close

ओप्पोका मोबाइलमा पनि गुगलका एआई फिचर आउने

टेकपाना टेकपाना

मंसिर ६, २०८१ १६:१

ओप्पोका मोबाइलमा पनि गुगलका एआई फिचर आउने

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले गुगलका स्तरीय एआई फिचर जेमिनाई र सर्कल टु सर्च आफ्ना स्मार्टफोनमा उपलब्ध गराउने भएको छ । ओप्पोको नयाँ अपरेटिङ सिस्टम कलरओएस १५ सँगै कम्पनीले एआई फिचर उपलब्ध गराउने भएको हो । 

“कलर ओएससँगै हाम्रो मुख्य लक्ष्य भनेको एआईको सहायताले फोन सजिलै प्रयोग गर्न सकिने बनाउनु हो,” ओप्पोका एआई प्रोडक्ट जनरल म्यानेजर निकोल ह्याङले भनेका छन्, “जेमिनाई १.५ प्रो र १.५ फ्ल्याशसँग सहकार्य गरेर हामीले भाषा, असिस्टेन्स र सर्चलाई स्तरीय बनाउने प्रयत्न गरेका छौं ।”

यससँगै कलरओएस सपोर्ट गर्ने ओप्पो फोनमा सर्कल टु सर्च प्रयोग गर्न सकिनेछ । यो फिचर सबैभन्दा पहिले सामसङको ग्यालेक्सी एस २४ सिरिजमा उपलब्ध भएको थियो । जुनसुकै एप, वेबसाइटमा देखिएको फोटो गुगल लेन्सबाट सर्च गर्नु परे ‘सर्कल टु सर्च’ फिचर प्रयोग गर्न सकिन्छ । 

त्यस्तै कलर ओएस १५ मा गुगलको जेमिनाई एपको एड्भान्स भर्सन पनि प्रयोग गर्न सकिनेछ । च्याट गर्न र एआई असिस्टेन्टका रूपमा प्रयोग गर्न जेमिनाईको सहयोग लिन सकिन्छ । 

गुगलका एड्भान्स एआई फिचर समावेश भएको कलर ओएस पहिलो पटक फाइन्ड एक्स ८ सिरिजमा उपलब्ध हुने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ १६:२