close

तपाईँको स्मार्टफोन ह्याक भयो कि ? यी हुन् १२ संकेत, अब के गर्ने ?

टेकपाना टेकपाना

साउन ६, २०८२ १६:२२

तपाईँको स्मार्टफोन ह्याक भयो कि ? यी हुन् १२ संकेत, अब के गर्ने ?

काठमाडौँ । आजकल स्मार्टफोन ह्याकिङका घटनाहरू बढ्दै गएका छन् । तर धेरै मानिसहरूले यसलाई गम्भीर सुरक्षा चुनौती मान्दैनन्, जसले गर्दा उनीहरू फिशिङ, मालिसियस सफ्टवेयर डाउनलोड वा असुरक्षित वाई-फाई जस्ता खतराहरूको जोखिममा पर्छन् ।

यदि तपाईँको स्मार्टफोनमा कुनै एन्टिभाइरस छैन वा तपाईँ सुरक्षित साइबर अभ्यासहरू अपनाउनुहुन्न भने तपाईँको मोबाइल पनि जोखिममा छ ।

ह्याकिङ जो कोहीमाथि पनि हुन सक्छ । तर ह्याकिङमा पर्दा आफू निरीह र शक्तिहीन भएको कहिल्यै नठान्नु होस् । शान्त रहेर के गर्ने भन्ने उपाय खोज्नु होस् । यसो गर्दा तपाईँ ठुलो क्षतिबाट बच्न सक्नुहुन्छ । ह्याक भएपछि के गर्ने भन्ने भन्दा पनि सबैभन्दा पहिला त कसरी सुरक्षित रहने भन्नेमा ध्यान दिनु पर्ने हुन्छ । तर कथमकदाचित ह्याक भइ हाले के गर्ने ?

तपाईँको स्मार्टफोनको सुरक्षा एक ढाल जस्तै हो । यदि यो ढालमा सानो पनि छिद्र परेको शङ्का लाग्छ भने तुरुन्तै समाधानतर्फ अघि बढ्नु होस् । किनकि सानो छिद्रले पनि ठुलो क्षति निम्त्याउन सक्छ ।

आफ्नो फोन ह्याक भएको हुन सक्ने आशङ्का छ ? यहाँ हामी तपाईँलाई फोन ह्याक हुँदा देखिने सङ्केत र चाल्नुपर्ने कदम बारे बताउँदै छौँ ।

पप-अप विज्ञापनहरू

यदि तपाईँको फोनमा अनावश्यक पप-अप विज्ञापनहरू बारम्बार देखिन्छन् भने यो ठुलो खतराको सङ्केत हो । यस्ता विज्ञापनमा क्लिक नगर्नुहोस् । किनकि यिनले तपाईँलाई जोखिमपूर्ण वेबसाइटहरूमा लैजान सक्छन् ।

पर्फर्मेन्समा समस्या

यदि तपाईँको फोन बारम्बार ह्याङ हुने, क्र्याश हुने वा सामान्य काम गर्दा पनि ढिलो चल्ने गर्छ भने यो मालवेयरका कारण हुन सक्छ । किन कि मालवेयर र भाइरसले ठुलो मात्रामा प्रोसेसिङ क्षमता खपत गर्छन् ।

आफैँ रिबुट वा बन्द हुनु

फोन आफैँ अन/अफ हुनु मालिसियस कोड वा ह्याकरले तपाईँको मोबाइललाई रिमोट कन्ट्रोल गरिरहेको सङ्केत हुन सक्छ ।

माइक्रोफोन वा क्यामेरा आफैँ अन हुनु

यदि तपाईंले अन नगरेको बेला पनि माइक्रोफोन वा क्यामेरा आफैँ अन हुन्छ भने यो ह्याकरले तपाईँ र तपाईँका गतिविधि जासुसी गरिरहेको सङ्केत हो ।

अपरिचित एप, मेसेज वा कल

यदि तपाईँले आफ्नो फोनमा आफूले इन्स्टल नगरेका एपहरू देख्नु भयो वा तपाईँले नगरेका कल वा मेसेज फेला पार्नु भयो भने त्यो अनधिकृत प्रयोग हो । सामान्यतया यी मालवेयरका सङ्केत हुन् ।

असामान्य रूपमा ब्याट्री खपत

मालवेयरले ब्याट्री धेरै खपत गर्छ । त्यसैले यदि तपाईँको फोन कुनै स्पष्ट कारणबिना बारम्बार चार्ज गर्नुपर्ने हुन्छ भने त्यसैको कारण हुन सक्छ ।

प्रयोग नहुँदा पनि तात्नु

यदि तपाईँको फोन प्रयोग नभएको बेला पनि असामान्य रूपमा तातो हुन्छ भने त्यो मालवेयरले तपाईँको फोनको प्रोसेसरलाई बढी काम लगाइरहेको सङ्केत हुन सक्छ ।

अचानक टु-फ्याक्टर अथेन्टिकेसन अनुरोध आउनु

यदि तपाईँले नचाहँदा पनि टु-फ्याक्टर अथेन्टिकेसनका अनुरोधहरू आउँछन् भने त्यो कसैले तपाईँको पासवर्ड पत्ता लगाएर अकाउन्टहरूमा पहुँच गर्ने प्रयास गरिरहेको सङ्केत हो ।अप्रत्याशित पासवर्ड परिवर्तनका अनुरोध वा स्पष्ट रूपमा अकाउन्टहरू लक हुनु गम्भीर चिन्ताको विषय हो ।

डेटाको खपत बढ्नु वा कल शुल्क धेरै आउनु

ह्याकरले तपाईँको फोन प्रयोग गरेर डेटा ट्रान्सफर गर्न, खरिद गर्न, मेसेज पठाउन वा कल गर्न सक्छ ।

वेबसाइट फरक देखिनु

यदि वेबसाइटहरूले तपाईँलाई नचाहिने स्प्यामी साइटहरूमा रिडाइरेक्ट गर्छन् वा अनौठो देखिन्छन् भने यसको अर्थ तपाईँको वेब ट्राफिक हाइज्याक भएको हुन सक्छ ।

फोन बन्द गर्न नसक्नु

मालवेयरले तपाईँको फोनलाई बन्द हुन नदिई अन राखिरहेको हुन सक्छ ।

ह्याक भएपछि के गर्ने ?

यदि तपाईँको फोन ह्याक भएको शङ्का छ भने त्यसमाथिको नियन्त्रण फिर्ता लिन, आफ्नो डेटा र डिभाइस सुरक्षित राख्न निम्न कदमहरू चाल्न सकिन्छ । यी सबै निश्चित वा फुल-प्रुफ उपाय नभए पनि उचित प्रयास चाहिँ बन्न सक्छ ।

सेक्युरिटी स्क्यान गर्ने

यदि मोबाइल डिभाइसमा एन्टिभाइरस प्रोग्राम इन्स्टल छ भने, मालवेयर पत्ता लगाउन र हटाउन सेक्युरिटी स्क्यान गर्नुहोस् ।

शङ्कास्पद एपहरू हटाउनुहोस्

यदि तपाईँले इन्स्टल नगरेका अपरिचित वा शङ्कास्पद एपहरू, डाउनलोड वा फाइलहरू देख्नु भयो भने तिनीहरूलाई पनि पूर्ण रूपमा हटाउनुहोस् । किन कि यसका लागि आइकन मात्र मेटाएर पुग्दैन ।

महत्त्वपूर्ण डेटा ब्याकअप गर्नुहोस्

एप वा सिस्टम डेटा बाहेक फोटो, कन्ट्याक्ट र महत्त्वपूर्ण कागजात जस्ता संक्रमित नभएका आवश्यक डेटा ब्याकअप गर्नुहोस् ।

ब्याकअप चेक गर्नुहोस्

ब्याकअप ह्याक वा सङ्क्रमण हुनु अघिको मितिको भएको कुरा निश्चित गर्नुहोस् । केवल आवश्यक डेटा मात्र रिस्टोर गर्नुहोस् र एपहरू एप स्टोरबाट म्यानुअल्ली पुन: इन्स्टल गर्नुहोस् ।

पासवर्डहरू परिवर्तन गर्नुहोस्

यो काम सकेसम्म चाँडो र एक अलग, सङ्क्रमित नभएको डिभाइस (फोन वा कम्प्युटर) बाट गर्नुपर्छ । सबै अकाउन्टको लागि बलियो, युनिक पासवर्ड सिर्जना गर्नुहोस्, उपलब्ध भएसम्म टु-फ्याक्टर अथेन्टिकेसन (MFA) इनेबल गर्नुहोस् र पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् ।

कुकिज, क्याश डेटा र हिस्ट्री खाली गर्नुहोस्

तपाईँको ब्राउजर सेटिङहरूमा भण्डार गरिएका सबै चिज मेटाउनुपर्छ । किनकि यसले त्यहाँ भण्डार गरिएको मालिसियस कोड हटाउन सक्छ ।

अकाउन्टहरू सुरक्षित गर्नुहोस्

आफ्ना अनलाइन अकाउन्टहरूमा पछिल्ला गतिविधिहरूको समीक्षा गर्नुहोस् । त्यहाँबाट कुनै पनि अनधिकृत गतिविधि, कारोबार वा मेसेज खोज्नुहोस् । र सुरक्षित राख्ने उपायहरू अपनाउनु होस् ।

अपरेटिङ सिस्टम अपडेट गर्नुहोस्

मालवेयरबाट सुरक्षा प्राप्त गर्ने यो एक सजिलो तरिका हो ।

नेटवर्कबाट डिसकनेक्ट गर्नुहोस्

आफ्नो फोनमा वाई-फाई र डेटा नेटवर्क बन्द गर्नुहोस् । त्यसपछि आफ्नो अपरेटिङ सिस्टम अनुसार सेफ मोड वा रिकभरी मोडमा राखेर रिस्टार्ट गर्नुहोस् ।

पूर्ण रूपमा बन्द गर्नुहोस्

आवश्यक परेमा फुल शटडाउन गर्नुहोस् र अल्वेज-अन लोकेसन फिचर डिसेबल गर्नुहोस्, जुन मालवेयरले प्रयोग गर्न सक्छ ।

फ्याक्ट्री रिसेट गर्नुहोस्

ख्याल गर्नुहोस्, यो अन्तिम उपायको रूपमा प्रयोग गर्नुपर्छ । र तपाईँका फाइलहरू ब्याकअप गरिसकेपछि मात्र यो प्रक्रियामा अघि बढ्नु पर्ने हुन्छ । कहिलेकाहीँ यो समस्या समाधान गर्ने एक मात्र तरिका हुन सक्छ ।

सम्पर्क र अधिकारीहरूलाई सूचित गर्ने

आफू ह्याक भएको जानकारी आफ्नो सम्पर्कमा भएका व्यक्तिहरूलाई दिनुहोस् ताकि उनीहरू कुनै पनि सम्भावित फिशिङ मेसेजका लागि सतर्क रहन सकून् । साथै, आफ्नो वित्तीय र बैँकिङ संस्थालाई पनि जानकारी दिनुहोस् । ताकि उनीहरू कुनै पनि सम्भावित पहिचान चोरी वा वित्तीय ठगीबारे सचेत रहन सकून् ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १६:४०