close

व्यवसायलाई प्रविधिसँग जोड्ने उद्देश्यसहित नास-आईटी एक्स्पो २०२५ आयोजना हुने

टेकपाना टेकपाना

असोज १०, २०८२ १४:४०

व्यवसायलाई प्रविधिसँग जोड्ने उद्देश्यसहित नास-आईटी एक्स्पो २०२५ आयोजना हुने

काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले ‘नास-आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । आगामी ७ र ८ नोभेम्बरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा टिगसँगको सहकार्यमा एक्स्पो हुने भएको हो ।

नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउन, घरेलु बजारलाई उजागर गर्न र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्पो आयोजना हुने आयोजकले जनाएको छ । यसमार्फत उद्यमशीलतालाई प्रोत्साहन गर्ने, प्रविधि उद्योगको स्तरोन्नति बढाउने र नेपालको प्रविधि क्षेत्रमा दिगो विकासमा योगदान गर्ने लक्ष्य लिइएको छ ।

यो एक्स्पो नेपालकै पहिलो व्यवसाय–केन्द्रित प्रविधि मञ्च हुने आयोजकको भनाइ छ । यसबाट आईटी सेवा प्रदायक कम्पनीहरूले कर्पोरेट क्षेत्र, बैंकिङ तथा बीमा, उत्पादन, टेलिकम, सरकारी निकाय र लगानीकर्ताका प्रमुख निर्णयकर्तासँग जोडिन मौका पाउने बताइएको छ ।

नास-आईटीले प्रेस विज्ञप्तिमा उल्लेख गरेअनुसार कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल रूपान्तरणलाई विशेष प्राथमिकता दिइनेछ । साथै, एक्स्पो व्यवसायिक सहकार्य, सम्झौता र ब्रान्ड निर्माणको केन्द्रका रूपमा रहनेछ ।

नास-आईटीका अध्यक्ष गौरव पाण्डेले भने, “हाम्रो लक्ष्य नेपालका अत्याधुनिक आईटी समाधान प्रदर्शन गर्नु, उद्योगसँग सहकार्य बढाउनु र प्रविधि विकासले कसरी व्यवसायको भविष्य निर्माण गरिरहेको छ भन्ने देखाउनु हो ।”

पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १४:४०