close

विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा फाइबर काटिदिएपछि एनसेलको सेवा अवरुद्ध

टेकपाना टेकपाना

साउन २८, २०८१ १७:१२

विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा फाइबर काटिदिएपछि एनसेलको सेवा अवरुद्ध

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा अवरुद्ध भएको छ । पोखरा र दमौली बीचमा नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा अप्टिकल फाइबर काटिदिएपछि कम्पनीको सेवा आंशिक रूपमा अवरुद्ध भएको हो ।

सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने एनसेलले जनाएको छ । यसबाट एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा फोन सम्पर्क हुन सकिरहेको छैन । साथै कम्पनीको मोबाइल एप समेत चल्न सकिरहेको छैन ।  

तर एनसेलबाट नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा भने सम्पर्क भइरहेको छ । नेटवर्कको समस्या मधेस प्रदेश बाहेक देशव्यापी रूपमा देखिएको छ । पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई जोड्ने अप्टिकल फाइबर काटिएपछि देशव्यापी रूपमा कम्पनीको सेवा प्रभावित भएको स्रोतले जनाएको छ । 

यसैबिच एनसेलले एक सूचना जारी गर्दै आफ्नो सेवाहरूमा प्राविधिक समस्या आएको जानकारी समेत गराएको छ । “यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,” कम्पनीले भनेको छ, “अवरुद्ध सेवा यथाशीघ्र नियमित गर्न तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ ।”

अपडेटः एनसेलले अर्को सूचना राख्दै अप्टिकल फाइबर काटिएर अवरुद्ध भएका आफ्ना सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालनमा आएको जानकारी दिएको छ ।  

पछिल्लो अध्यावधिक: साउन २८, २०८१ १८:५३