close

के हो एआई एजेन्ट ?

टेकपाना टेकपाना

पुस १, २०८१ १०:३२

च्याटजीपीटीद्वारा तयार पारिएको साङ्केतिक तस्विर च्याटजीपीटीद्वारा तयार पारिएको साङ्केतिक तस्विर

एआई एजेन्टलाई एआई क्षेत्रको अर्को ठुलो क्रान्तिको रूपमा हेरिएको छ । तर यसको स्पष्ट परिभाषा भने तय भइसकेको छैन । अहिलेसम्म, एआई एजेन्टको सटीक स्वरूपमा विशेषज्ञहरू एक मत छैनन् ।

सामान्यतया, एआई एजेन्टलाई त्यस्तो सफ्टवेयर मान्न सकिन्छ, जसले ग्राहक सेवा प्रतिनिधि, एचआर कर्मचारी वा आईटी हेल्प डेस्क कर्मचारीले गर्ने कामहरू स्वचालित रूपमा सम्पन्न गर्न सक्छ । यसले तपाईंको आग्रहमा ती कामहरू सम्पन्न गर्छ । यो अहिलेका एआई च्याटबटले विभिन्न प्रणालीहरूबिच समन्वय गर्दै प्रश्नहरूको उत्तर दिनेभन्दा धेरै पर जान सक्छ । उदाहरणका लागि, पर्प्लेक्सिटीले गत महिना एक एआई एजेन्ट सार्वजनिक गर्‍यो, जसले मानिसहरूलाई चाडपर्वको किनमेल गर्न मद्दत गर्छ । यसका साथै, गुगलले गत हप्ता आफ्नो पहिलो एआई एजेन्ट "प्रोजेक्ट मरिनर" घोषणा गर्‍यो, जसले फ्लाइट र होटेल खोज्न, घरायसी सामान किन्न, तथा परिकारहरू खोज्न मद्दत गर्दछ।

यो अवधारणा सरल जस्तो देखिन्छ, तर यसमा स्पष्टताको अभावले यसलाई जटिल बनाएको छ। यहाँसम्म कि ठुला प्रविधि कम्पनीहरूबिच पनि यसलाई लिएर एकमत छैन । गुगले एआई एजेन्टलाई काममा-आधारित सहायकको रूपमा लिन्छ, जस्तै: डेभलपरहरूका लागि कोडिङ सहयोग, मार्केटरहरूलाई कलरको योजना बनाउन मद्दत गर्ने, वा आईटी पेसेवरलाई समस्याको समाधान खोज्न लग फाइलमा सोधपुछ गर्ने ।

वास्तवा एआई एजेन्ट अतिरिक्त कर्मचारीले जस्तो काम गर्न सक्छ, जसले सहकर्मीले गर्ने कामहरूको जिम्मेवारी वहन गर्छ । सियरा (Sierra) नामक एक स्टार्टअपले एआई एजेन्टलाई ग्राहक अनुभव सुधार्ने उपकरणका रूपमा देख्छ । जुन कम्पनी सेल्सफोर्सका सह-सीईओ ब्रेट टेलर र गुगलका पूर्व कर्मचारी क्ले बेभोरले स्थापना गरेका हुन् ।

स्पष्ट परिभाषाको अभावले एआई एजेन्टले के गर्न सक्छ भन्नेमा अन्योलता सिर्जना भएको छ । तर, यसको मुख्य उद्देश्य भनेको न्यूनतम मानव सहभागितामा स्वचालित रूपमा काम सम्पन्न गर्नु हो ।

एआई एजेन्ट निर्माणका चुनौतीहरू

यो प्रविधिको प्रारम्भिक चरणमा छ । त्यसैले गर्दा यसलाई लिएर एकमत बनिसकेको छैन । एआई एजेन्ट भनेको के हो भन्ने कुनै एकल वा ठोस परिभाषा छैन । तर, धेरैजसोले यसलाई वातावरणलाई बुझ्ने, त्यसबारे तर्क गर्ने, निर्णय लिने, र स्वचालित रूपमा निश्चित लक्ष्यहरू हासिल गर्ने बुद्धिमान सफ्टवेयर प्रणालीको रूपमा लिन्छन् ।

समयसँगै एआई एजेन्टहरू मानिसहरूको तर्फबाट अझ धेरै काम गर्न सक्षम हुनेछन् । तर, यसका लागि जीपीयूको मूल्य/पर्फर्मेन्स, मोडेलको गुणस्तर, र एआई फ्रेमवर्कमा सुधारको आवश्यकता पर्नेछ ।

एआईले प्रविधिका अन्य क्षेत्रहरूभन्दा गहिरो समस्या समाधान गर्नुपर्ने भएकाले, यसको विकास तीव्र गतिमा नहुन सक्छ । एआई एजेन्टहरूले विभिन्न प्रणालीहरूमा पहुँच र समन्वय गर्नुपर्ने भएकाले यसले थप चुनौतीहरू निम्त्याउँछ । केही पुराना प्रणालीहरूमा एपीआईको अभाव छ, जसले समस्या समाधानमा कठिननाइ उत्पन्न गर्न सक्छ।

भविष्यतर्फको यात्रा

एआई एजेन्टहरूलाई विकास गर्न विशेष प्राविधिक संरचना आवश्यक पर्छ । एआई एजेन्टहरूका लागि आधारभूत प्लेटफर्म निर्माण गर्ने काममा उद्योगले अझै धेरै गर्न बाँकी छ । अहिलेको अवस्थामा कुनै एकल ठुलो ल्याङ्ग्वेज मोडेलले एआई एजेन्टहरूको आवश्यकता पूरा गर्न सक्दैन । एआई एजेन्टहरू विभिन्न मोडेलको संयोजनबाट बन्ने छन्, जहाँ स्वचालित रूपमा कार्यहरू विभाजन गरिनेछ ।

अन्ततः, एआई एजेन्टहरूको उद्देश्य मानिसहरूबाट निर्देशित नभई पूर्ण स्वचालित प्रणाली बन्नु हो । तर, हामी अझै यस मार्गको सुरुवाती चरणमा छौं । एआई एजेन्टले भविष्यका लागि ठूलो सम्भावना बोकेको छ, तर आजको दिनमा कल्पना गरिएको जस्तो उक्त प्रविधिले स्वचालित क्षमता हासिल गर्न थप प्रविधि विकास आवश्यक छ।

 

पछिल्लो अध्यावधिक: पुस १, २०८१ १०:३२