काठमाडौँ । अमेजनले विश्वभरका करिब २२ करोड प्राइम सदस्यहरूलाई ईमेलमार्फत् अमेजनको नाममा भइरहेका ठगी (इम्पर्सोनेशन) आक्रमणहरू बढेको भन्दै सजग रहन आग्रह गरेको छ । कम्पनीले ग्राहकहरूलाई शंकास्पद इमेल, फोन कल र लिंकप्रति सतर्क रहन आग्रह गरेको हो ।
अमेजनले पठाएको इमेलमा प्राइम सदस्यता नवीकरण वा “सब्सक्रिप्सन शुल्क बढ्दैछ” भन्ने दाबीसहितको नक्कली इमेल पठाई प्रयोगकर्तालाई ‘cancel subscription’ बटन थिच्न लगाइ खाता प्रमाणीकरण विवरण चोरी गर्ने काम बढिरहेको छ । इमेलहरूमा अन्य स्रोतबाट जुटाइएको व्यक्तिगत विवरण समावेश गरी विश्वसनीय देखाउने प्रवृत्ति देखिएको अमेजनले जनाएको छ ।
फोर्ब्समा प्रकाशित समाचारका अनुसार साइबर सुरक्षा अनुसन्धानकर्ता पिटर आर्न्ट्जले १६ जुलाई एक पत्र मार्फत अमेजन प्राइम सम्बन्धी स्क्यामहरू तीव्र बनेको बताएका थिए । उनले सब्स्क्रिप्सनको नाममा हुने ठगी र सामाजिक इन्जिनियरिङ फोन कल दुवै उच्च दरमा चलिरहेको चेतावनी दिएका छन् ।
फोर्ब्सका लागि रिपोर्ट गर्ने साइबर सुरक्षा पत्रकारका अनुभवअनुसार, पछिल्ला केही हप्ताहरूमा फोन कलमार्फत “तपाईंको खाताबाट iPhone 13 किनियो” भन्ने झुटो दाबी गरी घुमाउरो तरिकाले खातामा पहुँच लिने प्रयास समेत भइरहेको छ ।
सुरक्षा अनुसन्धानकर्ताहरूले प्राइम डे अघि मात्रै १ लाख २० हजारभन्दा बढी नक्कली अमेजन डोमेन/वेबपेज दर्ता भएको देखिएको बताएका छन् । यस्ता साइटहरू प्रयोगकर्तालाई भ्रामक लगइन पेजमा ल्याई पासवर्ड र वित्तीय जानकारी प्राप्त गर्न प्रयोग गरिने आशंका गरिएको बताइएको छ ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ ११:२१
