close

कन्फेसन पेजबाट सार्वजनिक भएको सुकुना मावि यौन दुर्व्यवहार प्रकरण: थप एक शिक्षक पक्राउ

टेकपाना टेकपाना

साउन ५, २०८३ १७:५०

कन्फेसन पेजबाट सार्वजनिक भएको सुकुना मावि यौन दुर्व्यवहार प्रकरण: थप एक शिक्षक पक्राउ

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थी तथा पूर्वविद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत शिक्षकहरूले छात्रामाथि गरेको यौन दुर्व्यवहार एक्स्पोज गरेको प्रकरणमा थप एक जना शिक्षक पक्राउ परेका छन् । यससँगै उक्त घटनामा पक्राउ पर्ने विद्यालयका कर्मचारीको संख्या चार पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले विद्यालयका सङ्गीत शिक्षक भीमप्रसाद नेपाललाई पक्राउ गरेको हो । झापाको बुद्धशान्ति गाउँपालिका-७ निवासी ३९ वर्षीय नेपाललाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीमाथि यौन दुर्व्यवहारसम्बन्धी आरोपमा थप अनुसन्धान भइरहेको प्रहरीकोभनाइ छ ।

विद्यार्थीहरूमाथि दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएपछि सुकुना माध्यमिक विद्यालयले सोमबार नेपाललाई निलम्बन गरेको थियो ।

विद्यार्थी तथा पूर्वविद्यार्थीहरूले आइतबारदेखि सामाजिक सञ्जालमा आफूहरूमाथि भएको यौन दुर्व्यवहारका घटनाहरू सार्वजनिक गर्न थालेका थिए । उनीहरूले ‘S/K/N Confession & Meme’ नामक फेसबुक पेजमा ‘Hidden Voice’ शीर्षकको सिरिजमार्फत शिक्षकहरूले गरेको दुर्व्यवहारबारे पीडितका अनुभव, च्याट, स्क्रिनशट र अन्य प्रमाण सार्वजनिक गरेका हुन् ।

ती सामग्री सार्वजनिक भएपछि प्रहरीले सोमबार विद्यालयका शिक्षक अविरल मास्के, किशोरलाल गच्छदार तथा विद्यालय बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेको थियो । मंगलबार नृत्य प्रशिक्षक नेपाल पनि पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ १८:६