close

कस्तो छ अल्टिमाको नयाँ इयरबड्स ‘बुम १८१’ ?

उष्मा अधिकारी उष्मा अधिकारी

पुस १७, २०८१ १३:३५

कस्तो छ अल्टिमाको नयाँ इयरबड्स ‘बुम १८१’ ?

काठमाडौं । नेपाली अडिओ तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो नयाँ वायरलेस इयरबड्स ‘अल्टिमा बुम १८१ एएनसी’ बजारमा विस्तार गरेको छ । यो इयरबड्समा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी), प्रिमियम साउन्ड क्वालिटी र लामो ब्याट्री लाइफ जस्ता विशेषता समेटिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार इयरबड्सको आरामदायी र प्रिमियम डिजाइनले प्रयोगकर्तालाई दिनभर सहज अनुभव प्रदान गर्छ । इयरबड्सले आईपीएक्स५ वाटर रेसिस्टेन्स प्रमाणपत्र प्राप्त गरेको छ, जसले पानी तथा पसिनाबाट हुने क्षतिबाट बचाउ गर्नेछ ।

चार्जिङ केससहित ४५ घण्टासम्मको प्लेटाइम र १० मिनेटको फास्ट चार्जले १२० मिनेटको प्लेटाइम प्राप्त गर्न सकिने बताइए पनि मेरो अनुभवमा डेढ घण्टा जति चाहिँ चलेको थियो, जुन राम्रै हो । 

यो इयरबड्स यात्रामा रहने प्रयोगकर्ताहरूको लागि उपयुक्त छ । कम्पनीको दाबीअनुसार, यो इयरबड्स ५०,००० भन्दा बढी हिन्ज फ्लिप परीक्षणबाट प्रमाणित छ । साथै, ७०० भन्दा बढी चार्ज साइकल क्षमतासहित, चार्ज र ब्याट्री हेल्थको चिन्ता लिनु नपर्ने दाबी गरिएको छ । तर, यो पक्षको पूर्ण पुष्टि भने लामो समयसम्म प्रयोग गरेपछि मात्र गर्न सकिनेछ ।

३२ डीबीसम्मको एक्टिभ नोइज क्यान्सिलेसन (ANC) सहित उपलब्ध यस इयरबड्समार्फत आफूलाई मनपरेका गीत-सङ्गीतको भरपूर आनन्द लिन सकिन्छ । मेरो अनुभवको आधारमा भन्दा महत्त्वपूर्ण कलहरू उठाउँदा वा गीत सुन्दा यसका साउन्डले कुनै खास अवरोध गरेन, सुनाइ सहज र स्मुथ नै थियो ।

अर्को रोचक पक्ष भनेको, यो इयरबड्समा अल्टिमा सुप्रिम साउन्ड प्रविधि समावेश गरिएको छ । यसमा १३ एमएमका डुअल हाई-फिडेलिटी ड्राइभरहरू छन्, जसले २० हर्जदेखि २० किलोहर्जसम्मको दायरामा गहिरो बेस प्रदान गर्न सक्छ भन्ने दाबी गरिएको छ । तर, बेस केन्द्रित म्युजिक सुन्दा यी बड्सले औसत मात्र अनुभव प्रदान गरेजस्तो लाग्यो ।

यसमा क्वाड माइक्रोफोन र एडभान्स्ड एएनसी (एक्टिभ नोइज क्यान्सिलेसन) पनि छ, जसले व्यस्त वातावरणमा समेत ब्याकग्राउन्डको आवाजलाई कम गरी कललाई स्मुथ र स्पष्ट बनाउने सुनिश्चितता दिन्छ ।

ब्लुटुथ भर्सन ५.४ र स्विफ्ट पेयर सपोर्टका कारण यो इयरबड्स एन्ड्रोइड, आईओएस र विन्डोज डिभाइसमा सहजै कनेक्ट गर्न सकिन्छ । बड्सले गेमिङका लागि ४५ मिलिसेकेन्ड लो लेटेन्सी दिने भनिए पनि हामीले केही गेम खेल्दा साउन्ड ठिकै मात्र ल्याग महसुस भयो । 

अल्टिमा बुम १८१ एएनसीले आफ्नै ‘अल्टिमा लिङ्क एप’ को सपोर्ट पनि उपलब्ध गराएको छ, जसले विभिन्न ईक्यू मोडका साथमा अडिओ अनुभवलाई अनुकूल बनाउन मद्दत गर्दछ । यस एपमार्फत फाइन्ड माइ डिभाइस, ग्राहक सेवा र अन्य जानकारीसम्बन्धी सुविधाहरू प्रयोग गर्न सकिन्छ ।

नेपालभरका विभिन्न खुद्रा पसल, अल्टिमाको आधिकारिक वेबसाइट र अनलाइन प्लेटफर्महरूमा यो इयरबड्स उपलब्ध छ । बजार मूल्य ३,९९९ रुपैयाँ तोकिए पनि  लन्च अफरअन्तर्गत १,९९९ रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०८१ १२:४७