प्र्याङ्कका नाममा डेलिभरी ब्वाईमाथि दुर्व्यवहार, भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा आक्रोश
असार १२, २०८३ १४:३३
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एक युवकमाथि डेलिभरी गर्ने क्रममा गरिएको प्र्याङ्क (मजाक) को भिडिओ विवादमा परेको छ । डेलिभरीका लागि गएका ती युवकलाई उनको पहिचान र रूपरङका आधारमा गालीगलौज, अपमान र दुर्व्यवहार गरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् । यसलाई सामान्य मनोरञ्जन वा प्र्याङ्क नभई सिधै दुर्व्यवहार भएको ठहर गर्दै दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग समेत उठेको छ ।
के छ भाइरल भिडिओमा ?
भाइरल भिडिओमा एक सुनसान कच्ची सडकमा चार जना युवकले केही सामान अर्डर गरेको देखिन्छ । अर्डर पुर्याउन नीलो रङको यामाहा मोटरसाइकलमा एक युवक आइपुग्छन् । ती युवक परबाट आउँदै गर्दा सामान कुरिरहेका मध्ये एक युवकले भन्छन्, “एउटा सामान भन्दा अर्को ल्याउला जस्तो छ । मान्छे हेर्दा नै चोर जस्तो छ” ।
सामान लिने क्रममा ती युवकहरूले डेलिभरी ब्वाईलाई ‘घर कहाँ हो ?’ भनेर सोध्छन् । डेलिभरी ब्वाईले ‘तराई’ भनेर जवाफ दिन्छन् र डेलिभरीका लागि ल्याएको टेम्पर ग्लास निकालेर एक युवकलाई दिन्छन् । उक्त सामानको मूल्य ३५ सय रुपैयाँ भएको बताउँछन् । त्यसपछि एक्कासि युवाहरू ‘मबाट ३५ सय लग्ने’ भन्दै थर्काउन थाल्छन् ।
त्यसपछि युवाहरू झोक्किँदै आफूहरूलाई ठग्न खोजेको भनेर थर्काउँछन् । डेलिभरी ब्याग समाउँदै फ्याकिदिऊँ धम्की समेत दिन्छन् । डेलिभरी ब्याग अड्याउन बाइकमा राखिएको फलाममा डेलिभरी ब्वाईलाई राखेर भीरबाट फ्याँकिदिने भन्दै धम्क्याउन थाल्छन् । बरु उल्टै पाँच हजार डेलिभरी ब्वाईसँग माग्न थाल्छन् ।
त्यसपछि डराउँदै डेलिभरी ब्वाईले हात जोडेर माफी माग्न सुरु गर्छन् । तर अनुहार हेर्दै ‘चोर’ जस्तो देखिएको भन्दै ती युवकहरू होच्याउन थाल्छन् । ‘चोर त हैनस्’ भनेर सोध्छन् । डेलिभरी ब्वाईले भन्छन्, “सामानको पैसा दिनुस् भन्दा ‘चोर’ भन्नु हुन्छ मलाई ।” उनीहरू देख्दा नै चोर जस्तो भएको बताउँछन् ।
त्यसपछि डेलिभरी ब्वाईले डराउँदै ब्याग बोक्छन् । त्यसपछि एक युवकले डेलिभरी ब्वाईको सर्टमा समाएर उल्टै पैसा माग्छन् । युवकले हात जोड्दै आफूसँग पैसा नभएको बताउँछन् । सामानको पैसा बरु आफुलाई नचाहिने भन्दै छाडिदिन आग्रह गर्छन । यस्तोमा एक युवकले टेम्पर ग्लासतर्फ देखाउँदै डेलिभरी ब्वाईलाई भन्छन्, “यो त तलाई यहाँसम्म बोलाउने बहाना मात्र हो ।” त्यसपछि उचालेर पछार्न खोज्छन् ।
त्यहाँबाट उम्किएर डेलिभरी ब्वाई सडकमा भाग्न थाल्छन् । पछि पछि ती युवकहरू दौडिन्छन् । यसरी लखेट्ने र भाग्ने क्रममा लखेटिरहँदा “ओ भाइ रोक्न यार” भनिरहेका हुन्छन् । भागेर केही पर पुगेपछि अघि डेलिभरी ब्वाईलाई उचालेर पछार्न खोज्ने युवक सडकमा जमेको पानीमा पछारिन्छन् । जसकारण उनको घुँडामा चोट लाग्छ ।
‘Thug Life Janakpur’ नामको फेसबुक पेजले उक्त भिडिओ सेयर गर्दै यसलाई मधेसी पहिचानमाथिको प्रहार र अपमानजनक व्यवहारको रूपमा टिप्पणी गरेको छ । पेजले लेखेको छ, “संविधानले समान अधिकार दिएको देशमा अझै पनि पहिचानकै आधारमा यस्तो व्यवहार हुनु लज्जास्पद छ । उसको दोष के मधेसी हुनु मात्रै हो ?”
त्यस्तै, सन्तोष यादव नामका एक प्रयोगकर्ताले लेखेका छन्, “इमानदारीपूर्वक पसिना बगाउने श्रमजीवीमाथि 'चोर जस्तो अनुहार' भन्दै नश्लीय दुर्व्यवहार गरिनु घोर निन्दनीय र अक्षम्य छ। राज्य संयन्त्र कहाँ छ ?” धेरैले यो भिडिओलाई लिएर नेपाल प्रहरीलाई मेन्सन गर्दै कानुनी कारबाहीको माग गरेका छन् । भ्युज र सस्तो लोकप्रियताका लागि कुनै समुदायलाई लक्षित गरी यस्ता गतिविधि गर्दा सामाजिक सद्भाव बिग्रन सक्ने भन्दै प्रयोगकर्ताहरूले सचेत गराएका छन् ।
सामाजिक सञ्जालमा विरोध
‘Thug Life Janakpur’ नामक फेसबुक पेजले उक्त भिडिओ शेयर गर्दै यसलाई मधेसी पहिचानमाथिको प्रहार र घोर अपमानजनक व्यवहारका रूपमा टिप्पणी गरेको छ । पेजले लेखेको छ:
“संविधानले समान अधिकार दिएको देशमा अझै पनि पहिचानकै आधारमा यस्तो व्यवहार हुनु लज्जास्पद छ। उसको दोष के मधेसी हुनु मात्रै हो ?”
त्यस्तै, सन्तोष यादव नामका एक प्रयोगकर्ताले लेखेका छन्:
“इमानदारीपूर्वक पसिना बगाउने श्रमजीवीमाथि 'चोर जस्तो अनुहार' भन्दै नश्लीय दुर्व्यवहार गरिनु घोर निन्दनीय र अक्षम्य छ। राज्य संयन्त्र कहाँ छ?”
धेरैजसो प्रयोगकर्ताले यो भिडिओमा नेपाल प्रहरीलाई ट्याग वा मेन्सन गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । केवल भ्युज र सस्तो लोकप्रियताका लागि कुनै निश्चित समुदायलाई लक्षित गरी यस्ता हर्कत गर्दा सामाजिक सद्भाव बिग्रन सक्ने भन्दै प्रयोगकर्ताहरूले सचेत गराएका छन् ।
के हो भिडिओको वास्तविकता ?
खोजतलास गर्दा यो भिडिओ ‘Jiban Oli’ नामक युट्युब च्यानलमा २४ जुन २०२६ मा अपलोड भएको देखिन्छ । ४ मिनेट २४ सेकेन्ड लामो उक्त भिडिओको सुरुमा प्रस्तोताहरूले यसलाई ‘प्र्याङ्क’ भन्दै सामान अर्डर गरेको देखाएका छन् । भिडिओको अन्त्यमा, डेलिभरी ब्वाई डराएर भागेपछि स्थानीय बासिन्दा जम्मा हुन्छन् र प्रस्तोताहरूले यो केवल एउटा मजाक (प्र्याङ्क) मात्र भएको स्पष्टीकरण दिन्छन् ।
पीडित युवकले भने आफूले त्यसलाई वास्तविक नै सम्झेर निकै डराएको उल्लेख गर्दै भविष्यमा कसैमाथि पनि यस्तो डरलाग्दो प्र्याङ्क नगर्न आग्रह गरेका छन्। भिडिओको अन्त्यमा प्र्याङ्क गर्ने टोलीले डेलिभरी ब्वाईसँग माफी मागेको, सामानको रकम भुक्तानी गरेको र डेलिभरी ब्वाईले भिडिओ सामाजिक सञ्जालमा राख्न अनुमति दिएको दृश्य देखाइएको छ ।
भिडिओको अन्त्यमा माफी मागिएको र सहमति भएको देखाइए पनि सामाजिक सञ्जालमा यसको विरोध थामिएको छैन । प्रयोगकर्ताहरूले प्र्याङ्कका नाममा कसैलाई गम्भीर मानसिक तनाव दिने र जातीय वा क्षेत्रीय पहिचानका आधारमा मानमर्दन गर्ने कार्यलाई कुनै पनि हालतमा कन्टेन्ट वा मनोरञ्जन मान्न नसकिने तर्क गरेका छन् ।
धेरैले यस्ता च्यानलहरूलाई सामूहिक रूपमा रिपोर्ट गर्न आह्वान गरेका छन् । यस्ता संवेदनशील विषयमा गरिने दुर्व्यवहार मनोरञ्जन नभई सामाजिक अपराध भएको भन्दै प्रहरीले यसमा कडा कदम चाल्नुपर्ने माग जनस्तरबाट भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८३ २०:२७
