close

आईफोनको गोप्य जानकारी बाहिर ल्याउने युट्युबरविरुद्ध एप्पलले हाल्यो मुद्दा

टेकपाना टेकपाना

साउन ४, २०८२ ८:५६

आईफोनको गोप्य जानकारी बाहिर ल्याउने युट्युबरविरुद्ध एप्पलले हाल्यो मुद्दा

काठमाडौँ । एप्पलले आईफोनको अपडेट लिक गर्ने युट्युबर जोन प्रोसरविरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २६ को व्यावसायिक गोप्य सूचना बाहिर ल्याएको आरोपमा युट्युबर प्रोसर सँगै माइकल रमासियोटी विरुद्ध मुद्दा दायर गरेको हो । 

रोयर्टसमा प्रकाशित समाचार अनुसार, रमासियोटीले एप्पल कर्मचारीको फोन प्रयोग गरी उक्त गोप्य जानकारी प्रोसरलाई पठाएका थिए । प्रोसरले ती विवरणहरू यही जनवरीमा आफ्नै युट्युब च्यानल फ्रन्ट पेज टेक 'Front Page Tech' मार्फत सार्वजनिक गरेका थिए । यसले कम्पनीको आगामी अपडेटको गोप्य फिचरहरूको विषयमा समयभन्दा अघि नै जानकारी बाहिर ल्याएको कम्पनीको आरोप छ । 

आर्थिक समस्यामा भएको रमासियोटिलाई आर्थिक प्रलोभन देखाइ प्रोसरले सूचना चोरी गर्न लगाएको उजुरीमा उल्लेख छ । एप्पललाई यो योजना बारे अप्रिल महिनामा एक गुमनाम व्यक्तिबाट जानकारी प्राप्त भएको थियो । सोही जानकारी आधारमा कम्पनीले आन्तरिक अनुसन्धान गरि प्रोसरविरुद्ध मुद्दा दायर गरेको हो । 

प्रोसरले भने रोयर्टससँगको कुराकानीमा आफूले कुनै योजना बनाएर विवरण चोरी गर्ने काम नगरेको प्रतिक्रिया दिएका छन् । एप्पलले मुद्दामार्फत क्षतिपूर्ति रकम (निश्चित रकम नखुलाइएको) र प्रोसर तथा रमाचियोटीलाई गोप्य जानकारी प्रयोग गर्न वा बाहिर ल्याउन निषेध गर्ने अदालतको आदेश माग गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ ८:५६