close

रञ्जु दर्शनाको प्रश्न- ‘ह्वाट्सएप ह्याक गरी लुटिएको पैसा कहाँ गइरहेको छ, कस्तो गिरोह हो यो ?’

टेकपाना टेकपाना

जेठ २९, २०८३ १३:४५

रञ्जु दर्शनाको प्रश्न- ‘ह्वाट्सएप ह्याक गरी लुटिएको पैसा कहाँ गइरहेको छ, कस्तो गिरोह हो यो ?’

काठमाडौँ । प्रतिनिधि सभा सदस्य रञ्जु दर्शनाले पछिल्लो समय बढ्दै गएको साइबर अपराध र यसबाट सर्वसाधारणले व्यहोर्नुपरेको आर्थिक क्षतिको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दर्शनाले ह्वाट्सएप अकाउन्ट ह्याक गरी नजिकका मानिसहरूसँग पैसा माग्ने र बैंक खाताबाटै लाखौँ रुपैयाँ लुटिने घटना बढेको बताइन् ।

उनले बुद्धनगरका स्थानीय तारा पोखरेल, मोना पोखरेल, सुधीर मान प्रधान लगायतका व्यक्ति साइबर ठगीको सिकार भएको उदाहरण प्रस्तुत गरिन् । सुधीर मान प्रधानको सन्दर्भमा उनले भनिन्, “ह्वाट्सएपमा आईपीएस एक्टिभेट गर्न आएको मेसेजमा क्लिक गरेपछि उनको बैंक अकाउन्टबाट पटकपटक गरी १० लाख रुपैयाँ लुटियो ।”

सांसद दर्शनाले यस्ता गिरोहहरूको पहिचान र कारबाहीमा सरकारको तदारुकता नपुगेको भन्दै प्रश्न गरिन् । “लुटिएको यो पैसा कुन ठाउँमा, कहाँ गइरहेको छ ? कस्तो गिरोह हो यो ? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् ।

साइबर अपराध नियन्त्रणका लागि राज्यका संयन्त्रहरू कमजोर रहेको औँल्याउँदै उनले नेपाल प्रहरीको साइबर ब्युरोलाई थप स्रोत–साधनयुक्त बनाउन माग गरिन् । उनले भनिन्, “हाम्रो साइबर ब्युरोलाई अलिकति सशक्त र सुदृढ गर्नुपर्ने देख्दछु । साइबर ब्युरोसँग सीमित स्रोत तर असीमित मुद्दा भएका कारण धेरै कुरा एकैचोटि समाधान हुन सकिरहेको छैन ।”

उनले ठगीमा संलग्नहरूले नेपालकै बैंक खाताको क्यूआर कोड प्रयोग गरिरहेको तथ्य सुनाउँदै बैंकहरूको जिम्मेवारीमाथि पनि प्रश्न उठाइन् । यस्ता उजुरी आउनासाथ बैंकहरूले तत्काल शंकास्पद खाता रोक्का गर्नुपर्ने उनको माग छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १३:४५