आर्थिक भार बढेपछि कालोसूचीको चिनियाँ चिप किन्न खोज्दै एप्पलः ट्रम्प प्रशासनसँग गोप्य लबिङ !
असार १४, २०८३ १६:५२
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले सरकारले कालोसूचीमा राखेको चिनियाँ कम्पनीबाटै चिप्स खरिद गर्न पाउँ भन्दै ट्रम्प प्रशासनसँग लबिङ गरेको खुलेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चिनियाँ सेनासँग सम्बन्ध रहेको आरोपमा कालोसूचीमा राखेको चिनियाँ कम्पनी चाङसिन मेमोरी टेक्नोलोजिज (सीएक्सएमटी) बाट मेमोरी चिप खरिद गर्न अनुमति पाउन ट्रम्प प्रशासनसँग लबिङ गरिरहेको फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख छ ।
यस विषयमा जानकार छ जना स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले मेमोरी चिपको मूल्य लगातार बढेपछि आर्थिक दबाब कम गर्न एप्पलले अमेरिकी सरकारसँग यस्तो अनुमति मागेको जनाएको छ । एक स्रोतका अनुसार एप्पलले कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट चिप खरिद गर्ने अनुमतिका लागि एक महिना अघि अमेरिकी वाणिज्य विभागसँग पहिलो पटक सम्पर्क गरेको थियो । त्यसयता कम्पनीले प्रशासनका अन्य अधिकारी र वासिङ्टनस्थित आफ्ना सहयोगीहरूमार्फत पनि स्वीकृतिका लागि प्रयास गरिरहेको छ ।
हाल एप्पललाई सीएक्सएमटी वा अर्को चिनियाँ मेमोरी चिप निर्माता वाईएमटीसीबाट चिप खरिद गर्न कुनै कानुनी प्रतिबन्ध छैन । तर पेन्टागनले यी दुवै कम्पनीलाई चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध रहेको भन्दै ‘१२६०एच’ नामक कालोसूचीमा राखेको छ । उक्त सूचीमा अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम पुर्याउने आशंकामा दर्जनौं चिनियाँ कम्पनी समावेश छन् । कालोसूचीमा परेका कम्पनीसँग कारोबार गर्न कुनै कानुनी अड्चन नभए पनि यसले कम्पनीको प्रतिष्ठामा जोखिम सिर्जना गर्छ ।
उत्पादनकाे मूल्य बढाउँदा शेयर बजारमा असर
एप्पलले केही दिन अघि मात्रै म्याकबुक र आइप्याडको मूल्य बढाउने निर्णय गरेको थियो । मेमोरी चिप्सको मूल्य धान्नै नसक्ने स्तरसम्म पुगेपछि आफ्ना उत्पादनको मूल्य बढाएको कम्पनीले जनाएको थियो । मूल्यवृद्धिपछि एकै दिनमा कम्पनीको शेयर बजार मूल्य करिब २६३ अर्ब अमेरिकी डलरले घटेको थियो, जुन यसको इतिहासकै दोस्रो ठूलो दैनिक गिरावट हो ।
यदि सीएक्सएमटीलाई नयाँ आपूर्तिकर्ताका रूपमा समावेश गर्न सके एप्पलले हालका प्रमुख आपूर्तिकर्तामाथिको निर्भरता घटाउन सक्ने र बढ्दो लागत नियन्त्रण गर्न सक्ने अपेक्षा गरिएको छ ।
अमेरिकी सांसदहरूको विरोध
अमेरिकी संसद्को चीनसम्बन्धी समितिका रिपब्लिकन अध्यक्ष जोन मुलेनारले एप्पलले चिनियाँ सैन्यसँग सम्बन्धित कम्पनीसँग साझेदारी गर्नु ‘गम्भीर गल्ती’ हुने बताएका छन् । उनले यस्तो कदमले चिनियाँ कम्युनिस्ट पार्टीलाई महत्त्वपूर्ण प्रविधि आपूर्ति शृङ्खलामा प्रभुत्व जमाउन सहयोग पुग्ने र अमेरिकाको प्रविधि उद्योग तथा अर्थतन्त्र चीनमाथि झन् निर्भर बन्ने चेतावनी दिएका छन् ।
सुरक्षा विश्लेषक माइकल सोबोलिकले पनि कृत्रिम बुद्धिमत्ता (एआई) जस्तो संवेदनशील क्षेत्रमा चीनमाथिको निर्भरता बढाउने निर्णय प्रशासनको आफ्नै नीतिविपरीत हुने टिप्पणी गरेका छन् ।
सन् २०२२ मा एप्पलले चीनमा बिक्री हुने आइफोनका लागि वाईएमटीसीका मेमोरी चिप प्रयोग गर्ने योजना बनाउँदा पनि अमेरिकी राजनीतिज्ञहरूको तीव्र विरोध सामना गर्नुपरेको थियो ।
त्यतिबेला अमेरिकी सिनेटको गुप्तचर समितिका शीर्ष रिपब्लिकन सदस्य मार्को रुबियोले एप्पलले ‘आगोसँग खेलिरहेको’ टिप्पणी गरेका थिए । उनले यस्तो निर्णय अघि बढाए कम्पनीले संघीय सरकारबाट अभूतपूर्व निगरानी र छानबिनको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।
एआई बूमले फेरियो चिप बजार
विश्वव्यापी रूपमा मेमोरी चिप बजारमा अमेरिका, दक्षिण कोरियाको सामसुङ र एसके हाइनिक्स सहित सीमित कम्पनीहरूको प्रभुत्व छ । एप्पल हाल आफ्ना उपकरणमा प्रयोग हुने डीर्याम (DRAM) मेमोरीका लागि अमेरिकी कम्पनी माइक्रोन, सामसुङ र एसके हाइनिक्समा निर्भर छ ।
सन् २०२३ मा अत्यधिक आपूर्तिका कारण डीर्याम चिपको मूल्य घटेको थियो, जसको लाभ एप्पलजस्ता कम्पनीहरूले उठाएका थिए । तर पछिल्ला तीन वर्षमा एआई पूर्वाधारमा ठूला प्रविधि कम्पनीहरूले अर्बौं डलर लगानी गर्न थालेपछि उच्चस्तरीय एचबीएम (High Bandwidth Memory) चिपको माग तीव्र रूपमा बढेको छ ।
यसका कारण कन्ज्युमर इलेक्ट्रोनिक्समा प्रयोग हुने परम्परागत मेमोरी चिपको अभाव सिर्जना भएको छ र मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ । चिपमा भएकाे मूल्यवृद्धिसँगै स्मार्टफोन, कम्पुटरलगायत इलेक्ट्रोनिक्स सामानहरूको मूल्यमा पनि उच्च वृद्धि हुन थालेको छ ।
पछिल्लो अध्यावधिक: असार १४, २०८३ १७:२६
