काठमाडौं । नेपाली बजारमा हालै रक ब्राण्डले आफ्नो ‘भाइब’ वायरलेस हेडफोन उपलब्ध गराएको छ । ग्राहकले दराज अनलाइनमार्फत चार हजार रुपैयाँ तिरेर यो हेडफोन खरिद गर्न सक्छन् । यसमा कम्पनीले छ महिनाको ब्रान्ड वारेन्टी उपलब्ध गराएको छ ।
हेडफोन हेर्दा राम्रो, प्रिमियम, कडा प्लास्टिक र लेदर फिनिस देख्न सकिन्छ ।
हेडफोनलाई आफू अनुसार मिलाउन सकिन्छ । तपाईंले आफूलाई चाहिने लम्बाइ अनुसार मिलाएर लगाउन सक्नुहुन्छ । त्यस्तै यो फोल्डेबल पनि छ । जसले गर्दा कतै जाँदा बोकेर हिँड्न सजिलो हुन्छ ।
लामो समयसम्म प्रयोग गर्दा पनि मलाई त्यस्तो असहज भएन । किनभने यसको ‘इयरकप्स’ साँच्चै नै कान नदु:खाउने खालको छ ।
हेडफोनको तौल २५० ग्राम मात्र छ । यसको दायाँ भागमा पावर बटन, भोल्युम कन्ट्रोल बटन दिइएको छ । तपाईंलाई बानी नपरुन्जेल भोल्युम कन्ट्रोल गर्न अलि अफ्ठ्यारो लाग्न सक्छ किनभने बीचको पावर बटनले गर्दा अलि अलि झुकिन्छ ।
त्यसकै तल अक्स (AUX) केबल जोड्न, माइक ज्याक र इन्डिकेटर लाइट दिइएको छ । यसको अर्थ यस हेडफोनलाई वायरलेस र वायर्ड दुवै तरिकाले प्रयोग गर्न सकिन्छ । एएनसी अन/अफ गर्ने विकल्प पनि त्यही भागमा छ । बायाँ भागमा भने टाइप-सी चार्जिङ पोर्ट र एउटा माइक दिइएको छ ।
तपाईंले ‘Vibe’ नामबाट याे हेडफोनलाई ब्लुटुथमा कनेक्ट गर्न सक्नुहुन्छ । यति चर्चा गर्दा यसको गुणस्तर कस्तो होला भन्ने तपाईंलाई लाग्न सक्ला । अब यहीबारे चर्चा गरौं:
हेडफोनमा ४० एमएमको ड्राइभर प्रयोग गरिएको छ ।
मैले यसमा केही गीत सुनेँ । बेस र अकस्टिक भएको गीत सुन्दा बेस बढी सुनिन्छ । त्यस्तै मिड र हाइ साउन्ड पनि सन्तुलन भएको सुनिन्छ । अब आवाज अस्पष्ट सुनिने भन्ने नै भएन ।
यसमा अति राम्रो सुनिन्छ भन्ने पनि अपेक्षा भने राख्न सकिन्छ । तर मूल्य अनुसार गुणस्तरमा भने कुनै सम्झौता गरिएको छैन । यद्यपि राम्रो बनाउन सकिने ठाउँ भने रहेका छन् ।
त्यस्तै अकस्टिक म्युजिक सुन्दा पनि इन्स्ट्रुमेन्टको आवाज स्पष्ट सुनिन्छ । मेरो अनुभवमा चाहिँ तपाईंलाई बेस अलि बढी मनपर्छ भने एएनसी अन गरेर सङ्गीत सुन्दा अझ बढी राम्रो हुन सक्छ । तर तपाईंलाई आवाज अलि सुन्न मन छ भने अक्स केवल प्रयोग गर्दा राम्रो अनुभव पाउन सक्नुहुन्छ ।
हेडफोनमा दुईवटा नोइज क्यान्सिलेसन माइक दिइएको छ । तर मलाई एएनसी अन गर्दा वा अफ गर्दा त्यस्तो खास भारी फरक महुसुस भएन । सामान्य खालका आवाज मात्र यसले रोक्न सक्छ । तर यो अन गरेर गीत सुन्दा राम्रो अनुभव पाउन सक्नुहुन्छ ।
अडिओ लिकको कुरा गर्दा भने लगभग ८० प्रतिशत भोल्युम पुगेपछि अडिओ लिक हुन्छ । हेडफोन ब्लुटुथ भर्सन ५.३ मा आधारित छ भने यसले दिने रेञ्ज पनि चित्तबुझ्दो छ । तपाईं कलमा बोल्दै एउटादेखि अर्को कोठामा जान सक्नुहुन्छ ।
यसरी करिब १० मिटरसम्मको ट्रान्समिसन रेञ्ज पाउन सकिन्छ ।
तपाईंले थाहा पाइहाल्नुभयो यसमा ह्यान्डस फ्री कल सपोर्ट पनि उपलब्ध छ । साथै हेडफोनबाट नै कल उठाउन, काट्न सकिन्छ ।
तपाईंले यसमा ४०० एमएएच क्षमताको ब्याट्री पाउन सक्नुहुन्छ । चार्जिङको लागि यसमा टाइप-सी दिइएको छ । जसबाट यसलाई फुल चार्ज गर्न करिब साढे दुई घण्टा लाग्ने गर्छ ।
मैले यो हेडफोन प्राय: गीत सुन्न र अडिओ सुन्दै गर्नुपर्ने कामको लागि प्रयोग गरेकी थिएँ । त्यसक्रममा मलाई खास त्यस्तो केही तनाव भएन । साथीहरूले गेम खेल्दा, भिडिओ एडिट गर्दा पनि प्रयोग गर्नु भएको थियो । वायरलेस तरिकाले हेडफोन प्रयोग गर्दा गेम खेल्दा केही ल्याग महुसुस हुने रहेछ । जसमा गन फायर गर्दा आवाज अलि ढिलो आउने महुसुस हुन्छ । अनि एडिटिङमा बिट अनुसार काम गर्न अलि असहज महसुस हुन्छ । तर अक्स केवलमार्फत भने त्यस्तो कुनै पनि समस्या आउँदैन ।
यस हेडफोनको नराम्रो पक्ष भनेको यसमा एएनसी अन र अफ गर्नुमा खासै भिन्नता छैन । भन्दै पर्दा यस हेडफोनमा इन्ट्री लेभलको एएनसी दिइएको छ । अनि अक्स केवल जोड्ने बित्तिकै एएनसी फङ्सनले काम गर्दैन । यसमा कम्पनीले सुधार गर्नु पर्ने देखिन्छ ।
त्यस्तै भोल्युम अप/डाउन गर्दा अलि झुक्किन सकिन्छ । बटनको फिनिसिङ अझै राम्रो हुन सक्ने ठाउँ थियो । यसका आधारमा यो हेडफोनको मूल्य चार हजार अलि बढी भए जस्तो लाग्छ ।
खैर, गीत सुन्न, भिडिओ एडिट गर्न, मुभी हेर्न अन्य कुनै प्रयोजनको लागि ठीकै खालको हेडफोन किन्ने सोच्दै हुनुहुन्छ भने यो एउटा राम्रो विकल्प भने हुन सक्छ ।