close

ब्लुटुथ ६.० भर्सनमा के छ त्यस्तो ?

टेकपाना टेकपाना

मंसिर ९, २०८१ १३:५

ब्लुटुथ ६.० भर्सनमा के छ त्यस्तो ?

काठमाडौं । आठ वर्षपछि ​हालै ब्लुटुथको नयाँ भर्सन अर्थात् ब्लुटुथ ६.० सार्वजनिक भएको छ । यसमा रोचक विशेषता समावेश गरिएका छन्, जसले हाम्रा डिभाइसहरू कनेक्ट गर्ने तथा अन्तरक्रिया गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छन् ।

नयाँ भर्सनमा उपलब्ध विशेषतामध्ये एक हो, ‘च्यानल साउन्डिङ’ । हराएका डिभाइस फेला पार्ने काममा समेत ब्लुटुथ प्रयोग हुन्छ । यस प्रक्रियालाई अझ सटीक बनाउन च्यानल साउन्डिङ लागू गरिन्छ । यसले पनि डिभाइस पत्ता लगाउन दुई नयाँ प्रविधि प्रयोग गर्छ ।

पहिलो प्रविधि हो, ‘राउन्ड ट्रिप टाइम’ । यसले एउटा डिभाइसबाट निस्किएको सिग्नल अर्को डिभाइसमा पुगेर फर्किन लागेको समयको सटीक मापन गर्छ । अर्थात् एउटा डिभाइसबाट निस्किएको सिग्नल अर्को डिभाइसमा ठोक्किएर पुनः पहिलेकै ठाउँमा आउन कति समय लाग्छ भन्ने मापन गर्छ । यसबाट हराएको डिभाइस कति टाढा छ भन्ने थाहा पाउन सकिन्छ । 

दोस्रो प्रविधि हो, पीबीआर अर्थात् फेज बेस्ड रेन्जिङ । यसले दुई डिभाइसबीच यात्रा गर्ने तरङ्गको फेज (Phase) मा हुने भिन्नता पत्ता लगाउन मद्दत गर्छ । ब्लुटुथ भर्सन ६.० ले दुवै प्रविधि प्रयोग गरी सटीक रूपमा हराएको डिभाइस कति टाढा छ भन्ने पत्ता लगाउन सक्छ । अघिल्ला ब्लुटुथ भर्सनहरूको तुलनामा यो बढी सटीक मानिन्छ । 

च्यानल साउन्डिङले तपाईंलाई डिभाइसको स्थान केही सेन्टिमिटरको दायराभित्रै सटीक रूपमा पत्ता लगाउन सक्छ । तर, यसलाई अनुकूल परिस्थितिमा प्रयोग गर्नुपर्ने हुन्छ ।

यो प्रविधि एप्पलले आफ्ना एयरट्यागमा प्रयोग गर्ने अल्ट्रा वाइडब्यान्ड प्रविधिसँग मिल्दोजुल्दो छ । तर, ब्लुटुथ एक व्यापक रूपमा प्रयोग हुने ओपन स्ट्यान्डर्ड भएकाले ब्लुटुथ ६.० अझ सर्वसुलभ हुन सक्छ भन्ने अपेक्षा गरिएको छ । यसपछि एप्पल प्रयोगकर्ताले मात्र अनुभव गर्न पाएको फिचर सबै स्मार्टफोन प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।

च्यानल साउन्डिङको उत्कृष्ट ‘डिस्टेन्स सेन्सेटिभिटी’ले भौतिक सुरक्षामा पनि महत्त्वपूर्ण प्रभाव पार्छ । यसले ब्लुटुथद्वारा सञ्चालित स्मार्ट लकजस्ता सिस्टम आधिकारिक व्यक्तिले मात्र सञ्चालन गरिरहेको छ भन्ने सुनिश्चित गर्न सक्छ । यस्तोमा आधिकारिक व्यक्ति आफैं लकको नजिक हुनुपर्ने हुन्छ । त्यो बेला मात्र उक्त लक सञ्चालन गर्न सकिन्छ । 

यसले अर्को कोठामा बसेर कुनै अर्को चतुर व्यक्तिले लक खोल्ने प्रयास गर्न सक्ने सम्भावनालाई कम गर्छ । तर, यदि तपाईं ती व्यक्तिमा पर्नुहुन्छ, जो कहिल्यै केही हराउनुहुन्न भने यो विशेषता तपाईंका लागि त्यति उपयोगी नहुन सक्छ ।

ब्लुटुथ ६.० का फिचर यतिमा मात्र सीमित छैनन् । यस भर्सनमा ‘विज्ञापन’सँग सम्बन्धित फिचर छन् । तर, हामीले देख्ने प्रायः विज्ञापनसँग ती फिचरको केही सम्बन्ध छैन । त्यसको सट्टा यस फिचरले ब्लुटुथ डिभाइसले खपत गर्ने अनावश्यक ब्याट्रीलाई कम गर्न मद्दत गर्छ ।

यसलाई ‘डिसिजन बेस्ड एड्भर्टाइजिङ फिल्टरिङ’ नाम दिइएको छ । यसले ब्लुटुथ लो इनर्जी (बीएलई)सँग काम गर्छ । बीएलई प्रायः डिभाइसले प्रयोग गरेका हुन्छन् । यसले जुन परियोजनाका लागि ब्लुटुथ डिभाइस कनेक्ट गर्नुपर्ने हो, त्यसैका लागि कनेक्ट गर्छ । 

मानौं, तपाईंको फोन (स्क्यानिङ गर्ने डिभाइस) र एउटा स्मार्टवाच (ब्लुटुथ एलई डिभाइस) छ । स्मार्टवाचले ब्लुटुथ मार्फत डेटा पठाउँछ र यो डेटा प्राथमिक र दोस्रो च्यानलहरूमा केही प्याकेटका रूपमा पठाइन्छ ।

अब ब्लुटुथ ६.० को यस फिचरले तपाईंको फोनलाई कति च्यानलमा स्मार्टवाचबाट अतिरिक्त जानकारी खोज्नुपर्छ भन्ने विषयको निर्णय लिन मद्दत गर्छ । फोनले स्मार्टवाचबाट प्राप्त प्राइमरी च्यानलको प्याकेटको आधारमा निर्णय लिन्छ ।

उदाहरणका लागि, यदि फोनले प्राइमरी च्यानलमा स्मार्टवाचबाट महत्त्वपूर्ण जानकारी पायो भने यसले दोस्रो च्यानलमा थप खोजी गर्ने निर्णय गर्न सक्छ । तर यदि प्राइमरी च्यानलमा प्राप्त जानकारी महत्त्वपूर्ण छैन भने फोनले दोस्रो च्यानलमा समय र ब्याट्री बर्बाद गर्दैन । यसरी स्क्यानिङ छिटो र प्रभावकारी हुन्छ ।

त्यस्तै अर्को एड्भर्टाइजिङ फिचर हो, ‘मनिटरिङ एड्भर्टाइजर्स’ । ब्लुटुथ डिभाइसले जुन डिभाइस कनेक्ट गर्न चाहेको छ, त्यो नजिकको दायराभित्र छ कि छैन भन्ने थाहा पाउन सक्दैन । यसको अर्थ एक डिभाइसले कनेक्ट गर्न चाहेको डिभाइस खोज्न बढी ऊर्जा खपत गर्न सक्छ । भलै त्यो दायरा बाहिर नै किन नहोस् ।

जस्तै तपाईंले आफ्नो ब्लुटुथ स्पिकर घरमै छोडेर कतै जानुभयो । ​ब्लुटुथ डिभाइस रेन्ज भन्दा बाहिर गइसकेपछि ब्लुटुथ ६.० को मनिटरिङ एड्भर्टाइजर्सले उक्त डिभाइसलाई स्क्यान गर्ने झन्झट गर्दैन । तपाईं आफ्नो फोन ल्याएर पुनः घरमा आउनु भयो भने त्यतिबेला उक्त डिभाइस रेन्जभित्र पर्छ । र, फोनको ६.० ब्लुटुथले स्वतः कनेक्ट गर्छ । 

त्यो ठाउँमा पनि तपाईंको फोनको ब्लुटुथले उक्त डिभाइस खोजी गरिरहेको हुन्छ । यसले गर्दा बढी ब्याट्री खपत हुन्छ ।

ब्लुटुथ ६.० ले अडियो ल्याटेन्सीमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । खासगरी डेटा ट्रान्समिसनको सन्दर्भमा यसले क्वालिटी नघटाई डेटा ट्रान्समिट गर्न मद्दत गर्ने बताइएको छ । अहिले ब्लुटुथ ५.३ भर्सन सबैभन्दा बढी प्रयोग हुन्छ । अब ग्याजेट निर्माता कम्पनीले नयाँ प्रडक्टमा ब्लुटुथ भर्सन ६.० उपलब्ध गराए हामी माथि उल्लेख गरिएका विभिन्न फिचर प्रयोग गर्न पाउनेछौं ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८१ १३:३४