्स एक्सप्लोइट’ नामको इन्डोनेसियाली ह्याकर समूहले यो वेबसाइट ह्याक गरेको हुन सक्ने अनुमान गरे । यो समूहले केही समयअघि इजरायलको समर्थन गरेको भन्दै नेपालका सरकारी कार्यालयका वेबसाइटमाथि आक्रमण गर्दै आएको छ ।