काठमाडौँ । नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ताको सबैभन्दा धेरै आकर्षण क्रमशः वर्ल्डलिंक, सुबिसु, डिशहोम, वाईफाई नेपाल र भायानेटमा देखिएको छ । पछिल्लो एक वर्षमा सबैभन्दा धेरै ग्राहकको रोजाईमा यी पाँच कम्पनी परेका हुन् ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार गत वर्ष २०८१ को वैशाखदेखि यस वर्षको वैशाखसम्म देशभर ३ लाख ९६ हजार ६३३ घरधुरीमा नयाँ फाइबर इन्टरनेट जडान भएको छ । त्यसमध्ये सबैभन्दा धेरै अर्थात् एक लाख २ हजार ४६१ परिवारको रोजाईमा वर्ल्डलिंक परेको हो ।
त्यसपछि क्रमशः सुबिसु ६२ हजार २१० घरधुरीमा, डिशहोम ५७ हजार ८२० घर धुरीमा, वाईफाई नेपाल ४४ हजार ५०२ घरधुरीमा र भायानेट ४२ हजार ५६६ घरधुरीमा नयाँ कनेक्सनको रूपमा जोडिएका छन् । यस बाहेक नयाँ ग्राहक बनाउने मामिलामा वेबसर्फर छैटौँ, नेपाल टेलिकम सातौँ, क्लासिक टेक आठौँ, सजिलो नेट नवौँ र ब्रोडलिंक दसौँ स्थानमा छन् ।
शीर्ष १० कम्पनीको दौडमा को, कहाँ ?
पछिल्लो एक वर्षको बजार हिस्साको आँकडा हेर्दा वर्ल्डलिंक सबैभन्दा धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायक कम्पनीको पहिलो नम्बरमा कायम छ । गत वर्ष दोस्रो स्थानमा रहेको नेपाल टेलिकम तेस्रो स्थानमा धकेलिएको छ भने तेस्रो स्थानबाट डिशहोम दोस्रो स्थानमा उक्लिएको छ ।
चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौं स्थानमा रहेका सुबिसु, भायानेट, क्लासिक टेक, वेबसर्फर, टेकमाइन्ड र सीजी कम्युनिकेसन यथास्थानमा रहेका छन् । गत वर्ष दसौँ स्थानमा रहेको फाइबर वर्ल्डको ठाउँ भने यस वर्ष वाईफाई नेपालले लिएको छ ।
ग्राहक आधारको हिसाबले शीर्ष १० को प्रतिस्पर्धामा रहेका आईएसपी