काठमाडौं । एलन मस्क र डाेनाल्ड ट्रम्पबीच सामाजिक सञ्जाल एक्सको स्पेसमा भएको अन्तर्वार्तामाथि साइबर आक्रमण भएको छ । सोमबार साँझ एक्सको स्पेसमा रहेको अन्तर्वार्तामा साइबर आक्रमण भएको हो ।
एक्सका मालिकसमेत रहेका मस्क र अमेरिकाको पूर्व राष्ट्रपति एवं भावी राष्ट्रपतिका उम्मेदवार ट्रम्पबीच प्यासिफिक समय अनुसार अपरान्ह ५ बजे अन्तर्वार्ता हुने तय थियो । तर, त्यस समयमा स्पेसमा साइबर आक्रमण हुँदा अन्तर्वार्ता नदेखिने समस्या आयो ।
एक्समा रहेको सो स्पेसमा जोइन हुन खोज्दा ‘द स्पेस इज नट अभाइलेभल’ भन्ने मेसेज देखिएको थियो ।
प्रतिबन्धपछि ट्रम्पलाई एक्समा फिर्ता ल्याउने र उनको चुनावी अभियानलाई पनि सहयोग पुर्याउने उद्देश्यले अन्तर्वार्ता गरिएको थियो । साइबर आक्रमण भएको झन्डै ४२ मिनेटपछि अन्तर्वार्ता सुरु भएको बताइएको छ ।
मङ्गलबार मस्कले एक्समा पोस्ट राख्दै डीडोस आक्रमण भएको उल्लेख गरेका छन् । डीडोस आक्रमणकै कारण एक्सको स्पेस क्रयाश भएको उनको भनाइ छ ।
यसअघि उक्त प्लेटफर्ममा एउटा स्पेसमा ८० लाख स्रोता हुनेगरी परीक्षण गरेको मस्कले बताएका छन् ।
डीडोस आक्रमण भन्नाले कुनै पनि प्लेटफर्ममा बट अकाउन्टको बाढी लगाई ट्राफिक बढी बनाएर सेवा अवरुद्ध पार्ने गतिविधि हो । ट्रम्पको विपक्षमा हुने व्यक्तिले यस्तो आक्रमण गरेको हुन सक्ने मस्कको आशङ्का छ ।
यसअघि मे २०२३ मा पनि अस्वाभाविक ट्राफिक आएपछि एक्सको स्पेस डाउन भएको थियो । त्यतिबेला भेन्चर क्यापिटालिस्ट डेभिड स्याक्ससँग मस्कले अन्तर्वार्ता गरेका थिए ।
सन् २०२१ मा ट्रम्पलाई एक्ससहितका प्रमुख सामाजिक सञ्जालले प्रतिबन्ध लगाएका थिए । एक्सको स्वामित्व एलन मस्कले लिएपछि ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा भएको थियो ।
प्रतिबन्ध फुकुवापछि ट्रम्प स्वयंले पहिलो पटक सोमबार एक्समा पोस्ट राखेका थिए । उनले मस्क र आफूबीच भएको अन्तर्वार्ता शेयर गरेका थिए ।
विगत तीन वर्षदेखि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथमा पोस्ट राख्दै आएका छन् ।