close

काठमाडौंका सडकमा ट्राफिक प्रहरीलाई सघाउँदै ‘युनिट्री’ रोबोट, मापसे गर्नेलाई दिनेछ सचेतना तालिम

टेकपाना टेकपाना

साउन २, २०८३ १८:१६

काठमाडौंका सडकमा ट्राफिक प्रहरीलाई सघाउँदै ‘युनिट्री’ रोबोट, मापसे गर्नेलाई दिनेछ सचेतना तालिम

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पछिल्लो समय एउटा रोचक दृश्य भाइरल भइरहेको छ- रोबोटले यात्रुलाई जेब्रा क्रसिङमा बाटो काट्न सहयोग गरिरहेको र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरीसँगै उभिएर सचेतना फैलाइरहेको ।

नेपालमा यो प्रविधि भित्र्याउने र यसलाई नेपाली परिवेश अनुकूल बनाउने काम एमएडब्लू ग्रुप अन्तर्गतको ‘एमएडब्लू वृद्धि फ्युचर टेक’ (युनिट्री नेपाल) ले गरिरहेको छ । कम्पनीले चीनको रोबोटिक्स कम्पनी ‘युनिट्री’ का रोबोटहरू नेपाल ल्याएर विभिन्न क्षेत्रमा तिनको व्यावहारिक उपयोगिताको परीक्षण गरिरहेको हो ।

यसअघि नाडा अटो शोमा प्रदर्शन गरिएको र अहिले ट्राफिक प्रहरीसँगको सहकार्यमा देखिएको रोबोट एउटै ब्रान्डका भए पनि यिनको प्रकृति र कार्यक्षमतामा भने भिन्नता रहेको एमएडब्लू वृद्धि फ्युचर टेकका मार्केटिङ प्रमुख प्रकाश सुवेदी बताउँछन् ।

“अटो शोमा देखाइएको सुरुवाती चरणको ‘जी-वान’ रोबोट सामान्यतः मनोरञ्जन र नृत्य जस्ता गतिविधिमा मात्र सीमित थियो,” सुवेदी भन्छन्, “तर अहिले हामीले परीक्षण गरिरहेको ‘जी-वान ईडीयू’ (G1 Edu) भर्सन अत्यन्त अत्याधुनिक र प्रोग्रामिङ गर्न मिल्ने खालको छ ।”

चीनमा यो मोडेललाई मार्सल आर्ट गर्ने र जम्प गर्नेजस्ता जटिल कामका लागि प्रोग्रामिङ गरिने भए पनि नेपालमा भने यसलाई ट्राफिक प्रहरीसँगको समन्वयमा सडक सुरक्षा र मापसे (मादक पदार्थ सेवन) विरुद्धको सचेतना अभियानका लागि तयार पारिँदैछ ।

नेपालको सडक सुरक्षाको कमजोर अवस्था, बढ्दो दुर्घटना र ट्राफिक प्रहरीले सडकमा भोग्नुपर्ने चुनौतीलाई मध्यनजर गर्दै यस प्रविधिलाई ट्राफिक व्यवस्थापनमा जोड्ने अवधारणा बनेको सुवेदीको भनाइ छ

तत्कालीन ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारी र वर्तमान अधिकारीहरूसँगको निरन्तर छलफलपछि यसलाई व्यावहारिक रूप दिन लागिएको हो । “हाम्रो देशमा सडक दुर्घटनाको संख्या उच्च छ, ट्राफिक प्रहरीले सडकमा धेरै कठिनाइ भोग्नुपर्छ । रोबोटको प्रयोगले मानवीय श्रम र सम्भावित जोखिमलाई कम गर्न मद्दत पुग्ने हाम्रो बुझाइ छ,” उनी भन्छन् ।

नागरिकमा ट्राफिक नियम आफ्नै सुरक्षाका लागि भन्दा पनि प्रहरीका लागि पालना गरिदिएको जस्तो सोच्ने मानसिकता अझै रहेकाले रोबोट जस्ता नयाँ प्रविधिमार्फत सचेतना फैलाउँदा सकारात्मक परिवर्तन आउन सक्ने विश्वास उनले व्यक्त गरे ।

अहिले प्रारम्भिक परीक्षणका रूपमा ट्राफिक प्रहरीले सञ्चालन गर्ने ३५ मिनेटको सचेतना कक्षामा रोबोटको प्रयोग गर्न थालिएको छ । “अहिले हामी परीक्षणकै चरणमा छौँ,” सुवेदी थप्छन्, “कक्षामा ट्राफिक प्रहरीले दिने जानकारी, हाउभाउ र आवाजलाई रोबोटमार्फत प्रस्तुत गर्ने प्रयास भइरहेको छ ।” यस प्रक्रियामा रोबोटको प्रस्तुति र ब्याकइन्डमा बज्ने भिडिओलाई स्वचालित रूपमा ‘सिन्क्रोनाइज’ गरिएको छ ।

पहिलो पटकको परीक्षणमा सहभागीहरूमा रोबोटले दिने कक्षाप्रति निकै उत्सुकता र उत्साह देखिएको छ । सडकमा हुन सक्ने सम्भावित ‘डिस्ट्र्याक्सन’ (ध्यान भंग हुने अवस्था) का चुनौतीलाई बिस्तारै न्यूनीकरण गर्दै लैजाने कम्पनीको योजना छ ।

सचेतना कक्षाका अतिरिक्त जेब्रा क्रसिङ, बत्तीको नियमन र कोर ट्राफिक कन्ट्रोलमा पनि रोबोटलाई सहयोगीका रूपमा प्रयोग गर्न सकिने सम्भावना छ । सडकको चाप र सवारी साधनको संख्याका आधारमा बत्तीको समय निर्धारण गर्दा मानिसबाट हुन सक्ने गणितीय त्रुटिलाई एआई र रोबोटिक्सको सहायताले थप सटिक बनाउन सकिने सुवेदी औँल्याउँछन् ।

“रोबोटमा मानवीय भावना (इमोसन) हुँदैन,” उनी तर्क गर्छन्, “मानिसमा कहिलेकाहीँ परिस्थिति हेरेर नियम मिच्नेलाई पनि छुट दिने अवस्था आउन सक्छ, तर रोबोटले नियम र प्रणालीलाई बिनाकुनै पक्षपात कडा रूपमा पालना गराउन सक्छ ।”

यसले गर्दा सडक नियम सबैका लागि समान रूपमा लागु भई दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ । यद्यपि, नेपालको विद्यमान सडक पूर्वाधार र नीतिगत व्यवस्थाका कारण रोबोटलाई पूर्ण रूपमा सडकमा परिचालन गर्न भने अझै केही समय लाग्ने र यसका लागि निरन्तर तालिम आवश्यक पर्ने उनी बताउँछन् ।

एमएडब्लू वृद्धि फ्युचर टेकको योजना ट्राफिक क्षेत्रमा मात्र सीमित छैन । कम्पनीले रोबोटलाई स्वास्थ्य क्षेत्रमा बिरामी र आगन्तुकको स्वागतका लागि तथा कर्मचारी अभाव हुँदा सेवा प्रवाहलाई निरन्तरता दिन प्रयोग गर्नेबारे अध्ययन गरिरहेको छ । त्यस्तै, शिक्षा क्षेत्रमा एआई र रोबोटिक्सको व्यावहारिक ज्ञान दिन दार्चुलाको एक शैक्षिक संस्थामा शिक्षण प्रयोजनका लागि एउटा रोबोट उपलब्ध गराइसकिएको जानकारी सुवेदीले दिए ।

सुरक्षा र गस्तीका लागि कम्पनीसँग ‘जीओ-टु’ (Go2) नामक रोबोटिक डग (कुकुर) समेत उपलब्ध छ । यसलाई सीमा क्षेत्र वा वन्यजन्तु आरक्षमा गस्ती गराई जंगली जनावरको आक्रमणबाट हुने मानवीय क्षति रोक्न प्रयोग गर्न सकिने उनको भनाइ छ ।

गत वर्षको नाडा अटो शोबाट प्रदर्शन सुरु भई हाल औपचारिक रूपमा अघि बढेको यो प्रविधि मुख्यतः विभिन्न संघसंस्था र सरकारी निकायलाई लक्षित गरी भित्र्याइएको हो । व्यक्तिगत रूपमा खरिद गर्न चाहनेका लागि समेत उनीहरूको आवश्यकता अनुसार रोबोटलाई तालिम दिएर उपलब्ध गराउन सकिने भए पनि यसको सञ्चालन, मर्मत र सफ्टवेयर प्रणाली केही जटिल हुने सुवेदी बताउँछन् ।

“हामी केवल रोबोट बेच्ने मात्र होइन, ग्राहकको आवश्यकता र उद्देश्य अनुसार त्यसलाई तयार पारेर उपलब्ध गराउँछौँ,” उनी भन्छन् । यसको व्यावसायिक मोडेल र प्राविधिक पक्षलाई युनिट्री नेपाल आफैँले व्यवस्थापन गर्ने गरी तयारी मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८३ १८:१६