प्र्याङ्कका नाममा दुर्व्यवहार गर्नेहरूलाई खोज्दै प्रहरी, गृहमन्त्री भन्छन्- ‘हदैसम्मको कारबाही हुन्छ’
असार १२, २०८३ १६:५४
काठमाडौं । प्र्याङ्कको नाममा डेलिभरी ब्वाईमाथि दुर्व्यवहार गरिएको भिडिओ भाइरल भएपछि गृहमन्त्री सुधन गुरुङले संलग्नहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले यस्तो हर्कत गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न निर्देशन दिइसकेको जानकारी गराएका हुन् ।
‘follownepaltimes’ नामक इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको उक्त भिडिओमा कमेन्ट गर्दै उनले लेखेका छन्, “निर्देशन दिइसकेको छ । यस्तो किसिमको दुर्व्यवहार गर्ने र प्र्याङ्क गर्नेहरूलाई हदैसम्मको कारबाही हुन्छ ।”
‘Jiban Oli’ नामक युट्युब च्यानलमा २४ जुन २०२६ मा सार्वजनिक गरिएको ४ मिनेट २४ सेकेन्ड लामो भिडिओ चार जना युवाहरूले टेम्पर ग्लास अर्डर गरी सामान डेलिभरी गर्न आएका युवकमाथि अभद्र व्यवहार गरेको देखिन्छ ।

उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै सर्वसाधारणले प्र्याङ्कका नाममा कसैलाई गम्भीर मानसिक तनाव दिने र जातीय वा क्षेत्रीय पहिचानका आधारमा मानमर्दन गर्ने कार्यलाई कुनै पनि हालतमा कन्टेन्ट वा मनोरञ्जन मान्न नसकिने भन्दै आलोचना गरेका छन् । दुर्व्यवहारलाई मनोरञ्जनको रूपमा व्याख्या गर्न नहुने र संलग्नहरूमाथि कडा कदम चाल्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ ।
उक्त घटना रुकुम पश्चिममा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तर, जिल्लाको ठ्याक्कै कुन स्थानमा घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त जोशीले जानकारी दिए ।
उनका अनुसार उक्त युट्युब च्यानलले यसअघि पनि प्रहरीको नाम दुरुपयोग गरेर विभिन्न सामग्रीहरू निर्माण गरेको पाइएको छ । पछिल्लो भिडिओमा प्र्याङ्कको बहानामा अक्षम्य दुर्व्यवहार गरिएको देखिएकाले संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सघन रूपमा खोजी भइरहेको इन्स्पेक्टर जोशीले बताए ।
पछिल्लो अध्यावधिक: असार १२, २०८३ १७:२२
