चिया पसलसम्म सजिलै पाइने सिमकार्ड हुलाक मार्फत् घर-घरसम्म ढुवानी गर्नुपर्ने आवश्यकता किन ?
साउन ३, २०८३ १३:२
काठमाडौँ । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमै प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबिच भएको सम्झौता १ साउनदेखि औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको छ ।
उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट तत्कालीन निमित्त प्रबन्ध निर्देशक रीना डङ्गोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका थिए । सरकारी स्वामित्वका दुई ठुला संस्थाबिचको यो सहकार्यले दूरसञ्चार सेवा वितरणलाई घरदैलोमै पुर्याउने र डिजिटल सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।
तर, यो सेवा सुरु भएसँगै सामाजिक सञ्जालमा भने यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्न थालेको छ । ट्वीटर (एक्स) मा एक प्रयोगकर्ताले लेखेका छन्, "अनलाइनको जमानामा ई-सिम चल्ने मोबाइल फोन मेचीदेखि महाकालीसम्म छन् । सरकार फेरि हुलाक भन्छ । कार्यालयमा जरुरी कागजात निजीबाट ढुवानी, सिम कार्डको खोस्टो हुलाक मार्फत ? अलि प्रविधि मैत्री चिया पसलमा ५ मिनेटमा पाइने सिम कार्ड किन यतिका खर्च गरेर ढुवानी गर्नु पर्यो ?"
सुगम ठाउँमा बस्ने र प्रविधि चलाउन जान्नेहरूका लागि यो प्रश्न स्वाभाविक लाग्न सक्छ । तर, यसको अर्को पाटो पनि छ । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले टेकपानासँगको कुराकानीमा यसको भित्री आवश्यकता र दूरगामी प्रभावबारे विस्तृतमा प्रकाश पारेकी छिन् ।
सिमकार्ड चिया पसलमा सहजै किन्न पाइने कुरा साँचो हो । तर त्यो केवल सम्पन्न र पहुँच भएकाहरूका लागि मात्र भएको महानिर्देशक पंगेनीको भनाई छ । प्रविधिको पहुँचबाट टाढा रहेका, अनलाइन फाराम भर्न नजान्ने र टुजीबाट फोरजीमा रूपान्तरण हुन नसकेका झन्डै ५ लाख पहुँच विहीन नेपाली नागरिकहरू आज पनि छन् ।
दुर्गम क्षेत्रका ती नागरिकहरूका लागि यो सेवा सुरु गरिएको हो । "हाम्रा हुलाकीहरू हिल्सा, मनाङ वा हुम्लाका कुना-कुनाका घरदैलोमा पुगेर उनीहरूका मोबाइल आफैँले खोली सिमकार्ड हालिदिनेछन्," पङ्गेनीले भनिन्, "साथै, आवश्यक फोटो खिचेर र भरपाई लिएर सुरक्षा सुदृढ गराउनेछन् । यसले बैंक खाता र मोबाइल एपको सुरक्षा गर्दै डिजिटल साक्षरता र सुरक्षा दुवै दिनेछ ।"
पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १३:५
